
शारदा शाही, सैनामैना। रूपन्देहीमा अपाङ्गता भएका महिलाको हक, अधिकार र सशक्तीकरणका लागि क्रियाशील अपाङ्गता महिला संघ रूपन्देहीको पाँचौं साधारण सभा सम्पन्न भएको छ। २०७६ सालमा स्थापना भएको उक्त संघमा हाल २५ जना सदस्य आबद्ध रहेका छन्।कार्यक्रमका प्रमुख अतिथि सावित्रा देवी अर्यालले अपाङ्गता भएका महिलाहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सशक्त बनाउन स्थानीय तहले आवश्यक साथ र सहयोग गर्ने बताउनुभयो। उहाँले अपाङ्गता भएका महिलाहरू समाजका महत्वपूर्ण नागरिक भएको उल्लेख गर्दै उनीहरूको क्षमता विकास, सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जना गर्न आफू सदैव सकारात्मक रहेको धारणा राख्नुभयो।
संघकी अध्यक्ष कल्पना ढकाल ले अपाङ्गता भएका महिला तथा नेतृत्व तहमा रहेका महिलाहरूलाई सशक्त बनाउने उद्देश्यका साथ संघ निरन्तर क्रियाशील रहेको बताउनुभयो। उहाँले समाजमा अझै पनि अपाङ्गता भएका महिलाले विभिन्न चुनौती र विभेद भोग्नुपरेको उल्लेख गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले संघले छोटो समयमै सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न शुभकामना व्यक्त गरेका थिए। वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, अवसर र सहभागिता सुनिश्चित गर्न राज्य तथा स्थानीय तहले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।साधारण सभामा संघका सदस्यहरू, सामाजिक अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कमेन्ट गर्नुहोस्