
पोखरा। नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेस्रो पूर्ण बैठक पोखराको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा सम्पन्न भएको छ । शुक्रबारदखि सुरुभएको बैठक शनिबार सम्पन्न भएको हो ।पोखरा महानगरपालिका वडा २२ मा रहेको कालावाङ घरेडी सामुदायिक होमस्टेमा भएको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले फोनिजको गतिविधिलाई थप सशक्त बनाउँदै अघि बढ्ने निर्णय गरेको छ । बैठकले विगतको गतिविधिको समीक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बैठकमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षबारेमा अध्ययन समिति गठन गर्न महासंघलाई पुनः दवाव दिने निर्णय गरेको छ । पटक पटक ज्ञापनपत्र र अल्टिमेटम दिँदासमेत महासंघको महाधिवेशनले दिएको म्यान्डेट समेत कार्यान्वयन नगर्दा फोनिजले खेद प्रकट गर्दै अब निर्णायक संघर्ष गर्ने निर्णय गरेको छ । महासंघ गम्भीर नबने महासंघको कार्यालयमा देशव्यापी तालाबन्दी गर्नेसम्मको कार्यक्रम अघि बढाउने फोनिज संघीय समितिमा छलफल भएको छ ।सोहीअनुसार फोनिजकर्मीको क्षमता बृद्धिका लागि राष्ट्रिय स्तरको कार्यशाला गोष्ठी, प्रशिक्षणमूलक कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । फोनिजलाई संगठनात्मक रुपमा चुस्त बनाउन कार्ययोजनासहित गतिविधि अघि बढाउने निर्णय गरेको छ । मातृभाषा पत्रकारितालाई प्रवर्धनमा अभियान चलाउने बैठकमा छलफल भएको छ ।
फोनिजका अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा भएको बैठकमा सल्लाहकार डण्ड गुरुङले संगठनात्मक कामलाई केन्द्रमा राखेर इमान्दारितापूर्वक काम गर्न सुझाव दिनुभयो । फोनिज बलियो भएमा मात्र आदिबासीको अधिकारको सवाल बलियो गरी उठ्ने भन्दै उहाँले फोनिज आदिबासी समुदायको प्रवक्ताको भूमिकामा रहेको बताउनुभयो ।फोनिजका सल्लाहकार उजीर मगरले तत्कालीन अनिज र हालको फोनिज स्थापनामा आफूहरुको ठुलो संघर्ष र मेहनत भएकाले यसको गरिमा कायम गर्नेगरी गतिविधिहरु गर्न सुझाव दिनुभयो । फोनिज संस्था आदिबासीको शक्ति भएको बताउँदै उहाँले संगठनात्मक गतिविधिलाई बलियो बनाउन सामुहिकताको खाँचो रहेको बताउनुभयो । २०५६ साउन २७ गते तत्कालीन अनिज नामबाट स्थापना भए पनि अहिले फोनिज फैलिएर ठुलो शक्तिको रुप लिएकोमा खुशी व्यक्त गर्नुभयो ।
फोनिज संघीय अध्यक्ष लक्की चौधरीले फोनिजको गतिविधि आदिबासीको अधिकारको पैरवी, पत्रकारिताको विकास, अभिव्यक्ति स्वतन्त्रता र जिम्मेवार तथा समावेशी पत्रकारिता प्रवर्धनमा केन्द्रित रहेको बताउनुभयो । आगामी दिनमा फोनिजलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।बैठकमा फोनिजका सल्लाहकार शान्ति गुरुङ, फोनिजका पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष तथा इन्चार्ज, जातीय पत्रकार संस्थाका अध्यक्षहरुले आफ्नो गतिविधि र संघीय समितिलाई सुझावसहितको धारणा राख्नुभएको थियो ।फोनिजका सल्लाहकारहरु, फोनिज संघीय समितिका पदाधिकारी तथा सदस्यहरु, काठमाडौं उपत्यकासहितको विशेष समन्वय समिति, सातवटा प्रदेश कमिटी, गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुगरी ६५ जनाको सहभागिता थियो । तेस्रो पूर्ण बैठकले कास्की घोषणापत्र समेत जारी गरेको छ ।२६ वर्षअघि स्थापना भएको फोनिजमा देशभर ६६ जिल्ला शाखा, ८ विदेश शाखा, काठमाडौं उपत्यकासहित ८ प्रदेश कमिटी, आठ जातीय पत्रकार संस्था गरी साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् ।
११ बुँदे घोषणापत्र जारी गर्दै फोनिजको बैठक सम्पन्न, पत्रकार महासङ्घविरुद्ध देशव्यापी आन्दोलनको घोषणा
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को संघीय समितिको तेस्रो पूर्ण बैठक कास्की जिल्लाको कालाबाङ होमस्टेमा सम्पन्न भएको छ । लक्की चौधरीको अध्यक्षता २०८२ पुस ४ गतेदेखि दुई दिनसम्म चलेको बैठकले ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घविरुद्ध देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ ।
बैठकले नेपाल पत्रकार महासङ्घको महाधिवेशनले दिएको म्यान्डेटअनुसार संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठसम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन समिति गठन नगरेको तथा संस्थापक घोषणा नगरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । उक्त प्रक्रिया तत्काल अघि नबढाइए चरणबद्ध देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी फोनिजले दिएको छ ।
