लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मर्यादा नमिलेको भन्दै निर्वाचनमा खटिएका कर्मचारीले गरे सेवा सुविधा बहिष्कार

IMG

ओखलढुंगा। प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कर्मचारी खटाउँदा मयार्दा क्रम नमिलाइएको भन्दै खटाइएका केही कर्मचारीहरूले सेवा सुविधा अस्वीकार गरेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगालाई जानकारी गराउँदै मर्यादाक्रम अनुसार जिम्मेवारी नदिएपछि केही कर्मचारीहरूले निर्वाचनमा नजाने घोषणा गरेका थिए । कार्यालयले केही सूची संशोधन गरे पनि माग पूरा नभएपछि उनीहरुले सेवा सुविधा अस्वीकार गर्ने तर काममा भने खटिने बताएका हुन् ।


लिखित रुपमै उनीहरुले प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराएको मोलुङ गाउँपालिकाका कर्मचारी प्रकाश ढकालले जानकारी दिए ।प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न स्थानीय तहका कर्मचारी खटाउने क्रममा पदअनुसारको मयार्दा क्रम नमिलेको भन्दै उनीहरुले संयुक्तरुपमा लिखित असहमति पेस गरेका थिए ।यस विषयमा फागुन १२ गते कर्मचारीको उपस्थितिमा छलफलसमेत भएको थियो । छलफलमा खटाइएका कर्मचारीहरूले पदीय मयार्दा विपरीत जिम्मेवारी दिइएको भन्दै सच्याउन माग गरेका थिए। तर समय अभावका कारण मयार्दा मिलाउन नसकिएको जवाफ पाएपछि कर्मचारीहरूले असन्तुष्टि जनाइरहेका छन् ।असहमति जनाउने कर्मचारीहरूमा मोलुङ गाउँपालिका र सुनकोशी गाउँपालिकाका विभिन्न शाखामा कार्यरत अधिकृत तथा सहायकस्तरका कर्मचारी रहेका छन्। उनीहरूले निर्वाचनमा जिम्मेवारी पूरा गर्न तयार रहे पनि मयार्दा नमिलाइ खटाइएको अवस्थामा कुनै अतिरिक्त आर्थिक सुविधा नलिने घोषणा गरेका हुन् ।


संयुक्त रूपमा हस्ताक्षर गरिएको निवेदनमा कर्मचारीहरूले राज्यले तोकेको दायित्व निर्वाह गर्ने तर पदीय सम्मान विपरीत खटाइकोले सेवा सुविधा स्वीकार गर्न नसकिने उल्लेख गरेका छन् । साथै आगामी दिनमा कर्मचारी व्यवस्थापन गर्दा मयार्दा, अनुभव र जिम्मेवारीको स्पष्ट आधार तय गर्न माग गरिएको छ ।कार्यालयका अनुसार कर्मचारी असन्तुष्टिबारे छलफल गरी काममा अनिवार्य जान र निर्वाचनमा सहयोग गर्न भनिएको छ । उनीहरुले मर्यादाक्रम अनुसारको जिम्मेवारी नभएमा काम गर्ने तर सेवा सुविधा अस्वीकार गर्ने अडान यथावत राखेका छन् ।

कमेन्ट गर्नुहोस्