लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जिम्मेवार बनौं, बरु एक महिनै बन्द गरौं

tillotmacitynews - 2020 Apr 24 08:05 AM
IMG
विश्वमै त्रास मच्चाइरहेको कोभिड–१९ले यो आलेख तयार पार्दासम्म साढे १३ लाख बढी मान्छे संक्रमित भइसकेका छन् । ७४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । गत डिसेम्बरमा पहिलोपल्टचीनको वुहान शहरमा देखिएको कोरोना प्रजातिको यो नयाँ भाइरस अहिले ३ महिना बित्दासम्म संसारैभरि डढेलोझैँ फैलिएको छ ।

विज्ञानको अभूतपूर्व विकासका बाबजुद हालसम्म यो रोगको न कुनै खोप न कुनै औषधि पत्ता लागेको छ । विभिन्न देशले यसको खोप तथा औषधि पत्ता लगाउन रातदिन युद्धस्तरमा अनुसन्धान गरिरहेका छन् र केहीले सफलताको नजिक पुगेको दाबी गरेका छन् । तथापि जतिसुकै चाँडो यसको औषधि बनेपनि त्यसलाई व्यावसायिक स्तरमा उत्पादन गर्नु र हाम्रोजस्तो विकासोन्मुख देशमा पुग्न धेरै नै समय लाग्ने निश्चित छ ।

नेपाल अर्थतन्त्रका हिसाबले १०१ औँ स्थान र मानव विकास सूचकांकमा १४७औँ स्थानमा पर्ने कम विकसित राष्ट्र हो । त्यसैगरी हाम्रो देश स्वास्थ्य सेवा सूचकांकमा १५०औँ स्थानमा छ, जहाँ प्रतिएक हजार जनाका लागि ०।७ चिकित्सक र ०।३ अस्पतालका शैया ९बेड० मात्र उपलब्ध छन् । त्यसकारण विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको संक्रमणका हिसाबले अत्यन्तै जोखिम मुलुकमा सूचीकृत गरेको छ ।

कमजोर आर्थिक अवस्था र जनचेतना, स्वास्थ्य पूर्वाधार र प्राविधिको अभावका कारण हामी नेपालीले कोरोना महामारीलाई गम्भीर रुपमा लिएर बेलैमा उचित कदम चाल्नु पर्थ्यो । साँझ नढल्दै जनस्वास्थ्य विशेषज्ञ र नेतृत्वकर्ताले घनिभूत छलफल गरी रोकथामका कडाभन्दा कडा कदम र रोग फैलिएको खण्डमा उपचारको प्रभावकारी व्यवस्थाकालागी योजना तयार गर्नुपथ्र्यो । कोरोना भाइरसको तीव्र फैलावट, औषधोपचार नभएको र हाम्रो स्वास्थ्य सेवासँग यसको सामना गर्ने क्षमता नभएकाले रोकथाममा बढी केन्द्रित हुनुपर्थ्यो । वुहान र कोरियाको सिकाई पछ्याउँदै बेलैमा कडा लकडाउन गर्नुपर्ने थियो ।

ढिलै भए पनि सरकारले अन्तर्राष्ट्रिय आवागमनमा रोक लगायो र लकडाउन गर्‍यो जुन सराहनीय छ । तर जनतालाई जहाँ बसेको छ त्यहीँ बसे सुरक्षित भइन्छ, यात्रा गरे आफू र आफ्नो परिवार नै जोखिममा पर्छ है, त्यसैले लकडाउन सुरु हुनुअगावै पनि यात्रा, हिँड्डुल नगरौँ भनेर जनचेतना फैलाउन सकेन । सरकारले विदेशबाट आउनेको नियमन, व्यवस्थापन र शंकास्पदको स्वास्थ्य परीक्षणलाई ध्यान दिन सकेन ।

