
हामी आमाको कोखबाट स्वतन्त्र रुपमा जब जन्मन्छौ,तब हाम्रो बोलाउने नाम राखिन्छ।गोत्र हामिलाई परिवारबाटै प्राप्त हुन्छ।हामी सबै मानवजातिको आ-आफ्नै वंशवृक्ष छ।तसर्थ थर पनि हामिलाई परिवारबाटै जन्मजात उपलब्ध भएको हुन्छ।थर चाहिँ आनुवंशिक हुन्छ।अनुलङ्घनीय हुन्छ।तर यसमा स्तर हुँदन।विभेद हुँदन।मानिसले आफ्ना नैसर्गिक अधिकारहरु प्रयोग गर्दै हुर्कंदै जान्छ।लक्ष्य प्राप्तिका लागि आफुसँग भएको क्षमता,दक्षता खुबी,प्रतिभा देखाउँदै अगाडि बढ्छ र ऊ सफल हुन्छ।यस्तो गर्न मानिसलाई कसैले रोक्दैन।कसैले छेक्दैन।कुनै पनि चिज बाधक बन्दैन।किनकी मानिसलाई समान अधिकार र मानव भएर जिउने स्वतन्त्रता प्राप्त छ।अर्कोतर्फ सानालाई स्नेह,ठुलालाई सम्मान गर्ने हाम्रो संस्कारले एकार्कामा हातेमालो गर्न सिकाएको छ।आपसी भाईचारा र सद्भाव बाँडेर एकतामा बाँधिन सिकाएको छ।एक्काइसौं शताब्दिको यस समतामूलक समाजभित्र हामी खुसिले बाँच्न पाएका छौं।साँच्चिकै धर्म र मानवताको उदाहरण यो भन्दा अर्को हुँदैन र छैन।तसर्थ हाम्रो देशको वेदको उपनिषदमा कोरिएको महान वाक्य "वसुधैव कुटुम्बकम"अर्थात "यो विश्व नै एक परिवार हो" भन्ने वाक्यांशको चरितार्थ हो भन्नेमा दुईमत छैन।
हाम्रो प्यारो देश नेपालबाट उत्तर पुर्वमा बसेको एक सुन्दर देश छ।त्यसको नाम हो कोरिया।त्यो कोरिया देशको समाजमा केही शतक अगाडिसम्म मानिस मानिसबिच असाध्यै विभेद हुने गर्दथ्यो।समाजलाई वर्ग,जातिमा बाँडेर उँचनिचको व्यवहार गरिन्थ्यो।कथित तल्लो जातका मानिसलाई असाध्यै हेलत्व गरिन्थ्यो।जातिय,वर्गिय विभेद चरमसिमामा थियो।आजको शृङ्खलामा कोरियाका कथित दलित तथा तल्लो जातिलाइ गरिएको विभेदसँग जोडिएको रोचक इतिहासको पन्ना पल्टाउने छौं।कोरियामा जातिय विभेद कस्तो थियो भनेर जान्नका लागी मान्छेको बोलाउने नाम कसरी रहनगयो?साथै जाती कसरी जन्मिन पुग्यो भन्ने दुईवटा कुरा जान्नै पर्ने हुन्छ।
कोरियामा मानिसको नामाकरण अर्थात न्वारान
कोरियाको ईतिहास अनुसार प्राचीनकालमा मानिसलाई बोलाउने कुनै नाम थिएन।त्योबेला दिनको समयमा उज्यालो भएकोले कसैलाई बोलाउँदा अथवा आफुतिर ध्यान खिच्नकालागी ओइ,ऐइ,ऐ,अई जस्ता शब्दहरु प्रयोग गरि औँलाले देखाएर बोलाइने गरिन्थ्यो।यस्तोमा औंलाले तोकेर देखाइएको व्यक्ती मात्र प्रस्तुत हुन सक्दथ्यो।तर रातिको बेलामा भने समस्या उत्पन्न भयो।रातिको अँध्यारो समयमा ऐइ,ऐ,अई,ओइ भनेर बोलाउँदा ब्यक्ती कसलाइ बोलाईएको हो भन्ने कुरा प्रष्ट थाहा हुन सकेन।