
शंकरपुर। नेपाली कांग्रेस तिलोत्तमा नगर समितिको आयोजनामा नगर भेला तथा धन्यवाद कार्यक्रम बिहीबार तिलोत्तमा–९ स्थित होटल मदानीमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसको संगठन सुदृढीकरण, पार्टीको आगामी १५औँ महाधिवेशनको तयारी, पार्टीभित्रको एकता, सहकार्य तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्दै आगामी कार्ययोजना बारे समेत वक्ताहरुले विचार–विमर्श गरेका छन ।
वक्ताहरूले पार्टी संगठनलाई थप चलायमान र प्रभावकारी बनाउन जोड दिएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अब्दुल रज्जाकले पार्टीको आगामी १५ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले पार्टीभित्र देखिने वैचारिक मतभिन्नता र विवादलाई स्वाभाविक रूपमा लिँदै आपसी एकता, सहकार्य र समझदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रका मतभिन्नतालाई लिएर विभाजित हुनेभन्दा संगठनलाई थप मजबुत बनाउँदै एकढिक्का भएर अघि बढ्दा त्यसको लाभ पार्टी र समग्र लोकतान्त्रिक आन्दोलनलाई पुग्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले नगर कार्यसमितिको तर्फबाट अध्यक्षको प्रतिवेदन तथा नगर कोषाध्यक्ष शंकर गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गंगा शाही, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, पूर्वसभापति रामचन्द्र ढकाल, जिल्ला सचिव हरि काफ्ले, क्षेत्र नं. १ का क्षेत्रीय सभापति हिराबहादुर खत्री, क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी र क्षेत्र नं. ३ का क्षेत्रीय सभापति सुशील गुरुङ लगायतको सहभागिता रहेको थियो । नेपाली कांग्रेस तिलोत्तमा नगर सहसचिव रमेश पोखरेलको स्वागत र नगर सचिव प्रदीपकुमार थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सदस्य, नगर तथा वडा तहका नेता–कार्यकर्ता लगायतको उल्लेख्य सहभागिता रहेको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्