
उद्धव देवकोटा,तिलोत्तमा। तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा तिलोत्तमा साहित्य सङ्गमको पन्धौँ शृङ्खला तिलोत्तमा नगरपालिका ड्राइभरटोल स्थित होराईजन गौतम बुद्ध मा.वि. को सभाहलमा सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष डा. मुरारि पराजुली र विशेष आतिथ्य तिलोत्तमा नगरपालिका बडा नं १ कि बडा सदस्य गीतादेवी न्यौपानेले गर्नुभयो । संस्थाका सदस्य उद्धव देवकोटाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा मुरारि पराजुली, रमेश समर्थन, खगेन्द्र बस्याल, उद्धव देवकोटा, सङ्गम अनुरागी, डि. आर. न्यौपाने, सीता पन्थ, लगाएत करिब दर्जनौं स्रष्टाहरूले आफ्ना मौलिक रचना वाचन गर्नुभयो।
संस्थाका सदस्य तथा साहित्यकार रमेश समर्थनले वाचित रचनाहरूको समिक्षा गर्दै यस्ता नियमित साहित्यिक शृङ्खलाहरूले सर्जकलाई आफ्ना रचनाहरू परिष्कार गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरा बताउनुभयो।विशेष अतिथि तिलोत्तमा नगरपालिका बडा नं १ कि बडा सदस्य गीतादेवी न्यौपानेले तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठान यस क्षेत्रको प्रतिनिधि साहित्यिक संस्था रहेको र संस्थाले अगाडि बढाउने यस किसिमका साहित्यिक संगमका शृङ्खलामा निमयित उपस्थित हुने र संस्थालाई हर तरहले सहयोग गर्न आफू तयार रहेको जानकारी गराउनुभयो।
प्रतिष्ठानका अध्यक्ष डा. पराजुलीले उत्कृष्ट रचना सृजना गर्न अध्ययनशील भई साधनामा लाग्नुपर्ने कुरा बताउँदै साहित्यलाई डिजिटल प्लेटफर्ममा पनि अगाडि बढाउनुपर्ने आवश्यकता ओैंल्याउनु भयो। उहाँले तिलोत्तमा साहित्य सङ्गम हरेक महिनाको अन्तिम शनिवार नियमित रूपमा सञ्चालन हुने र यसले साहित्यकारहरुको रचनासील्प बढाई साहित्यिक उत्थानको निर्दिष्ट लक्ष्य हासिल गर्नेमा आफू विश्वस्त रहेको कुरा बताउनुभयो। उहाँले पन्ध्रौँ शृङ्खलाको सफलताले भावी कार्यक्रमहरू अझै वृहत् र प्रभावकारी हुने कुरा बताउँदै संस्थाले अगाडि बढाएका यी र यस्ता कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्