लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा एमालेको सन्देश: “अब रूपान्तरण नभए भविष्य छैन”

IMG

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीको विस्तारित बैठकले पार्टीभित्रै गम्भीर आत्मसमीक्षा र रूपान्तरणको बहसलाई तीव्र बनाएको छ। बैठकमा उठेका आवाजहरूले स्पष्ट सन्देश दिएका छन्—“पुनर्गठन, पुस्तान्तरण र कार्यशैली परिवर्तन बिना पार्टी अघि बढ्न सक्दैन।”


कमिटीका अध्यक्ष शोभाकर पोखरेल को अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय सचिव छविलाल बिक सहभागी हुनुभएको थियो। त्यसैगरी लुम्बिनी प्रदेश कमिटी सदस्य बिमला श्रेष्ठ, जिल्ला अध्यक्ष यज्ञ गैरे, उप–सचिव बाबुराम पन्थी लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।बुटवल उपमहानगरका १ देखि १९ वडासम्मका पदाधिकारी तथा कमिटी सदस्यहरूको बाक्लो सहभागितामा भएको बैठकमा खुलेर आलोचना र सुझावहरू आएका थिए। सहभागीहरूले “पार्टी जनताबाट टाढिँदै गएको” भन्दै चिन्ता व्यक्त गरे। उनीहरूले माथिदेखि तलसम्म संगठन पुनर्गठन, युवालाई नेतृत्वमा ल्याउने पुस्तान्तरण, तथा नीति र कार्यशैलीमा आमूल परिवर्तनको माग जोडदार रूपमा उठाए।


बैठकमा १५ जना सहभागीहरूले धारणा राख्दै वर्तमान संरचना र नेतृत्व शैलीमाथि प्रश्न उठाए। वक्ताहरूले पार्टीलाई समयअनुकूल नबनाए आगामी चुनावमा चुनौती बढ्ने चेतावनी समेत दिए।वक्ताहरूमा उपाध्यक्ष माधव खनाल, राजेन्द्र ढकाल, बाबुराम पन्थी, यज्ञ गैरे, बिमला श्रेष्ठ र छविलाल बिकले धारणा राख्दै पार्टीभित्र एकता, अनुशासन र जनमुखी कार्यशैलीको आवश्यकता औंल्याए। उनीहरूले संगठनलाई बलियो बनाउन “काम गर्ने संस्कृति” विकास गर्नुपर्नेमा जोड दिएका थिए।


प्रमुख अतिथि छविलाल बिकले कार्यकर्ताहरूको भावनालाई सम्बोधन गर्दै पार्टीलाई सशक्त र गतिशील बनाउन सुझावहरूलाई गम्भीरतापूर्वक लिइने बताए। उनले “एमाले भित्रको ऊर्जा र बहस नै यसको शक्ति हो” भन्दै एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।कार्यक्रमको सञ्चालन कमिटीका सचिव दिननाथ भट्टराई ले गर्नुभएको थियो।बैठकको निष्कर्ष स्पष्ट देखिएको छ—बुटवल एमाले अब ‘पुरानै ढर्रा’मा होइन, परिवर्तनको बाटो रोज्न दबाबमा छ।


कमेन्ट गर्नुहोस्