कबिलामा समस्या उत्पन्न भयो।ऐइ भनेर बोलाउँदा एकजनाको सट्टामा कबिलामा दस जना,पन्ध्र जना जति छन सबैले आफैलाई बोलाएको हो भनेर सामुहिक उपस्थित हुने अवस्था सिर्जना भयो।त्यसपछी मानिसको नाम रुपको आधारमा,रङको आधारमा,शारीरिक बनावटको आधारमा जस्तै अग्लो,होचो,सानो ठूलो जस्ता शब्दहरु प्रयोग गरेर नामले बोलाउन थालियो।साथै घर कस्तो ठाउँमा छ।बारिको गहिरोमा छ कि ,पाखोमा छ कि ,बेसीमा छ कि त्यसको आधारमा पनि नामाकरण गरेर बोलाउन थालियो।यदि कसैको घर बारिको छेउमा,रुखको वरपर छ भने रुख,बारिको पनि नाम दिएर नामाकरण हुन पुग्यो।अर्कोतर्फ जन्मदा कस्तो आकारमा जन्मिन्छ त्यसलाई त्यसैको नाम दिएर बोलाउन थालियो।यसको ज्वलन्त उदाहरण पहिलो शताब्दीमा कोरियामा एकजना राजाको जन्म भयो।जन्मदा उनी डल्ले लौका जस्तै देखिन्थे।अनि उनको नाम फाक भनेर नामाकरण गरियो।फाक भनेको कोरिया भाषामा डल्ले लौका भन्ने जनाउँछ।यसरी नामको सुरुवात भएको पाइन्छ।
कोरियामा "स्त्री" शब्दबाट थरको सुरुवात
कोरियामा थरलाई सङ भनिन्छ।सङको अर्थ चिनको हान्चा भाषामा केटी भन्ने अर्थ दर्साउँछ।भनिन्छ सन्सारमा सबैभन्दा पहिला थर लेख्ने देश चीन हो।चिनमा बसेको सभ्यताले विश्वको इतिहासमा पहिलोपटक थरको सुरुवात गरेको भनेर जान्न सकिन्छ।परापुर्व कालमा विवाहको व्यवस्थित प्रणाली थिएन।कानुनी व्यवस्था पनि थिएन।त्योबेला बहुपत्नी प्रथा कायम थियो।एउटै आमाका सन्तान धेरै हुने गर्दथे।जसको कारण जन्मेको सन्तानले माता चिन्दथे।तर पिता चिन्दैनथे।केवल सन्तानलाई मात्र थाहा हुने गर्दथ्यो कुन मेरो माता हो भनेर।जनसंख्या वृद्धिसँगै मानिसहरु बसाइँसराइ गर्न थाले।अनि आफ्नो परिचयको आवश्यकता पर्यो।जन्मेका सन्तानले आफ्नो आमा बसेको ठाउँलाई नै थरको रुपमा प्रयोग गर्न थाले।खोलाको किनारामा बसेकी आमाले खोलाको "खो"अक्षर निकालेर सन्तानको नामको अगाडि थरको रुपमा "खो"जोडिदिइन।पाखोपखेरोमा बसेकी आमाले पाखोपखेरोकै थर जोडिदिइन जोजो जहाँजहाँ बसेका थिए।पछि सन्तानले पनि आमा बसेको ठाउँलाई थर बनाएर थरको परिचय दिन थालेका थिए।जन्मेको पुर्ख्यौली थलो र रगतको नाताको लहरो जुन जन्मदाता आमासँग जोडिएको छ त्यसैबाट थर लेख्न सुरुवात भएको जान्न सकिन्छ। राज्यको नामबाट पनि जात बनाईयो।बालक जन्मिदाको आकारलाई पनि थरमा परिणत गरियो।उदाहरणको रुपमा पहिलो शताब्दीमा जन्मेका राजा डल्ले लौका जस्ता थिए।डल्ले लौका जस्ता भएर उनको नाम कोरिया भाषामा "फाक"राखिएको थियो।पछि फाकका वंशजले फाकलाई नै थरकै रुपमा स्थापित गर्न पुगे।साथसाथै चिनमा प्रयोग भएका नाम थर पनि कोरियामा भित्रिएको हो भनेर जान्न सकिन्छ।
