
प्रशान्त तामाङले इन्डियन आइडल ३ को उपाधि जित्दा नेपाली समुदायमा राष्ट्रियता र अपनत्वको भावना अभूतपूर्व रूपमा फैलियो।प्रशान्तको सफलताले नेपाली पहिचान र राष्ट्रियताको बहसलाई नयाँ आयाम दिएको छ र विश्वभरका नेपालीलाई एकजुट बनाएको छ।त्यस्तो कहिल्यै भएको थिएन र कहिल्यै हुने छैन, जस्तो प्रशान्त तामाङको जिन्दगीमा भइदियो । वायुमण्डल चिसिंदै गएको असोज–कात्तिकको याम थियो । धर्तीभरका नेपाली हृदयमा भने एक किसिमको न्यानोपन भरिंदै थियो, अपनत्व र स्वभिमानको।
सबैजना एकै सूर र लयमा गोलबद्ध थिए । सबैको एउटै भाका थियो र स्पन्दन पनि । यसरी भएभरका नेपालीलाई एकढिक्का बनाउने मियो थिए, प्रशान्त तामाङ ।दार्जीलिङ पहाडका लिखुरे प्रशान्त टेलिभिजनमा, पत्रपत्रिकामा, ब्यानरमा, होर्डिङबोर्डमा, शहरका भित्ताहरूमा अनि नेपालीको मन–मनमा थिए । सबैको अन्तहृदयको एकै ध्वनि थियो, ‘प्रशान्तलाई जिताऔं ।’पूर्वोत्तर भारतलाई इपिसेन्टर बनाएर फैलिएको उमंगको यो परकम्पन विश्वभर फैलिएको थियो ।
सिक्कमका तत्कालीन मूख्यमन्त्री पवन चाम्लिङ प्रशान्तलाई जिताउन हार्दिकतासाथ आह्वान गरिरहेका थिए । त्यस सेरोफेरोमा मान्छेहरूले आफ्नो आँगनको मारुती भ्यान बेचिरहेका थिए, गोठका भैंसी बेचिरहेका थिए । आफूसँग भएको जायजेथा बेचेर पैसाको जोहो गरिरहेका थिए, प्रशान्तलाई भोट हाल्नका लागि ।दार्जीलिङमा यसले राजनीतिक भुइँचालो ल्याउँदै थियो । सारा नेपाली भाषीको यो उल्लासमय एकतालाई नबुझ्ने नेता सुवास घिसिङ दार्जीलिङ शहरबाट लखेटिदै थिए । उनको दशकौं पुरानो राजनीतिक विरासत धुलापिठो हुँदै थियो र त्यो भावनात्मक उथलपुथलबाट बिमल गुरुङको उदय हुँदै थियो । उनी ‘प्रशान्तको नारा’ बोकेर सडक उमाल्दै थिए ।
अपनत्वको यो मेलामा नेपाल र राजधानी शहर काठमाडौं अरू तरंगित थियो । कला-मनोरञ्जनमा कति पनि चाख नमान्नेहरूको अवयव पनि ‘प्रशान्त को हो ?’ भन्ने उत्सुकताले तंग्रिएको थियो ।कला र मनोरञ्जनलाई ‘तेस्रो पृष्ठका समाचार ठान्ने’ मूलधारका पत्रपत्रिका प्रशान्तको नामले रंगिएका थिए । प्रथम पृष्ठका व्यानरमा प्रशान्त हुन्थे र अक्सर ठाउँ नपाउने विचार–दृष्किोण पेजमा पनि प्रशान्त नै । समाचारमा प्रशान्त, विचारमा प्रशान्त र प्रतिक्रियामा प्रशान्त । यसले वैचारिक तहमा एउटा बहस छेडेको थियो, ‘आखिर देश के हो ? राष्ट्रियता के हो ?’
