
भैरहवा, असार १७ । कृषि, पर्यटन र स्थानीय उत्पादनको बजारीकरणलाई समृद्धिको मुख्य आधारका रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा तथा ओमसतिया गाउँपालिकाको सहकार्यमा बुधबार आयोजित ’ओमसतिया न्यूज फेस्टिभल–२०८३’ मा सहभागी वक्ताले स्थानीय सम्भावनाको पहिचान, उत्पादनको मूल्य अभिवृद्धि र प्रभावकारी प्रचारप्रसारमार्फत ओमसतियालाई आर्थिक रूपमा सबल बनाउनुपर्ने धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले ओमसतियामा कृषि, पर्यटन र सांस्कृतिक सम्पदाको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई योजनाबद्ध रूपमा विकास गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले रोहिणी सभ्यता संरक्षण, कृषि आधुनिकीकरण र पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिँदै यस्ता गतिविधिलाई राष्ट्रिय स्तरमा चिनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रम संयोजक दिपक घिमिरेले ग्रामीण क्षेत्रका सम्भावना, स्थानीय उत्पादन र गाउँपालिकाका असल अभ्यासलाई राष्ट्रिय बहसमा ल्याउने उद्देश्यले न्यूज फेस्टिभल आयोजना गरिएको बताउनुभयो । गाउँपालिकाका प्रवक्ता मदनकुमार पोखरेलले कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई विकासको आधार मानेर गाउँपालिकाले काम गरिरहेको उल्लेख गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्न र पर्यटन विस्तार गर्न सञ्चार क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । लुम्बिनी प्रेस क्लबका सल्लाहकार तथा पूर्वअध्यक्ष नरेश के.सी.ले ओमसतिया कृषि र पर्यटनका दृष्टिले सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै रोहिणी नदी सभ्यता, सिलौटिया मेला तथा धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा जोड दिनुभयो । कृषि उत्पादनको बजारीकरण र पर्यटनमा लगानी बढाउन सके स्थानीय अर्थतन्त्र सुदृढ हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा ‘समृद्ध ओमसतियाको परिकल्पना ः कृषि, पर्यटन र बजारीकरण’ विषयमा प्यानल छलफल गरिएको थियो । छलफलमा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, फोनिजका वरिष्ठ उपाध्यक्ष सरु राना, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थी तथा कृषक सीता चौधरी सहभागी हुनुभएको थियो । छलफलको सहजीकरण लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले गर्नुभएको थियो । छलफलमा कृषि उत्पादनको व्यावसायीकरण, स्थानीय उत्पादनको ब्रान्डिङ, बजार व्यवस्थापन, पर्यटन पूर्वाधार विकास र सञ्चारमाध्यमको भूमिकाबारे केन्द्रित बहस भएको थियो । सहभागीहरूले स्थानीय सरकार, सञ्चार क्षेत्र, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्रै समृद्ध ओमसतियाको लक्ष्य हासिल गर्न सकिने निष्कर्ष व्यक्त गरेका थिए ।
कार्यक्रममा ओमसतिया गाउँपालिका वडा नं. ५ का अध्यक्ष तथा प्रवक्ता मदनकुमार पोख्रेल, वडा नं. २ का अध्यक्ष शितल जि.टी., वडा नं. ३ का अध्यक्ष प्रकाश सिंह, वडा नं. ६ का अध्यक्ष शिवकुमार धवल लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरुको उपस्थिती रहेको थियो । लुम्बिनी प्रेस क्लवका उपाध्यक्ष दिपक घिमिरेको स्वागत मन्तब्य तथा महासचिव प्रकाश न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्