
तिलोत्तमा । मुक्त्तक निकै प्रभाव जमाएका कवि लिलाधर प्रतिकद्वारा लिखित आँखाको नानी’ मुक्तक संग्रहको एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । लेखक संघका केन्द्रिय सदस्य तथा तिलोत्तमा साहित्य कला संगीत प्रतिष्ठानका महासचिव लिलाधर प्रतिकको यो दोस्रो कृति हो । विभिन्न सञ्चार माध्यममा लामो समय काम गरेको अनुभव संगालेका पाण्डेयको २०७३ सालमा "शिरमाथि शिरफुल" नामक मुक्तक संग्रह प्रकाशित भैसकेको छ ।
तिलोत्तमा-१, ड्राइभरटोलस्थित होराइजन कलेजको सभाहलमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा वरिष्ठ आख्यानकार बनमाली निराकार, तिलोत्तमा साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष डा मुरारी पराजुली तथा साहित्यकार डिबी गुरुङ्ग लगायतले संयुक्त रुपमा मुक्तक संग्रहको बिमोचन गर्नुभएको थियो । बिमोचन पछि बोल्दै प्रमुख अतिथि निराकारले मुक्तक विधा साहित्यको एउटा उत्कृष्ट विधा भएको बताउदै ३० को दशकपछि मुक्तकको महत्व झनै बढेर गएको बताउनुभयो ।
उहाँले कृति बिमोचन गर्न पाउँदा निकै नै हर्ष लागेको बताउदै मुक्तकले दिने सन्देश निकैै नै महत्वपुर्ण र सान्दर्भिक हुने प्रष्ट पार्नुभयो । कार्यक्रमका बिच शुभकामना मन्तव्य राख्दै अध्यक्ष डा मुरारी पराजुलीले कवि लिलाधर प्रतिकको दोस्रो कृतिको सफलताको शुभकामना दिनुभयो । उहाँले मुक्तकको स्वभाव उत्सुकता जगाउने खालको हुनपर्ने बताउँदै मुक्तकको प्रचलन नवौँ शताब्दीबाटै शुरु भएको जानकारी दिनुभयो ।
कार्यक्रमका बोल्दै कवि लिलाधर प्रतिकले शीरपछि शीरफुलको मुक्तक यात्रापछि २०८२ सम्म आइपुग्दा आँखाको नानी’ सँग्रहमा १ सय ४४ वटा मुक्तकहरु संग्रहित गर्न सकिएको बताउनुभयो । उहाँले संग्रहित मुक्तकहरुले समाजको ऐना बनेर विकृति र विसंगती विरुद्ध धावा बोलेको बताउनुभयो । कार्यक्रममा साहितयकारहरु डिबी गुरुङ्ग,प्रलेश जिल्ला अध्यक्ष कृष्ण गाउँले, लुम्बिनी वाङ्गमय प्रतिष्ठानका महासचिव पुरुषोत्तम पाण्डे, शंकर भण्डारी, खगेन्द्र बस्याल लगायतले विमोचित मुक्तक संग्रहको समग्र समीक्षा गर्नुभएको थियो। तिलोत्तमा-९ निवासी कवि लिलाधर प्रतिक मुक्तकका अलावा कविता, गीत, गजल, निबन्ध र अन्य साहित्यिक आलेखहरुमा समेत कलम चलाउने गर्दछन । कार्यक्रम कवि कविराज पौडेलको सन्चालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्