बैठकले फोनिजकर्मीका लागि राष्ट्रिय कार्यशाला, जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला, मातृभाषा पत्रकारितासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम तथा फेलोसिप कार्यक्रमलगायत विविध कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको महासचिव समीर बलामीले बताए ।हाल फोनिजका देश तथा विदेशमा गरी ९७ वटा शाखा समिति रहेका छन् भने कुल ४ हजार ५ सय ६४ जना पत्रकार फोनिजमा आवद्ध रहेका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)
संघीय समितिको तेस्रो पूर्ण बैठक
२०८२ पुस ४ र ५ गते गण्डकी प्रदेश
कालावाङ घोषणापत्र
१. गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा सञ्चार माध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमण दुःखद छ । स्वतन्त्र प्रेसमाथि हुने यस्ता घटना अन्त्य गरी प्रेसप्रति जिम्मेवार बन्न सबैपक्षसँग यो बैठक आग्रह गर्दछ ।
२. २०८२ मंसिर १९ गते रिपोर्टिङको क्रममा तेह्रथुम जिल्ला म्याङलुङ –८ फोनिज तेह्रथुम जिल्ला अध्यक्ष बबीता राईमाथि भएको आक्रमण र कुनैपनि पत्रकारमाथी हुने आक्रमण प्रति यो बैठक भत्र्सना गर्दछ । आक्रमण गर्नेमाथि छानबिन गरी संलग्नलाई हदैसम्म कारबाहीका लागि प्रशासनसँग माग गर्दछौं । पत्रकारलाई निर्वाद समाचार लेख्ने वातावरण निर्माण गर्न र पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित्ताका लागि तीनै तहको सरकारसमक्ष यो बैठक आग्रह गर्दछ ।
३. श्रमजीवी पत्रकारका लागि निर्धारण गरिएको न्यूनतम पारिश्रमिक सबै सञ्चार संस्थाहरुमा लागू गराउन र श्रमजीवी पत्रकारले सञ्चालन गरेको स्वरोजगारमूलक मिडियाको संरक्षण, प्रवर्धन र विकासमा ठोस योगदान गर्न तीनै तहका सरकारसमक्ष यो बैठक माग गर्दछ ।
४. मातृभाषामा प्रकाशित तथा प्रसारित सञ्चार माध्यमको अवस्था दयनीय रहेकाले सञ्चार माध्यम तथा त्यसमा कार्यरत मातृभाषी पत्रकारको क्षमता बृद्धि, सञ्चारमाध्यमको आर्थिक प्रवर्धनका लागि सरकारसँग यो बैठक माग गर्दछ ।
५. प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनमा आदिवासी जनजाति समुदायले सञ्चालन गरेको पत्रपत्रिकाको वर्गीकरणमा विभेद नगर्न यो बैठक ध्यानाकर्षण गराउँदछ । त्यस्तो विभेदलाई तत्काल संशोधन गर्न यो बैठक माग गर्दछ ।
६. सदस्य संख्या र संगठनको हिसाबले नेपालकै ठुलो पत्रकारको संगठन हो फोनिज । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत पत्रकारसम्बद्ध संघ संस्थालाई हरेक वर्ष प्रदान गरिने अनुदान रकममा फोनिजलाई सम्मानपूर्व व्यवहार र व्यवस्था गर्न बैठक माग गर्दछ ।
७. नेपालको संविधान २०७२ ले आदिबासी जनजातिको हकहितका लागि सुनिश्चित गरेको व्यवस्था– संघीयता, पूर्ण समावेशीता, समानुपातिक व्यवस्था, धर्म निरपेक्षता, स्वायत्तता, विशेष क्षेत्र, संरक्षित क्षेत्रको कार्यान्वयनका लागि कानुन बनाई लागू गर्न यो बैठक माग गर्दछौं ।
८. प्रदेश १ मा जारी पहिचान आन्दोलन, मुकुमलुङ र खुवालुङ समस्या वार्ता र संवादका माध्यमबाट समाधान खोज्न सरकार र सम्बद्ध पक्षसँग यो बैठक आग्रह गर्दछ ।
९. नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको तथ्य स्पष्टै छ । महासङ्घको महाधिवेशनले कार्यदल गठन गरी अध्ययन गराइ निष्कर्षमा पुग्ने भनिए पनि अहिलेसम्म प्रगति भएको नदेखिएकाले महाधिवेसनको म्यान्डेटअनुसार तत्काल अध्ययन टोली गठन गरी समस्या समाधान गर्न महासंघसँग यो बैठक आग्रह गर्दछ । अन्यथा फोनिज चरणवद्ध आन्दोलनमा जाने घोषणा गर्दछ ।
१०. गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरको पोखरा भ्रमण वर्ष २०२५ सफल भइसकेको छ । आगामी दिनमा पनि यसैगरी यस क्षेत्रको निरन्तर पर्यटकीय विकास प्रवर्धनका लागि यहाँको पर्यटकीय, धार्मिक, सांस्कृति विकासका साथै कालावाङ लगायत होमस्टे, ग्रामीण पर्यटकीय विकासको प्रवर्धन गर्न तीनै तहको सरकारसँग यो बैठक माग गर्दछ ।
११. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेस्रो संघीय पूर्ण बैठकलाई सफल पार्न सहयोग गरेकोमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, फोनिज गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति, कालाबाङ घरेडी सामुदायिक होमस्टे लगायतलाई यो बैठक धन्यवाद ज्ञापन गर्दछ ।
मितिः २०८२ मंसिर ५ गते ।
कमेन्ट गर्नुहोस्