जोखिमयुक्त मानिसलाई क्वारेन्टाइन र आइसोलेसनमा राख्न चुक्यो । अस्पतालहरुले ज्वरो आउने बित्तिकै बिरामी लिन र उपचार गर्न मानेनन् । सरकारी संयन्त्र र मन्त्रीहरुले लापरबाही देखाइरहे । कमिसन खाने, सूचना लुकाउने र दबाउने फोहोरी र अलोकतान्त्रिक खेलमा लागिरहे ।निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदायकअनुदान लिने, जनता लुट्ने, नाफाखोर र अवसरवादीमात्र देखिए । सामान्य बिरामीको पनि उपचार नगरी आफ्नो न्यूनतम कर्तव्य पालना नगर्दासमेत सरकार मौन रह्यो ।

यही बीचमा लाखौँ मानिस काठमाडौँबाट देशका कुनाकाप्चा पुगे । भारतबाट लाखौँ नेपाल फर्किए । अझ लकडाउनपछि पनि कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी र नेपालगन्जको रुपैडिहा नाकाबाट हजारौँको भीडभारतबाट जबरजस्ती नेपाल भित्रिए । फागुन २३ देखि चैत्र १० सम्म सुदूरपश्चिममा मात्र करिब डेढ लाख मानिस भारतबाट नेपाल फर्के । हाल पनि नाकाहरुबाट जबरजस्ती छिर्ने क्रम जारी छ । नाकापारि भारतीय सीमामा नेपाली थुप्रै छन् । राज्य र सञ्चारमाध्यमलगायत नागरिक समाजले उचित समयमा उचित सन्देश दिन नसक्दा आज सारा नेपाली जोखिममा परेका छन् ।

सरकारले लकडाउन गरेको अवस्थामा अझै पनि रातिराति महाकालीमा ट्यूब चढेर नेपाल छिर्नेको संख्या घटेको छैन । सीमापारि बसेर नेपाल पस्न पाउनुपर्छ भनेर नाराबाजी गर्नेको कमी छैन । भारतलगायत विदेशबाट नेपाल आएका अधिकांश सरकारले भनेअनुसार क्वारेन्टाइनमा बसेका छैनन् । कतारको दोहाबाट चैत ४ गतेएक संक्रमित युवतीसँगै क्युआर ६५२ विमानबाट १५८ नेपाल आएकामध्ये अधिकांश घरमै क्वारेन्टाइन बसे कि बसेनन् रु संक्रमण पुष्टि भएपछि उनीहरुको खोजी गर्दासमेत सम्पर्कमा नआएपछि पक्राउको तयारी नै गर्नुपर्ने स्थिति आयो ।

भारतबाट नेपाल पर्केकाहरु गाउँगाउँमा हिँड्डुल, जमघट, जुवातास, जाँडरक्सी भोजमा मस्त भएको सूचना आइरहेका छन् । घरमै बसभन्दा हामीलाई केही भएको छैन भनेर लड्न भिड्न जाने गरेको पनि सुनिन्छ । लकडाउनको समयमा बाहिर निस्कने, तरकारी र दूध किन्न जाने, जमघट गर्ने गरेकै छन् । आफन्त भेटघाट पनि भएकै छ । यसले हामी नागरिक कतिसम्म अज्ञानी, अटेरी र अनुशासनहीन रहेछौँ भन्ने कुरा पनि देखिएको छ ।

हामी आफ्नो मूर्खता र अटेरीपनले हाम्रो परिवार र समाजलाई नै यो संकटको भूमरीमा धकेलिरहेका छौँ, ठूलो अपराध र पाप गरिरेहका छौँ । भोलि हाम्रो कारण यसले गाउँ टोल नै सोत्तर भयो भने हामीलाई नर्कमा पनि ठाउँ पाइने छैन, यो कुरा हामी सबैले सोच्नु पदैन र रु म एक जना निस्केर के नै हुन्छ, यहीँ नजिकैसम्म हिँड्दा के नै हुन्छ, मलाई केही त भएको छैन, म बाहिर यताउता डुल्दा केही पनि हुँदैन भन्ने सोचाइ नै घातक हो । सरकारले लकडाउन गर्‍यो तर अब जिम्मेवारी हाम्रो पनि हो यसलाई कडाइका साथ पालना गर्ने । त्यो हाम्रै लागि हो, हाम्रा परिवार र आफन्तकै लागि हो भन्ने बुझेर घर बसी बसी देश र जनताको सेवा गर्ने अवसर र जिम्मेवारी हाम्रो काँधमा आइपुगेको छ ।

