
उद्धव देवकोटा। युग र माटो सुहाउँदो लोकतान्त्रिक समाजवादी विचारका प्रणेता विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनितीका शिखर पुरुष हुन। उनकै नेतृत्वमा भएको २००७ सालको सशस्त्र क्रान्तिले जहाँनीया निरंकुश शासन व्यवस्थाको अन्त्य गरि प्रजातन्त्रको स्थापना गरेको हो। पञ्चायती शासन व्यवस्थामा पनि पटक पटक संघर्ष पूर्ण जेल जीवन बिताएका कोइराला केही समय भारतमा निर्वासित जीवन बिताई सबैको अस्तित्व स्विकार्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फिर्ता भएका थिए। गृहमन्त्री हुँदै जन निर्वाचित प्रधानमन्त्री हुन सफल कोइरालाको कार्यकाल जनउत्तरदायी सरकारको उदाहरणका रुपमा रह्यो। जनताको त्याग र बलिदान बाट प्राप्त प्रजातन्त्र र यसका उपलब्धिलाई संस्थागत गर्न कोइराला आजीवन लागिपरिरहे।
"राजनितीमा म समाजवादी हुँ भने साहित्यमा अराजकतावादी हुँ" भन्ने विचार राख्ने कोइराला साहित्यका माध्यमबाट नेपाली जनतामा राजनैतिक एवम् मानवीय चेत विकास गर्न सदा अग्रसर रहिरहे। फ्रान्सेली लेखक सिग्मण्ड फ्रायडको यौन मनोविज्ञानको धारालाई नेपाली साहित्यमा भित्र्याउने सर्वश्रेष्ठ आख्यानकार विश्वेश्वरप्रसाद कोईरालाले मुलतः मानव मनका मसिना कुराहरु केलाउँद अन्तरमनका समस्या उजागर गर्ने गरेको पाइन्छ। उनका नरेन्द्र दाई, सुम्निमा , तीन घुम्ती , बाबू आमा र छोरा , हिटलर र यहुदी , मोदी आइन् जस्ता उपन्यास, श्वेत भैरवी र दोषी चश्मा जस्ता कथा सङ्ग्रह, जेल जर्नल र आफ्नै कथा जस्तो आत्म वृतान्त आदि प्रकाशित कृति हुन्।
नेपाली काँग्रेसका संस्थापक नेता तथा युगान्तकारी साहित्यकार महामानव विश्वेश्वरप्रसाद कोईरालाको ४३ ओैँ स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस क्षेत्र नं.२ ले वि.पी. स्मृति साहित्य साँझ -२०८२ आयोजना गर्यो। चार पुस्ताका करिब ३०० जना महानुभावहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा करिब ४० जना स्रष्टाहरूले रचनामार्फत वि.पी. का राजनीतिक एवम् साहित्यिक योगदानलाई सम्झिएका थिए। यस्ता साहित्यिक एवम् राजनैतिक शिखर पुरुषको स्मृतिमा नेपाली काँग्रेस पार्टीबाट गरिएको यस किसिमको साहित्यिक कार्यक्रम सम्भवतः नेपाल अधिराज्यमै पहिलो कार्यक्रम हो। यस किसिमका साहित्यिक जमघटले पार्टीको मूलभूत सिद्धान्त लाई पुस्तान्तरण गर्न र पार्टिलाई सशक्तीकरण गर्न मद्दत पुग्दछ। यस्ता साहित्यिक चौतारीले पार्टी प्रतिको अपनत्व अनुभूत गराउँछ। विपी मात्र व्यक्ति होइनन् उनी एक विचार , दर्शन र आदर्श पनि हुन् भन्ने कुरा युवापुस्तासम्म पुर्याउन मद्दत गर्दछ।
साहित्यकारहरू सधैँ सरकारका प्रतिपक्ष हुन्छन्। स्रष्टा तथा सर्जकहरुलाई पार्टीको थिङ्क ट्याङ्कका रुपमा राखी उनीहरुबाट प्राप्त हुने समालोचनात्मक सुझावलाई ग्रहण गर्दै पार्टीलाई सुव्यवस्थित, संगठित र सृजनशील बनाउन सक्नु पर्दछ न कि आलोचना गर्ने लाई पाखा लगाएर हैकमवाद र बाहुवली प्रथाको पथप्रदर्शक। यस किसिमका साहित्यिक जमघटको नियमितता रहिरहोस् र यस्ता खालका कार्यक्रम गर्ने जमर्को पार्टीका जिल्ला,प्रदेश र केन्द्रले पनि गरोस्। लोकतन्त्र प्रति आस्थावान लेखक ,साहित्यकार तथा सम्बद्ध संस्थाको अभिलेखिकरण गरोस् ।
अन्त्यमा , जे होस् ढिलै भएपनि राम्रो कामको सुरूवात भएको छ। तसर्थ आयोजक नेपाली काँग्रेस रूपन्देही क्षेत्र नं. २ धन्यवादको पात्र हो। यो जमर्को गर्ने क्षेत्रीय सभापति प्रजापाल गिरी र उनको नेतृत्वमा रहेका साथीहरूलाई पनि हार्दिक धन्यवाद छ। यो कार्यक्रमको प्रत्यक्ष साक्षी बन्न पाउँदा गौरवान्वित महसुस गरेको छु।
तिलोत्तमा, रूपन्देही
कमेन्ट गर्नुहोस्