लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रामकृष्णको गजलसङ्ग्रह ‘अनायास’ आउँदै

IMG

भरतपुर। नेपाली गजल साहित्यको समकालीन अभ्यासमा नवीन उर्जा भर्ने उद्देश्यका साथ स्रष्टा रामकृष्ण अनायासको गजलसङ्ग्रह `अनायास´ प्रकाशनको अन्तिम चरणमा पुगेको छ । गजल मञ्च चितवनले प्रकाशन गरेको यो कृति समालोचक, कवि तथा गजलकार रमेश प्रभातको सम्पादनमा कलात्मक रूपले पाठकसामु ल्याउन लागिएको हो ।


साहित्यमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय अनायासले यस गजलसङ्ग्रहमार्फत प्रेम, वियोग, देशप्रेम, सामाजिक चेतना र समसामयिक यथार्थका अनेक तहलाई गहिरो भावबोधका साथ प्रस्तुत गरेका छन् । उनका गजलहरू भाषिक सादगी, भावनात्मक घनत्व र समाजप्रतिको उत्तरदायित्वका दृष्टिले उल्लेखनीय छन् ।पुस्तकको आवरणले ग्रामीण सौन्दर्य, सांस्कृतिक संवेदना र स्त्रीपात्रको बिम्बमार्फत पाठकमा गहिरो प्रभाव पार्ने उद्देश्य बोकेको छ । गजल मञ्च चितवनका पूर्वअध्यक्ष तथा सल्लाहकार रमेश प्रभातको सम्पादनले कृतिको साहित्यिक गाम्भीर्यलाई अझ सुदृढ बनाएको छ ।


गजल मञ्च चितवनद्वारा प्रकाशित यो कृति सम्पूर्ण किताब, नारायणगढमार्फत देशव्यापी रूपमा वितरण गरिने छ । पुस्तकको मूल्य रु. २५१ तोकिएको छ ।गजल मञ्च चितवनका पूर्वअध्यक्ष लेखराम सापकोटाका अनुसार रामकृष्ण अनायासले गजल लेखनमा भाषिक प्रयोग र विषयगत विविधता दुबैमा सशक्त उपस्थिति जनाएका छन् । यस्तै भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले अनायास नेपाली गजल साहित्यमा थप सशक्त हस्ताक्षर बन्ने दिशातर्फ अघि बढिरहनुभएको धारणा राखेका छन् । अनायास हाल गजल  मञ्च चितवनका अध्यक्ष रहेका छन् ।यस सङ्ग्रहमार्फत गजलमा रम्ने पाठकहरूले समकालीन नेपाली गजलको गहिरो स्वाद लिन सक्नेछन् । 

कमेन्ट गर्नुहोस्