रोचक कुरा के छ भने छैटौं शताब्दीका कोरियाका छिन्फ्यङ भन्ने राजाले हाम्रो देश नेपालको कुलीन राजपरिवार शाक्य वंशको परिवारको नाम जस्ताको तस्तै आफ्नो परिवारमा सारेका थिए।सिद्धार्थ गौतम बुद्धका पिताको नाम सुद्धोदन हो।त्यो नाम ती राजाले आफ्नो नाम बनाएका थिए।ती राजाले आफ्नी रानीको नाम मायादेवी राखेका थिए।सुद्धोदनका दुई जना भाईहरुको नाम कोरियाका ती राजाले आफ्ना चौतारिया भाईहरुको नाम राखेका थिए।छोरिहरुको नाम बुद्धले उपदेश दिँदा प्रयोग गरेका पवित्र शब्दहरु तानेर राखेका थिए।हाम्रो नेपालको शाक्य राजवंशको नाम थर राखेर ती राजा शाक्य वंशको घराना बन्न चाहेका थिए भनेर जान्न सकिन्छ।कोरियामा औपचारिक रुपमा थर लेख्ने चलन दशौं शताब्दीदेखि मात्र सुरुवात भएको पाइन्छ।त्यो पनि सिमित घराना अर्थात राजपरिवार साथै भारदारहरुले मात्र थर लेख्ने चलन बसालेका थिए। दुखदायी कुरा के छ भने सन १८९४ सम्म तल्लो वर्ग तथा तल्लो जातिले थर लेख्ने अनुमती थिएन।यो त थियो थर नामाकरणको इतिहास।अब कोरियाको समाजमा वर्ग कसरी जन्म्यो त त्यसबारे जान्ने छौ।
कोरियामा वर्गको प्रार्दुभाव
आजभन्दा पाँच हजार वर्ष पहिला कोरियामा धानको जन्म भएको थियो।धान खेतिको उत्पादन हुन थालेपछी धानलाई बहुमुल्य अनाजमा राखियो।त्योबेला काम नगरी चोरेर जिविकोपर्जन गर्ने अल्छी मानिसहरूको पनि उदय भयो।अनि काम गरेर धान उत्पादन गर्ने मानिसको धान चोरी गर्न थाले।चोरी हुन थालेपछी मानिसबिच घमासान युद्ध भयो।त्यसपछि युद्धमा विजेता भएकाहरु पहाडको टुप्प्पो, पाखापखेरोको माथिल्लो भाग साथै धान उत्पादन हुने खेतको वरपर बस्न थाले।उनिहरु विशेष हुँ भन्नका लागि बार लगाएर,बान्नो लगाएर किल्लाको रुपमा निर्माण गरी सुरक्षितसाथ बसोबास गर्न थाले।युद्ध जितेका मानिस मालिकमा परिणत भए।विजेता माथिल्लो स्तरका भए।युद्धमा हारेका मानिसहरु विजेताहरुको दास र तल्लो स्तरका मानिस बन्न पुगे।हारेका,कमजोर तथा निरिहलाई तल्लो स्तरमा राखियो।मानव सभ्यताले यसरी वर्गको रुप धारण गर्न पुग्यो।विभेदको वीजारोपण भयो।यसको ज्वलन्त उदाहरण विशालकाय पत्थरको समाधी जसलाई डोलमेन भनेर चिनिन्छ।जहाँ दास,नोकर तथा तल्लो वर्गका मानिसहरुले माथिल्लो स्तरको मुखियाको लासलाई सम्मान स्वरुप त्यस्तो स्मारक बनाएर राखेका थिए।जसले समाज पाँच हजार वर्ष पहिला नै वर्गमा बाँडिएको झल्किन्छ।