भौगोलिक मानचित्रले होइन भावनाको पुञ्जले देशलाई अनन्तसम्म फैलाउने रहेछ । संगीत कलाजस्तो सौम्य शक्तिले नेपालीपनलाई विश्वमाझ चिनाउने रहेछ । अनि ‘राष्ट्रियता’ भन्ने कुराको आत्मबोध र जागरण ल्याउने रहेछ ।प्रशान्त तामाङ केवल इन्डियन आइडल जस्तो संगीत रियलिटी शोको एक प्रतिद्वन्द्वी मात्र रहेनन् । धर्तीको फरक–फरक गोलार्द्धमा बस्ने नेपालीलाई एकढिक्का बनाउने मधुर रसायन बने । उनले विश्वभर रहेका नेपालीमाझ जसरी कीर्तिमानी तरंग ल्याइदिए, त्यो इतिहासमा बिरलै जुर्ने संयोग भइदियो ।
देश–विदेशमा, गाउँ–शहरमा युवाहरू स्वतर्स्फत एकजुट भए । स्वेच्छा र हार्दिकताले गदगद हुँदै मान्छेहरूले पैसा दिए । प्रशान्तलाई भोट हाल्न, प्रशान्तलाई जिताउन ।प्रशान्तले इन्डियन आइडलको शीर्ष ताज जित्नु र नजित्नु फरक कुरा थियो । तर त्यसले नेपालीमाझ अपनत्व र राष्ट्रियताको जुन भावना सञ्चार गरिदियो, त्यो अभूतपूर्व थियो । इन्डियन आइडल हेरिरहेका नेपाली दर्शक त्यहीबेला हर्षले पग्लिएका थिए, जतिबेला एउटा लिखुरे युवा मञ्चमा उभिएर नेपालीमा भाषामा संवाद गरिरहेका थिए ।उनी निश्छल मुस्कानसहित इन्डियन आइडलको मञ्चमा उक्लिएका थिए । ‘म सिपाही हुँ’ भनेपछि उनलाई निर्णयकमध्येका एक अनु मलिकले ‘लेफ्ट राइट’ गराउँदै परेड खेलाएका थिए । निर्णयककै लस्करमा बसेका उदीत नारायणले सोधेका थिए, ‘आप कहाँ से है ?’
‘दार्जीलिङ से’ प्रशान्तले उही मुस्कानसहित संक्षिप्त जवाफ दिएका थिए ।
‘दार्जीलिङतिर सबै ठिक छ त ?’
प्रशान्तले नेपालीमै जवाफ फर्काएका थिए, ‘हजुर, सबै ठिक छ ।’
त्यसपछि त हो, प्रशान्तको अपराजित यात्रा आरम्भ भएको । त्यो यात्रा उनको विजयी सुरुवात मात्र थिएन । नेपाल र नेपालीलाई चिनाउने ऐतिहासिक उत्सवको उद्घाटन थियो ।
किनभने ‘नेपाल भन्ने देश छ र ?’ भनी प्रश्न गर्नेहरूदेखि ‘यो भारतकै कुनै प्रान्त होला’ ठान्नेहरूको जमात भारतमै कति थिए कति । ढाका टोपी लगाएका, नेपाली भाषा बोल्नेहरू देख्नासाथ ‘बहादुर’ भनी भारी बोकाउन तम्सिने र ‘चौकीदार’ भनी हियाउनेको पनि कमी थिएन ।
हेपिएको, पेलिएको अनि पहिचान नै नभएको जस्तो अवस्थामा बाँचिरहेका नेपालीहरू त्यहीबेला आत्मगौरवले उफ्रिए जतिबेला भारतकै ग्ल्यामरस टेलिभिजन शोमा नेपालभाषी केटाले धमाका मच्याउन थाले ।प्रशान्त जसरी एकपछि अर्को चरणमा प्रवेश गर्दै थिए, नेपाली भावनाहरू उसैगरी जोडिँदै गए । अनि अपनत्वको त्यो भावनाले सर्वत्र उत्सव मनाउन सुरु गर्यो । प्रशान्तको जित अब उनको व्यक्तिगत उपलब्धि मात्र रहेन । सारा नेपालीको राष्ट्रियताको सवाल बन्यो ।त्यसैले जब–जब प्रशान्त मञ्चमा उभिएर गाउन थाल्थे, नेपालीको धड्कन एकै ठाउँ लयबद्ध हुन्थ्यो । उनीहरू मनमनै कामना गर्थे, ‘उसले कहिल्यै हार्न नपरोस् ।’
अन्तत: त्यो दिन पनि आयो ।
इन्डियन आइडलले नै यसलाई एक ऐतिहासिक बनाउने तयारी गरिरहेको थियो । अनपेक्षित उर्लिएको जनलहरले आयोजकलार्ई मनग्ये फाइदा दिइसकेको थियो, चर्चा र पैसा दुवैमा । हजारौं दर्शकलाई प्रत्यक्ष साक्षी राखेर एकदमै तामझामसहित उनीहरू उद्घोष गर्दै थिए, इन्डियन आइडल ३ का विजेता ।यसको सबैभन्दा मधुर झंकार दार्जीलिङमा थियो । उमंगको ज्योतिले त्यो शहर जगमगाएको थियो । त्यहाँ नेपालको गाउँ–शहरबाट गएका शुभेच्छुकहरूको मेला लागेको थियो । भोट हाल्नका लागि सार्वजनिक ठाउँमा टेलिफोन बुथहरू राखिएका थिए । उपस्थित हरेकले पालैपालो ल्याण्डलाइनबाट प्रशान्तलाई भोट हालिरहेका थिए । पूर्वोत्तर भारतभर नि:शुल्क भोट हाल्ने प्रबन्ध मिलाइएको थियो।नेपालको टोल–टोलबाट पैसा जुटाएर प्रशान्तको नाम अंकित व्यानरसहित पुग्नेहरूको लस्कर सानो थिएन । यसरी दार्जीलिङ बाहिरबाट आएकाहरूलाई स्थानीयहरु सोधिहाल्थे, ‘कहाँबाट आउनु भो, खाना खानु भो ? सुत्ने ठाउँ पाउनु भो ?’
