
काठमाडौँ । जेनजी आन्दोलनले गृहमन्त्री सुदन गुरुङको राजीनामालाई “गम्भीर कानुनी उल्लंघन र नैतिक प्रश्न उठेपछि गरिएको स्वागतयोग्य कदम” भन्दै सकारात्मक रूपमा लिएको छ ।आन्दाेलनका अगुवा मिराज ढुंगाना, अर्जुन शाही, रवि किरण हमाल, जस्मिन ओझा, सुनिल सिंह, ठाकुरनाथ गौतम, विजय शाह र विजय अधिकारीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका अगुवाहरुले उक्त घटनासँगै वर्तमान सरकार जेनजी आन्दोलनको भावना, म्यान्डेट र प्रतिनिधित्वबाट पूर्णरूपमा विच्छिन्न भएको दाबी गरेको छन् ।
वक्तव्यमा सत्ताको केन्द्रमा रहेको शक्ति सन्तुलनको संवेदनशीलता पुनः उजागर भएको उल्लेख गर्दै आन्दोलनका अगुवाहरुले सरकारलाई साँचो अर्थमा सफल र स्थिर बनाउन आन्दोलनका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता अपरिहार्य रहेको औंल्याएका छन् ।बालेन शाहको नेतृत्वलाई सुदृढ गर्न आन्दोलनका मूल प्रतिनिधिहरूलाई निर्णय प्रक्रियामा समावेश गर्नुपर्नेमा जोड दिँदै उनीहरुले अन्यथा राज्यले प्राप्त गरेको जनमत अल्पकालीन र क्षयिकरण हुने खतरा रहेको चेतावनी दिइएका छन् ।
विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र बालेन शाहको नेतृत्वलाई सामान्य राजनीतिक संक्रमण नभई “युवाहरूको बलिदान, विद्रोहीहरूको संघर्ष र जेनजी पुस्ताको सामूहिक चेतनाको परिणाम” भएको दाबी गरिएको छ।आन्दोलनका अगुवाहरुले भ्रष्टाचारमुक्त, जवाफदेही र समृद्ध नेपाल निर्माणलाई आफ्नो स्पष्ट म्यान्डेटका रूपमा प्रस्तुत गर्दै त्यसलाई केवल नैतिक समर्थनमा सीमित राख्नु आन्दोलनप्रतिको विश्वासघात हुने उल्लेख गरेका छन् ।
यस्तै, बालेन शाहको नेतृत्वमा जेनजी आन्दोलनका प्रतिनिधिहरू समेटिएको संयुक्त सरकार सञ्चालन संरचना गठन गर्न स्पष्ट माग अघि सारेका छन् । पुराना राजनीतिक वर्गको भ्रष्टाचार, नातावाद र सत्ता–केन्द्रित संस्कृतिलाई चुनौती दिएको आन्दोलनलाई अब संस्थागत गर्नुपर्ने दायित्व वर्तमान नेतृत्वमा रहेको पनि वक्तव्यमा उल्लेख छ ।
यसैबीच, आन्दोलनले सरकारलाई मार्गदर्शन गर्न उच्चस्तरीय निर्देशन समिति गठन गरेको जनाएको छ । उक्त समितिमा मिराज ढुंगाना, अर्जुन शाही, रवि किरण हमाल, प्रवेश दाहाल, सुनिल सिंह, ठाकुरनाथ गौतम (सहित परिवार) र विजय अधिकारी (घाइते) रहेका छन् । आन्दोलनले बालेन शाहको नेतृत्वले उक्त ऐतिहासिक जिम्मेवारी पूरा गर्ने विश्वाससमेत व्यक्त गरेको छ ।
कमेन्ट गर्नुहोस्