लिखित इतिहासको सुरुवात राजा महाराजाको आगमन, समाज औपचारिक रुपमा वर्गमा विभाजन
लिखित ईतिहासको पहिलो शताब्दीदेखि कोरियामा सत्तरी भन्दा बढी टुक्रे राज्यहरु स्थापना भए।समाजमा शासकको रुपमा राजाको जन्म भयो।टाठाबाठाहरु राजाको नजिक भए।राजा बनाउने हामिहरु हो भनेर मपाईँ हुन थाले।मानिसहरु राजाको नजिक भए।राजपाठ सम्बन्धी काम गर्ने सहयोगी बने।जसले राजकाज तथा प्रशासनिक पदको सिर्जना गर्यो।उनिहरु नै माथिल्लो दर्जाका हौँ भनेर प्रमाणित गरे।तिनिहरु राजापछिका माथिल्लो घराना भए।सर्वसाधारण सारा तल्लो स्तरको रैतीमा परिणत भए।माथिल्लो स्तरका मानिस तथा राजघरानाले मात्र थर राख्न पाउने कानुन बनाइयो।तल्लो स्तरका मानिसहरुले जात लेख्न नपाउने कानुन निर्माण भयो।सर्वसाधारणले केवल रैती मात्र प्रयोग गर्ने नियम बनाइयो।रैतीको थर विलीन गराइयो।विभेदको रुख मौलाउँदै गयो।
चौधौँ शताब्दीदेखि सरकारी पद जातमा परिणत,तल्लो स्तरका वर्ग जातिय विभेदको भुङ्ग्रोमा
चौधौं शताब्दी आइपुग्दा कोरियाको समाज वर्ग र जातियताको भुमरीमा निस्कनै नसक्नेगरी फनफनाई रहेको थियो।कोरियाको समाज त्योबेला चार वर्ग,आठ उपजातिमा विभाजन भएको थियो।
(१)याङबान
(२)छुङइन
(३)साङमीन
(४)छनमीन
भनेर वर्ग विभाजन भएको थियो।जसमा एकदेखि तीन सम्मका वर्गहरु क्रमशःमाथिल्लो स्तरमा गनिन पुगे।चार नम्बरको छनमीन अर्थात दलित भन्ने वर्गलाई असाध्यै तल्लो वर्गमा राखियो।रोचक कुरा के छ भने ई चार वर्गहरु सुरुवातमा कर्मको आधारमा निर्माण गरिएको थियो।जस्तै एक नम्बरमा भएको याङबानले प्रशासनिक र जङ्गी हेर्ने,दुई नम्बरमा भएको छुङइनले उपचार,ओखतिमुलो अर्थात वैधको काम गर्ने साथै विदेशी आउँदा अनुवादक बन्ने काम गर्ने थियो।तीन नम्बरमा भएको साङमीन किसान,
व्यापारीहरु पर्दथे।चार नम्बरको छनमीन भनेको प्रविधीको काम,दास साथै सेवाको काम तोकिएको थियो।विचारणीय के छ भने थर लुप्त गराएर कर्मको आधारमा समाजलाई वर्गमा निर्माण गरियो।अनि यसलाई अनुलङघनीय बनाइयो।वर्ग बढोत्तरी हुन नपाउने बनाइयो।अथवा यसरी भनौ इनै वर्ग बिस्तारै जात कहलाए।जन्मेका सन्तान जन्मजात वर्ग लिएर जन्मिने बनाइयो।विभेदको आगो रन्कदै गयो।अब विषयमा भएको जातिय विभेदको प्रसंग राखौं।
कामको आधारमा निर्माण भएको कोरियाको वर्ग जसलाई जातमा नै परिणत गराएर विभेद गरियो
