
तिलोत्तमा। रास्ट्रीय स्वतन्त्र पार्टी बाट रुपन्देही क्षेत्र नम्बर ३ का साम्सद बनेकी ज्ञानु पौडेल आफैमा महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आउनुभएकी यस क्षेत्रको व्यक्तित्व हुनुहुन्छ। हाल प्रतिनिधि सभा सदस्य बन्नुभएकी ज्ञानु पौडेलले भारतका विभिन्न सहरहरूमा बेचिएका नेपाली चेलीहरूको तत्काल उद्धारका लागि विशेष अभियान सञ्चालन गर्न सरकारसँग सदनबाट जोडदार माग गर्नुभएको छ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा उहाँले भारतमा बेचिएका नेपाली सवै महिला तथा युवतीको खोज तथा उद्धार गरि उनीहरुको सुरक्षित स्वदेश फिर्ती र पुनर्स्थापना गर्न प्रभावकारी व्यवस्थाको माग गर्नुभएको हो। भारतस्थित नेपाली दूतावास, सुरक्षा निकाय र सामाजिक संस्थाहरूसँग समन्वय गरी भारतमा बेचिएका र जोखिममा रहेका नेपाली चेलीहरूको खोज र उद्धारका लागि तत्काल विशेष अभियान सञ्चालन गर्नु पर्ने उहाँले बताउनुभएको छ।
हालै नुवाकोटका दुई नाबालिकाको भारतको कोलकातास्थित सोनागाछीबाट उद्धार गरिएको पीडादायी र हृदयविदारक घटना संसद् समक्ष राखी भक्कानिदै उहाँले अब कडा नीति ल्याएर चेलीको संरक्षण गर्नु पर्ने बताउनुभएको छ। नेपाली चेलीहरूलाई प्रलोभनमा पारी बेच्ने अपराधमा संलग्न दलाल र गिरोहलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा सजाय दिलाउनु पर्ने मागपनि उहाँले गर्नुभयो ।
उहाँका अनुसार, नुवाकोटका १४–१५ बर्षका दुई नेपाली किशोरी भारतको कलकत्तास्थित सोनागाछीमा बेचिएका अवस्थामा फेला परे । दुई वर्षसम्म कोठामा थुनेर, औषधि र हर्मोन प्रयोग गरी पीडा सहन बाध्य बनाइएका ती बालिकाहरूलाई नेपाली राजदूतावास र मानव बेच बिखन बिरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’ को सहयोगमा उद्धार गरी नेपाल ल्याइएको छ ।‘यो घटना त केवल एउटा प्रतिनिधि उदाहरण मात्र हो र मानव बेचबिखनको भित्री अवस्था अझ भयावह छ’ संसद मार्फत् सरकारको ध्यानाकर्षण गराउदै उहाँले भन्नु भयो, ‘यो विषय केवल मानव बेचबिखन मात्र नभई सम्पूर्ण नेपाली समाज, मानवता र राज्यकै संवेदनामाथिको ठुलो चुनौती हो।’
उद्धार गरिएका ती बालिकाहरूले दिएको जानकारी उद्धृत गर्दै उहाँले भारतको दिल्ली, मुम्बई, कलकत्ता, पुने लगायतका भारतीय सहरहरूमा अझै पनि थुप्रै नेपाली किशोरीहरू नरकजस्तो जीवन बाँच्न बाध्य रहेकोले यथासक्य छिटो उनीहरुको उद्धारमा सरकारले कडा कदम चाल्नुपर्ने बताउनुभयो। उद्धार गरिएका चेलीहरूको सुरक्षित स्वदेश फिर्ती मात्र नभई उनीहरूको शिक्षा, स्वास्थ्य, मनोसामाजिक उपचार र सम्मानजनक पुनर्जीवन सुनिश्चित गरिनु पर्ने माग उहाँको थियो । ‘अब कुनै पनि नेपाली चेली बेचिन नपरोस्, कुनै आमाबुबाले आफ्नी छोरीको खबर खोज्दै रुन नपरोस्’ उहाँले भक्कानिदै भन्नुभयो, ‘यसतर्फ सरकारको गम्भीर र तत्काल ध्यानाकर्षण गराउन चाहन्छु ।’
कमेन्ट गर्नुहोस्