
बुटवल। नेपाल सरकारले सञ्चालन गरेको राष्ट्रिय सरसफाई सप्ताह अभियानप्रति स्वागत तथा ऐक्यबद्धता जनाउँदै आज बुटवल बसपार्क क्षेत्रमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।
रुद्रगण तथा MRR Team Butwal को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम अन्तर्गत बसपार्क परिसर तथा आसपासका क्षेत्रमा सरसफाई गरिएको हो। सार्वजनिक स्थललाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, युवा तथा स्थानीयको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले बसपार्क क्षेत्रमा जथाभावी फालिएका प्लाष्टिकजन्य फोहोर, कागज, बोतल तथा अन्य फोहोर संकलन गर्दै वातावरण स्वच्छ बनाउने अभियान सञ्चालन गरेका थिए। सरसफाई अभियानले सार्वजनिक स्थलको सौन्दर्य कायम राख्नुका साथै नागरिकमा सरसफाईप्रति सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकले बताएका छन्।
नेपाल सरकारले देशव्यापी रूपमा सञ्चालन गरिरहेको सरसफाई सप्ताह अभियानलाई सफल बनाउन आफूहरू निरन्तर सामाजिक अभियानमा सक्रिय रहेको आयोजक संस्थाहरूले बताएका छन्। समुदायमा स्वच्छता, स्वास्थ्य र वातावरण संरक्षणको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरिएको छ।कार्यक्रममा सहभागीहरूले सरसफाई केवल सरकारी निकायको जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको बताएका थिए। सार्वजनिक स्थान सफा राख्न सबैको सहभागिता र व्यवहार परिवर्तन आवश्यक रहेको उनीहरूको भनाइ थियो।यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै युवाहरूलाई सामाजिक कार्यप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।
कमेन्ट गर्नुहोस्