लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युवाहरुको उत्साहले महाभैरव भजन तिलोत्तमाको निरन्तरयात्रा बाउन्नकोटीमा

IMG

चिल्हिया। बाउन्नकोटि सिद्धधाममा आयोजित महाभैरव भजन कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिएको छ। धार्मिक आस्था, भक्ति र सांस्कृतिक संरक्षणलाई केन्द्रमा राखेर सञ्चालन गरिएको कार्यक्रममा सो धाममा साँझ श्रद्धालुहरूको घुइँचो लागेको थियो।तिलोत्तमा नगरपालिका–स्थित बाउन्नकोटि मन्दिर तथा सिद्धधाम परिसरमा आयोजित उक्त भजन कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका भक्तजनहरूले महाभैरव भजन–कीर्तनमार्फत आध्यात्मिक आनन्द लिएका थिए। कार्यक्रममा स्थानीयवासी, ज्येष्ठ नागरिक, महिला समूह, युवा तथा बालबालिकाको समेत उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ।


कार्यक्रमका संयोजक पुजन केसीले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा आपसी सद्भाव र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले भजन कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले पछिल्लो समय धार्मिक गतिविधिप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमले सामाजिक एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। त्यस्तै संयोजक केसीले संगीत र भजनमार्फत धर्म तथा संस्कृतिको संरक्षण गर्न सबैको साझा दायित्व रहेको बताए। उनले स्थानीय कलाकार तथा भजन टोलीहरूको सहभागिताले कार्यक्रम अझ प्रभावकारी बनेको उल्लेख गरे।


कार्यक्रममा महाभैरवका दर्जनौ विभिन्न धार्मिक भजनहरू प्रस्तुत गरिएको थियो। भक्तजनहरूले घण्टौंसम्म भजनमा सहभागी हुँदै सिद्धधाम परिसरलाई भक्तिमय बनाएका थिए। वातावरण शान्त, अनुशासित र आध्यात्मिक भावनाले भरिएको देखिन्थ्यो।


यस अवसरमा सो धमाका अध्यक्ष तारा बहादुर छन्तेलले सिद्धधाम धार्मिक मात्र नभई पर्यटकीय तथा प्राकृतिक दृष्टिले समेत महत्वपूर्ण क्षेत्र रहेको बताए। उनले सामुदायिक वनसँगै धार्मिक स्थलको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय तह, संघसंस्था तथा समुदायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे। कार्यक्रम सफल बनाउन स्थानीय स्वयंसेवक, भजन मण्डली, आम समूह तथा विभिन्न सामाजिक संघसंस्थाले सक्रिय भूमिका निर्वाह गरेका थिए। 


भक्तजनहरूको उल्लेखनीय सहभागितासँगै सम्पन्न महाभैरव भजन कार्यक्रमले तिलोत्तमास्थित बाउन्नकोटि सिद्धधामलाई धार्मिक गतिविधिको केन्द्रका रूपमा थप परिचित गराएको स्थानीयवासीले बताएका छन्। आयोजकका अनुसार आगामी दिनमा पनि तिलोत्तमाका मन्दिरहरुमा नियमित रूपमा यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

कमेन्ट गर्नुहोस्