
काठमाण्डौ - गृहमन्त्री सुधन गुरुङले अब कुनै पनि प्रकारको द्वन्द्व हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा जोड दिनुभएको छ ।धनुषामा हिन्दुवादी सङ्गठनलगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि सञ्चारकर्मीसँग उहाँले सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व रहेको समेत बताउनुभएको छ ।
गृहमन्त्री गुरुङले देशको शान्ति सुरक्षा र एकतालाई मजबुत बनाउन सबै पक्ष मिल्नुको विकल्प नरहेको दोहोर्याउनुभयो । उहाँले पछिल्लो समय देखिएका विवादलाई संवादका माध्यमबाट समाधान गर्दै अघि बढ्न सरोकारवाला सबै पक्षलाई आग्रह समेत गर्नुभएको छ ।गृहमन्त्री गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी सङ्गठनका प्रतिनिधिबीच १३ बुँदे सहमति भएको छ । सुनसरीको देवानगन्ज–३, कप्तानगन्जमा गएको आइतबार राति युवाहरूको समूहबीच भएको घटनापछि अशान्त बनेको तराई–मधेशको जनजीवन बिस्तारै लयमा फर्कन थालेको छ ।
सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघसंस्था, विभिन्न धर्मका गुरु र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि झण्डै एक हप्तापछि तनाव कम हुँदै गएको हो । सुनसरी, सिरहा, सप्तरी, धनुषा, पर्सालगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँ ठाउँमा सद्भाव र्याली र आपसी संवादले निरन्तरता पाएको छ ।आज सुनसरी, सप्तरीलगायतका विभिन्न ठाउँमा सद्भाव र्याली निकाल्ने तयारी छ । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा कर्फ्यु आदेश आज बेलुका ७ बजेसम्मका लागि खुकुलो बनाइएको छ ।
कमेन्ट गर्नुहोस्