
ठुटिपिपल।रुपन्देहीको ओमसतिया गाउँपालिका–१ स्थित ठुटिपिपलमा ४४औँ मगर एकता दिवसको अवसरमा भव्य कार्यक्रम सम्पन्न भएको छ। नेपाल मगर संघ ईकाई कार्यालय ओमसतियाको आयोजनामा सम्पन्न कार्यक्रममा मगर समुदायका अगुवा, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष भुम बहादुर रेश्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव सोनुले मगर समुदायको इतिहास, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गर्दै एकताबद्ध भएर समुदायको अधिकारका लागि अघि बढ्नुपर्नेमा जोड दिए। सो कार्यक्रममा बोल्ने वक्ताहरूले सामाजिक सद्भाव, सहिष्णुता र समावेशी विकासमा मगर समुदायको भूमिका महत्वपूर्ण रहेको धारणा राखे।
दिवसका अवसरमा परम्परागत पोशाकसहित सांस्कृतिक झाँकी, सोरठी नृत्य, लोकगीत तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। स्थानीय कलाकारहरूको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।कार्यक्रममा समाजसेवा, शिक्षा र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विशिष्ट अतिथि ओमसतिया गाउँपालिकाका पूर्व अध्यक्ष हिरा केवट राहुल , नेपाल मगर संघ ओमसतिया का अध्यक्ष दीपक सिंह सर्वुजा मगर , तमु ह्युल छोंज धीं पडसरी का अध्यक्ष डम्मर गुरुङ लगायतले बोल्दै मगर एकता दिवसले समुदायबीच आपसी एकता र सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।कार्यक्रममा त्यस क्षेत्रमा उपस्थित सबैलाई स्वागत चुरा बहादुर ढेंगाले गरेका थिए भने कार्यक्रमको सञ्चालन निर्मला रेश्मी र चेत बहादुर सोमारेले गरेका थिए।
कमेन्ट गर्नुहोस्