
भैरहवा– लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सिद्वार्थ उद्योग वाणिज्य संघ, रुपन्ेदहीको आयोजनामा मंसिर १७ देखि २८ गतेसम्म भैरहवास्थित अंचलमापुरमामा सञ्चालन हुने १० औं लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।
संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले महोत्सव स्थलमा स्टल निर्माण, सचिवालय व्यवस्थापन, सुरक्षा प्रवन्ध लगायत काम सकिएको बताए । ‘अब मञ्च निर्माणको काम सकिन लागेको छ’, उनले भने, ‘९० प्रतिशत तयारीका काम सकिएका छन् । छिटफुट काम एकदुई दिनमा पूरा हुनेछन् ।’उनका अनुसार महोत्सवमा कुल २ सय ५० स्टल रहनेछन् । शुक्रबारसम्म २ सय ४० स्टल बुकिङ भइसकेका छन् । बाँकी १० स्टलको बुकिङ पनि छिट्टै पूरा हुने उनको भनाइ छ । विभिन्न समिति बनाएर महोत्सवको काम तीव्ररुपमा अघि बढाइएको छ । आचार्यले नयाँ उद्यमशीलता विकासलाई प्रँथमिकता दिएर यसपटकको महोत्सव आयोजना गरिएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले लुम्बिनी राष्ट्रिय महोत्सव रुपन्देहीको गौरबका रुपमा आयोजना हुँदै आएको बताए । २०६१ सालबाट भैरहवामा पहिलोपटक महोत्सव सुरु भएको र त्यसयता स्वदेशी उत्पादन प्रवर्द्धनमा टोवा पुर्याउँदै आएको बताए । ‘मुलुक भित्र उत्पादन भएका बस्तुसँगै स्थानीय कला र संस्कृतिको प्रवर्द्धन महोत्सवले गर्दै आएको छ’, उनले भने, ‘यसपटक पनि नेपालका तराईदेखि हिमालसम्मका उत्पादन यहाँ रहनेछन् ।महोत्सवमा मुस्ताङको स्याउदेखि दोलखाको किविसम्म प्रदर्शन गरिने उनले बताए । ुउनले भने, ‘हुम्ला–जुम्लाको उत्पादनसँगै रुपन्देहीमा रहेका उद्योग प्रतिष्ठानका सामग्री समेत महोत्सवमा रहनेछन ।’ महोत्सव अवधिभर विभिन्न विषयमा छलफल, गोष्ठी आयोजना गर्नुका साथै रचनात्मक र मनोरञ्जनात्मक क्रियाकलाप आयोजना गरिने आयोजकले बताए ।
मेला प्रचारप्रसार समितिका संयोजक एवं संघका सदस्य कमल ज्ञवालीले स्वदेशी उत्पादनको प्रवर्द्धनसँगै व्यवसायीकरणको विकासमा महोत्सव कोशेढुंगा सावित हुने जनाए । उनले मेला सफल बनाउनु रुपन्देहीबासीको दायित्व भएको जनाउँदै साथसहयोगको आग्रह गरे । संघका उपाध्यक्ष रोहितकुमार अग्रवालले सबैको साझा महोत्सव रहेको जनाउँदै सानाठूला उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा सिद्धार्थ उद्योग बाणिजय संघ रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्य , नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ ,दसौं लुम्बिनी राष्ट्रिय महोत्सव २०८३ भैरहवाका प्रचार प्रसार संयोजक कमल ज्ञवाली, महासचिव कृष्ण प्रसाद घिमिरे , संघका उपाध्यक्ष रोहित कुमार अग्रवाल लगायतले विभिन्न जिज्ञासा र मेलाको बारेमा आफ्नो कुरा ब्यक्त गरेका थिए ।
कमेन्ट गर्नुहोस्