त्यसबेला दार्जीलिङ भित्रिने हरेक व्यक्तिले ससुरालीमा नपाउने आतिथ्य पाइरहेका थिए । भोको देख्नै नहुने, कुनै न कुनै रेष्टुरेन्ट, होटलमा लगेर खाना खुवाइहाल्ने । सुत्नका लागि ठाउँ खोजिदिने । सबैकुरा सित्तैमा व्यवस्था गरिएको थियो ।तर, मदिरापानमा कडा प्रतिबन्ध लगाइएको थियो । अनि सुरक्षा व्यवस्था उस्तै चुस्त बनाइएको थियो ।मान्छेले आ-आफ्नो आँगनमा टेलिभिजन राखिदिएका थिए । त्यहाँ इन्डियन आइडलको प्रत्यक्ष प्रसारण हेर्नेहरू अधैर्यसाथ झुम्मिएका हुन्थे । भारतका अधिकांश टेलिभिनिज च्यानल प्रत्यक्ष प्रसारणका लागि दार्जीलिङमा एकत्रित भएका थिए । चौरास्तामा ओभी भ्यानहरू तैनाथ थिए ।प्रशान्तको जन्मथलो दार्जीलिङमा के भइरहेको छ ? टेलिभिजनका लागि यो एकदमै रोचक खुराक थियो । उनीहरू क्षण-क्षणमा दार्जीलिङको अपडेट पस्किरहेका हुन्थे । प्रशान्तको जन्मघर पनि टेलिभिजन क्यामेराले घेरिएको थियो । उनको घर कस्तो छ ? उनी कहाँ जन्मे ? कहाँ खेले ? कहाँ हुर्किए ? जन्मकुण्डली खोतल्दै थिए टेलिभिजन प्रस्तोताहरू ।
दार्जीलिङको साँझ अरूबेलाजस्तो चिसो थिएन । मान्छेलाई त्यहाँको वायुले छोएकै थिएन । किनभने उनीहरूको मनमा उमंगको राप थियो । मुटुको चाल तीब्र थियो । जति–जति साँझ छिप्पिंदै जान्थ्यो, सम्भावित नतिजाको पर्खाइले मान्छेलाई बेचैन बनाइरहेको थियो । प्रशान्तले जित्यो भने हार्दिकताले हराभरा होला । विजयोत्सव मनाउँला । तर, हार्यो भने ?यी दुवै कुराले मान्छेहरूलाई स्थीर रहन दिएको थिएन । अधैर्य, छटपटी, त्रासदी एकसाथ मिसिएर आएको थियो । अब समय धेरै बाँकी थिएन ।त्यो अभूतपूर्व सांगीतिक माहौलमा अभिनेता जोन अब्रहाम स्टेजमा उक्लिएका थिए । उनको दायाँ र बायाँ हातले एकातिर प्रशान्त तामाङ र अर्कोतिर अमित पललाई समातेका थिए । कसको हात उठ्नेछ ? यो निर्णयक क्षणमा सबैको सास रोकिएको थियो ।
अचानक चर्को धुन बज्यो, अतिसबाजी भयो । त्यो भव्य मञ्च अरु प्रदीप्त भयो । अनि अभिनेता जोन अब्रहामको त्यही हात उठ्यो, जसले प्रशान्तलाई समातेको थियो । उनले उमंगमय उद्घोष गरे, ‘इन्डियन आइडल ३ का विजेता प्रशान्त तामाङ ।’लाख होइन, करोडौं करोडले प्रत्यक्ष हेरिरहेको त्यो पलमा प्रशान्तलाई उनकी आमाले ढाका टोपी लगाइदिइन् । अनि हार्दिकताले पग्लिएर उनले गीत गाए,
‘इतिहास पल्टाइहेर
या पूर्खालाई सोध
जितेकै छौं संसारलाई
वीर वीर वीर गोर्खाली
गोर्खालीको छोरो हुँ म ….।
विश्वभरका नेपालीहरू राष्ट्रियताको भावनाले गद्गद् भए । उनीहरूको आँखा रसायो, अपनत्वले ।
साभार अनलाइनखबर
कमेन्ट गर्नुहोस्