लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लियो क्लब अफ रुपन्देही भलवारी स्थापना, बिकासको अध्यक्षतामा नेतृत्व चयन

IMG

रुपन्देही । युवा नेतृत्व विकास, समाजसेवा तथा सकारात्मक सामाजिक परिवर्तनलाई मुख्य उद्देश्य बनाउँदै लियो क्लब अफ रुपन्देही भलवारी गठन गरिएको छ । लायन्स क्लब अफ रुपन्देहीको स्पोन्सरमा स्थापना गरिएको उक्त क्लबले युवाहरुलाई नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्वतर्फ अग्रसर गराउने लक्ष्य लिएको जनाएको छ ।


तिलोत्तमा नगरपालिका–भलवारीस्थित सुनगाभा रिसोर्टमा आयोजित विशेष कार्यक्रममार्फत बिकास सुनारको नेतृत्वमा क्लबको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा भलवारी लागायत तिलोत्तमाका क्षेत्रका युवा, समाजसेवी, व्यवसायी तथा लायन्स अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै सर्बसम्मत निर्वाचित अध्यक्ष सुनारले वर्तमान समयमा युवाहरु केवल व्यक्तिगत भविष्य निर्माणमा मात्र सीमित नभई समाज परिवर्तनका अभियानमा पनि सक्रिय हुन आवश्यक रहेको बताएका थिए । उनीहरुले युवाको ऊर्जा, सिर्जनशीलता र नेतृत्व क्षमतालाई समाजसेवामार्फत सकारात्मक दिशामा प्रयोग गर्न सके समाजमा उल्लेखनीय परिवर्तन सम्भव हुने धारणा उनले राखेका थिए ।


नवगठित क्लबले “Leadership with Service” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रक्तदान, विपन्न समुदाय सहयोग, युवा सशक्तीकरण तथा सामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ । क्लबका पदाधिकारीहरुले समाजमा सेवामूलक गतिविधिलाई निरन्तरता दिँदै युवाहरुलाई सामाजिक अभियानमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


आइतबार सम्पन्न भेलाले क्लबको संस्थापक अध्यक्षमा बिकास सुनार चयन गरेको छ भने प्रथम उपाध्यक्षमा विश्व पुरी, दोस्रो उपाध्यक्षमा प्रेम नारायण पन्थी तथा तृतीय उपाध्यक्षमा सृजन खड्का चयन हुनुभएको छ । सचिवको जिम्मेवारी कृपा पन्थले सम्हाल्नुभएको छ भने सह–सचिवमा ईभाञ्जेलिना श्री चयन हुनुभएको छ ।त्यस्तै कोषाध्यक्षमा ओम हरिजन तथा सह–कोषाध्यक्षमा युनिषा गिरी चयन हुनुभएको छ । क्लब २८ सदस्यीय रहेको जनाइएको छ । नवगठित कार्यसमितिमा विभिन्न पेशा, व्यवसाय तथा अध्ययनमा आबद्ध युवाहरुको सहभागिता रहेको छ।


कार्यक्रममा लायन्स क्लबका प्रतिनिधि रविन जोशीले लियो क्लबमार्फत युवाहरुलाई सेवा, अनुशासन, नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने अवसर प्राप्त हुने बताएका थिए । उनीहरुले लियो क्लब केवल सामाजिक संस्था नभई भविष्यका नेतृत्व उत्पादन गर्ने विद्यालयका रुपमा स्थापित हुँदै गएको उल्लेख गरे ।


त्यस्तै लियोका जिल्ला अध्यक्ष श्रीधर बस्यालले समाजमा बढ्दो निराशा, विकृति र सामाजिक चुनौतीका बीच युवाहरुले सकारात्मक सोचसहित संगठित भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । उनीहरुले समाजसेवा मानिसलाई समाजसँग जोड्ने महत्वपूर्ण माध्यम भएको बताउँदै यस्ता संस्थाले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।


कार्यक्रमको समापनमा नवगठित पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिँदै समाज परिवर्तनका अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो । सहभागीहरुले युवाको नेतृत्वमा समाजसेवामूलक अभियान विस्तार हुनुले समुदायमा सकारात्मक ऊर्जा थपिने विश्वास व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्