हुन त यसअघि युरोपियन र अमेरिकी जनताले पनि यस्तो हेलचेक्रयाइँ नगरेका होइनन् । अस्ट्रेलिया र बेलायतलेसावधान गर्दागर्दै समुद्री किनारमा भीड बढेपछि प्रतिबन्ध नै लगाउनु परेको थियो । हालसम्म पनि अस्ट्रेलिया र अमेरिकातिरका साथीभाइसँग कुरा गर्दा र समाचार स्रोतहरु हेर्दा त्यहाँका जनता बाहिर निस्कन छोडेका छैनन् । झन युवामाझ हामीलाई कोरोना लाग्दैन, यो त वृद्धवृद्धालाई मात्र लाग्छ भन्ने गलत मानसिकता छँदैछ । यसले गर्दा कोरोनाको कहर यति सजिलै र यति छिटै शान्त होला जस्तो लाग्दैन ।

विकसित राष्ट्रहरुको आर्थिक क्षमता र उनीहरुको स्वास्थ्य प्रणाली हाम्रोभन्दा धेरै नै मजबुत छ । इटालीको स्वास्थ्य सेवा संसारकै दोस्रो राम्रो मानिन्छ र यो विश्वको आठौँ ठूलो अर्थतन्त्र पनि हो । अमेरिका संसारकै ठूलो अर्थतन्त्र हो भने स्वास्थ्य सेवाको हिसाबले ३७ औँ स्थानमा पर्छ । तर त्यति हुँदा पनि ती देशको हालत अहिले दयनीय बनेको छ । बिरामी जाँच्ने चिकित्सक र हेरचाह गर्ने नर्सलाई लगाउने सुरक्षित लुगा र मास्कसमेत पाउन छाडेको छ । सुरुवाती चरणमै विकसित देशमा त यस्तो छ भने हाम्रो देशमा कोरोनाको महामारी आए कस्तो होला रु सोच्दा पनि जिउ सिरिङ्ग हुन्छ ।

हालसम्म नेपालमा स्वास्थ्य सेवामा खटिएकालाई सरकारले सुरक्षित लुगा, मास्क र पन्जा पर्याप्त उपलब्ध गराउन सकेको छैन । विदेशबाट आएका र तिनका सम्पर्कमा रहेका व्यक्तिको स्वास्थ्य परीक्षण गर्न सकेको छैन । सीमामा रहेका नेपालीको व्यवस्थापन गर्न सकेको छैन । एकातिर साधनस्रोतको कमी छ भने अर्कोतिर प्रभावकारी व्यवस्थापनको कमजोरी पनि उत्तिकै छ ।

लकडाउनको एक साता नपुग्दै सरकार, विभिन्न निकाय र संघसंस्था राहत बाँड्न थालिसकेका छन् । एक हप्तामै राहत बाँड्नुपर्ने आवश्यकताभन्दा पनि बढी सस्तो र फेसबुके लोकप्रियताका लागि भएको छ । लकडाउन घोषणा गरेपछि सबैले केही समयकालागि खानेकुराको चाँजोपाँजो मिलाएकै हुन्छन् । जतिसुकै गरिब वा मजदुर नै भए पनि एक दुई हप्तामै कोही भोकले मरिहाल्दैनन । एक दुई हप्तामै राहत बाँड्नु पर्ने जनताहरु धेरैभन्दा धेरै नै कम छन् । राहत बाँड्नै पर्ने अवस्थामा निजगढ–८ को बकैया नागमणि सामुदायिक वनले झैँ सुरक्षित तरिका अपनाउन सकिन्छ । नत्र भने राहतले आहत पुर्‍याउन बेर छैन । यस्तो बेलामा आफूसँग केही नभएको खण्डमा पनि जो जहाँ थिए त्यही बसेको भए खाना त सरकारले व्यवस्था गरिहाल्थ्यो । जथाभावी राहत बाँड्दा बढ्ने भीडले कोरोना संक्रमणको सम्भावना झनै बढाउँछ ।

