
उद्धव देवकोटा, तिलोत्तमा / स्मृति बोर्डिङ स्कुल तिलोत्तमा-३ मा रहेकाे स्मृति बाल समूह तथा स्मृति साहित्य क्लबले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर कक्षा सात देखि दस सम्म खुला कविता लेखन एवम् वाचन प्रतियोगिता सम्पन्न गरेको छ। क्लबले आइतबार कक्षा ४ देखि ६ सम्म निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको हो ।
कार्यक्रम बोल्दै विद्यालयका प्रधानाध्यापक हरि ज्ञवालीले साहित्यिक जागरणको बिम्बका रूपमा रहेका नेपाली साहित्यका आदिकवि भानुभक्तले रामायणलाई नेपाली भाषामा रूपान्तरण गरेपछि भाषिक एकीकरण भएको कुरा बताउनुभयो। उप प्राचार्य केश बहादुर गुरुङले आदिकविको व्यक्तित्व र कृतित्वमाथी चर्चा गर्दै बालबालिकाले भानुबाट प्रेरणा लिनुपर्ने कुरामा जोड दिनुभयो । अतिरिक्त क्रियाकलाप प्रमुख विजय कुमार सुनारले यस्ता क्रियाकलापले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभयो। यसैगरी स्मृति बाल क्लबका अध्यक्ष आयुष गौतमले भानुभक्तको जीवनी माथी प्रकाश पारेका थिए।
बिद्यालका प्रिन्सिपल हरि ज्ञवालीको अध्यक्षता तथा अतिरिक्त क्रियाकलाप प्रमुख विजय कुमार सुनारले सञ्चालन गर्नुभएको यो कार्यक्रममा उद्धव देवकोटा, माया गौतम र जीवनदीप प्रकृति ले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो। उक्त प्रतियोगितामा पहिलो चरणबाट छनौट भएका २४ जना प्रतियोगीले दोस्रो चरणमा प्रतिस्पर्धाका लागि आफ्ना रचना वाचन गरेका थिए। प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।
कमेन्ट गर्नुहोस्