
कुञ्जलापुर। तिलोत्तमा नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिहरुसँग आगामी बजेट, नीति तथा कार्यक्रमका विषयमा छलफल गरिएको छ। प्रतिनिधि सभा सदस्य माननीय सुलभ खरेल लाई स्वागत गर्दै आयोजित कार्यक्रममा स्थानीय तहको विकास, सेवा प्रवाह र तत्काल कार्यान्वयन गर्न सकिने योजनाबारे विस्तृत संवाद गरिएको हो।
कार्यक्रममा तिलोत्तमाका विभिन्न वडाबाट तत्काल आवश्यक रहेका योजनाहरु समेटेर वडागत रुपमा ज्ञापन पत्र समेत बुझाइएको थियो। नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको उपस्थितिमा रास्वपा तिलोत्तमा नगर सभापति रुस्तम कंडेल ले समग्र तिलोत्तमाको विकासका लागि आगामी कार्यदिशा सहितको ज्ञापन पत्र पेश गर्नुभएको थियो।कार्यक्रममा बोल्दै सांसद खरेलले सरकारले हाल सुशासन प्रवर्द्धन र सेवा प्रवाहलाई छिटो, छरितो तथा प्रभावकारी बनाउन प्राथमिकता दिएको बताउनुभयो। उहाँले विकास निर्माणका कार्यहरु दीर्घकालीन योजना अनुसार क्रमिक रुपमा अगाडि बढाइने उल्लेख गर्नुभयो।
त्यसैगरी नगर प्रमुख खाणले केही कानुनी तथा ऐनगत अवरोधका कारण विकास निर्माण र खरिद प्रक्रिया प्रभावित भएको बताउनुभयो। उहाँले विशेषगरी गौशाला व्यवस्थापन, छाडा चौपाया नियन्त्रण, फोहोर व्यवस्थापन तथा सडक पूर्वाधार विकासका क्षेत्रमा संघीय सरकारले थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कमेन्ट गर्नुहोस्