लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही-३ मा रास्वपाको उम्मेदवार डा.लेखजंग थापा,को हुन् थापा ?

IMG

तिलोत्तमा। राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३को उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट एकजना उम्मेदवारको नाम टुङ्गो लगाएको हो।आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले डा लेखजंग थापालाई उम्मेदवार बनाएको पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले बताए ।आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले थापालाई आकांक्षी ९ जनामध्ये टिकट दिएको हो ।


आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सचिवालय बैठक बसेपछि आकांक्षीहरूले नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेटेका थिए ।त्यहाँ रविले आकांक्षीहरूलाई जसले टिकट पाएपछि अरूले असन्तुष्ट हुन नहुने बताएका थिए । सचिवालय बैठक र रविसँग आकांक्षीको छलफलपछि कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गरिएको हो।रास्वपाले ७ साउन २१ गतेसम्म रुपन्देही ३ को उम्मेदवारका लागि आवदेन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएका थिए । रास्वपाका लुम्बिनी इञ्चार्ज विपिन आचार्यले पूर्ण रुपमा प्रजातान्त्रिक प्रक्रियाबाट उम्मेदवार छानिएको बताए ।


आवेदन दिएका आकांक्षी सबैले कात्तिक १७ गते रुपन्देही ३ मा घण्टी बजाउने वाचा गरेका थिए । उनीहरूले यसअघि नै जसलाई टिकट दिए पनि आफ्नो असन्तुष्टि नरहने भन्दै हस्ताक्षरसमेत गरेका थिए ।कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए । रास्वपाले उम्मेदवारको आकांक्षीका लागि २५ हजार शुल्क निर्धारण गरेको थियो।पार्टी सचिवालय बैठक बस्नअगाडि नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई रास्वापाबाट उम्मेदवारका सबै आकांक्षीले भेटेका थिए।


को हुन् रुपन्देही–३ मा रास्वपाले उम्मेदवार बनाएका लेखजंग थापा ?

राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ को उपनिर्वाचनमा डा लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।थापा न्यूरोलोजिस्ट डाक्टर हुन् । उनी थापा परिवारका आठौँ सन्तान हुन् । उनका बुवा न्यायाधीश थिए । उनी तीन वर्ष अगाडिबाट राजनीतिमा प्रवेश गरेका हुन् । उनी रुपन्देहीको अञ्चलापुरमा जन्मिएका हुन् ।


नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान चिकित्सकका रुपमा चिनिन्छन् । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा. थापाले अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स गरेका छन् ।



एक विद्वान चिकित्सकको छबि बनाएका डा थापा अनुसन्धानकर्मी समेत हुन् । उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् ।नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका डा. थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा अतुलनीय योगदान पुर्याएका छन् । उनकै टीमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकलसमेत केही दिन अघि जारी भएको छ । जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसमेत स्वीकृत गरेको छ ।


अन्तर्राष्ट्रिय जगतको समेत विश्वास जितेर अलग्गै पहिचान बनाएका डा थापाले आफ्नै पहलमा नेपालका हजारौँ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत स्ट्रोकको पहिचान, उपचार र सचेतनासम्बन्धि तालिम दिँदै आएका छन् । यसरी मृत्युको दोस्रो कारणका रुपमा रहेको स्ट्रोकको प्राथमिक उपचारलाई नेपालको दुरदराजमा पुर्याउन उनको ठूलो योगदान छ ।

कमेन्ट गर्नुहोस्