लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन

IMG

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगर कार्यपालिकाको कार्यालय (प्रशासनिक) भवनको उद्घाटन गरिएको छ । सोमबार आयोजित समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीले भवनको उद्घाटन गर्नुभएको हो । भवनको २०७८ मंसिर २७ गते शिलान्यास गरिएको थियो ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले करिब ४ कठ्ठा क्षेत्रफलमा २३ करोड ९२ लाख ६९ हजार ३ सय ५३ रुपैयाँमा भवन निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सिद्धार्थनगर नगर कार्यपालिकाको कार्यालय र स्कई÷रामसागर–जे.भी. चावहिल काठमाडौंबीच २०७८ असार २४ गते भएको सम्झौताबमोजिम २०८० असोज १७ गते सम्पन्न गर्नुपर्ने समयअवधि रहेकोमा निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुन सकेको थिइन । म्याद थप गरी २०८२ असोज ३० गते निर्माण कार्यसम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।


भवन उद्घाटन समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँले लुम्बिनीको विकासले यहाँको मात्र नभइ समग्र नेपालको विकास हुने बताउनुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन संघीय सरकारसँग आग्रह गर्नुभयो । उहाँले सिद्धार्थनगर नगरपालिकामा धेरै काम भए पनि प्रचार भने गर्न नसकिएको बताउनुभयो । उहाँले निधक्क भइ आफ्ना समस्या राख्न नगरबासीलाई आग्रह गर्नुभयो । नगरप्रमुख खाँले सिद्धार्थनगर नगरपालिका, ओमसतिया, रोहिणी, सियारी र मायादेवी गाउँपालिका मिलेर उपमहानगरपालिका बनाउनुपर्नेमा जोड दिनुभयो ।


त्यस्तै नगर उपप्रमुख उमा अधिकारीले नगरबासीको साथ र सहयोग बिना आफूहरु अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले अहिलेसम्म नगरबासीबाट पाएको साथ र सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उपप्रमुख अधिकारीले नकारात्मक सोच हटाइ सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले अधिकार खोज्दा आफ्नो कर्तव्य भने बिर्सन नहुने धारणा राख्नुभयो ।


निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीले सामाजिक सञ्जालमा विरोध गर्नुभन्दा नगरपालिका पुगेर आफ्ना समस्या सिधै जनप्रतिनिधिसमक्ष राख्न आग्रह गर्नुभयो । उहाँले सीमित बजेट भएकोले एकैपटक सम्पूर्ण क्षेत्रमा विकास हुन नसक्ने बताउनुभयो ।नगर प्रवक्ता मुक्तिनाथ यादव (भोला)ले जनतालाई ढिलासुस्ती महसुस नहुने गरी जनप्रतिनिधि र कर्मचारीले काम गर्नुपर्ने बताउनुभयो । उहाँले सिद्धार्थनगरमा राम्रा कामहरु अघि बढेको बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नगरपालिकाको सिंगो टीमले पहल गर्ने उहाँको भनाइ छ ।


चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले नगरपालिकाको नयाँ प्रशासनिक भवनबाट आम नागरिकले सहज, सरल, छिटो र गुणस्तरीय सेवा प्रदान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिद्धार्थनगर नगरपालिकाको पुरानो भवनलाई पार्किङको रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले नयाँ भवनबाट सहज र सरल रुपमा नागरिकले सेवा पाउनुपर्ने बताउनुभयो ।


लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले जनताको अपेक्षा अनुसार नगरपालिकाले सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवाली, साहित्यकार विजय गोविन्द श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रममा पत्रकार, साहित्यकार, खेलाडी, विद्यार्थी, कर्मचारी, निर्माण व्यवसायीलगायतलाई सम्मान गरिएको थियो । सिद्धार्थनगर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन सिद्धार्थनगर–५ मा अवस्थित छ ।

कमेन्ट गर्नुहोस्