सुरक्षित योजनाबिना र सस्तो लोकप्रियताका लागी राहत बाँड्ने र दिनभर काम गरेर बेलुका जाँड धोक्ने अनि दुई चार दिन काम बन्द भयो भन्दैमा भोकभाकै मरियो भनेर राहत लिन दौडिने वा गाउँतिर भाग्नेले आफूलाई मात्रै होइन सम्पूर्ण परिवार र छिमेकीलाई नै कोरोना कहरमा धकेलेका छन् ।

त्यसैगरी बिहान बेलुका दूध तरकारी नखाई बाँच्नै नसक्ने र मर्निङवाकबिना दैनिकी सुरु नहुनेले पनि कोरोनाको जोखिम बढाएका छन् । एक महिना दालभातमात्र खाएर बाँच्न नसक्नेका कारण एक महिनापछि हामी रहन्छौँ वा रहन्नौँ भन्न नसकिने अवस्था आएको छ । नागरिक आफू पूर्णरुपमा जिम्मेवार नभएसम्म सरकारलाई मात्र औँला ठड्याएर केही हुँदैन ।

कोरोनाको दोस्रो चरण सुरु हुँदैगर्दा अब सरकार र नागरिक दुवै अझ बढी सतर्क र जिम्मेवार हुने बेला आएको छ । सरकारले कफ्र्यूस्तरकै कडा लकडाउन घोषणा गर्नुपर्छ र कम्तीमा हाललाई अर्को २ हप्ता लकडाउन थप्नुपर्छ । लकडाउन उल्लंघन गर्नेलाई कडाभन्दा कडा सजाय गर्नुपर्छ । यसबाहेक कोरोना छल्ने अरु कुनै उपाय छैन । साथै परीक्षण बढीभन्दा बढी गर्नुपर्छ । क्वारेन्टाइन र आइसोलेसनको सुरक्षित व्यवस्था गर्नुपर्छ । हालकै जस्तो अव्यवस्थित र असुरक्षित क्वारेन्टाइन र आइसोलेसनमा जानुभन्दा घरमै बस्न खोज्ने र परीक्षण गर्नै नजाने अवस्थाको अन्त्य गर्न जरुरी छ । एक दुई महिना नै बन्द गर्नु परे पनि संकोच मान्नु हुँदैन ।

बन्दले गर्दा आर्थिक मन्दी होला तर केही समयमा उकास्न सकिएला । इटालीको जस्तो महामारीले डरलाग्दो रुप लिए यसको क्षतिपूर्ति गर्न धेरै वर्ष लाग्ने छ । हाल विकास गर्न छुट्याइएको बजेट बरु महामारी नियन्त्रण, स्वास्थ्य, सुरक्षा तथा पत्रकारिता क्षेत्रका कर्मचारीलाई राहत तथा बिमा प्याकेज, कोरोनाको परीक्षण र उपचारमा लगाउनु नै बुद्धिमानी हुनेछ । हामी रहे विकास गर्दै गरौँला, हामी नै नरहे कसका लागि विकास । तसर्थ सबैले घरमै बसौँ, आफू पनि बाँचौं र अरुलाई पनि बचाऔँ ।

(लेखक वनवातावरण र सामाजिक अभियन्ता हुनुहुन्छ )

कमेन्ट गर्नुहोस्