माथी उल्लेखित चार नम्बरको छनमीन वर्ग अर्थात दलित वर्ग जसलाई उठ्नै नसक्ने गरि होच्याइएको थियो।छनमीन अर्थात दलित समुदायलाई आठ वटा जातिमा बाँडिएको थियो।इनलाई वर्ग नभनी जाती नै भनिएको थियो।जसमा
१)नोबी जाती =नोबी भनेको दासदासी जाती ।
२)ख्वाङ्दे जाती =ख्वाङ्दे भनेको कोरियाको दरबार तथा,सार्वजनिक स्थलमा गएर लामो रसी टाँगी त्यो रसीमा पैदल हिड्ने प्रतिभा देखाउने जाती ।
३)खिसेङ जाती =खिसेङ भनेको रक्सी पसल तथा, राजाको दरबारमा गएर नाचगान गरि नाचको अभिनय गर्ने जाती ।
४)खोङ्जाङ जाती=खोङजाङ भनेको दैनिक दिनचर्यामा आवस्यक पर्ने सरसमान निर्माण गर्ने जाती ।
५)मुदाङ जाती =तन्त्रमन्त्र तथा झारफुक गर्ने जाती ।
६)सुङ्न्य जाती = मागेर गुजरा चलाउने जाती भिक्षु जाति।
७)साङयकुन जाति =मुर्दा बोकेर जलाउने जाती ।
८)फेकचङ जाती =जनावर काटमार गरेर मासु बेच्ने जाती
जसमा यो फेकचङको जातिमा पनि अरु तिनवटा जातलाई उपजातिमा राखिएको थियो।जुन यस्तो थियो।
-कोरी फेकचङ जाती = डोको,कोर्को,फुर्लुङ,पेरङ्गो बनाउने जाती
- माङनानी जाती =फाँसी दिँदा घाँटी छिनाउने जल्लाद जाती
-खात पाछी जाती =गाई गोरुको छाला तारेर जुत्ता बनाउने जाती
कोरियाका फेकचङ (दलित)जातिलाई गरिएको विभेद कस्तो थियो?
सन १८९४ सालभन्दा अघि कोरियामा कथित तल्लो जाती फेकचङलाई असाध्यै हेलत्व गरिन्थ्यो।उनिहरुलाई मान्छेको दर्जा नै दिइएको थिएन।उनिहरुले माथिल्लो वर्गले जस्तो थर लेख्न पाउँदैनथे।उनिहरुलाई बोलाउने नाम होच्याएर राखिने गरिन्थ्यो।त्योबेला कोरियाका दलितलाई फिजेङी,खातपाछी,फेकचङ जस्ता तुच्छ भाव दर्साउने नामले बोलाइने गरिन्थ्यो।उनिहरुले पढ्न पाउँदैनथे।ढुङ्गाले घर छाउन पाउँदैनथे।उनिहरुले आफैँले छालाको जुत्ता सिलाएर पनि आफुहरुले लगाउन पाउँदैनथे।तल्लो जातिले आँखामा आँखा मिलाएर माथिल्लो जातिसँग कुरा गर्न पाउँदैनथे।माथिल्लो जातिलाई नब्बे डिग्रीमा शिर झुकाएर अभिवादन गर्नु पर्दथ्यो।न्यानो कपडा लगाउन पाइँदैनथ्यो।पाटको कपडा लगाउनु पर्दथ्यो।चोया तथा नल, परालले बनेको टोपी लगाउनु पर्दथ्यो।घोडा चढ्न पाइदैनथ्यो।हानबोक भनिने राष्ट्रिय पोसाक लगाउन पाइँदैनथ्यो।गाउँको माथिल्लो वर्गको विवाह समारोहमा जान पाइदैनथ्यो।परालको चप्पल लगाउनु पर्दथ्यो।सबै मानिसहरु बसेको समाजमा बस्न पाइदैनथ्यो।जङ्गलको कुनामा कसैसँग नछुने गरि बस्नु पर्दथ्यो।विवाह गर्दा डोला चढ्न पाइँदैनथ्यो।आफ्नै जातसँग मात्र विवाह गर्नु पर्दथ्यो।मरेपछी अर्थी पनि बनाउन पाइदैनथ्यो।लासलाई बोरामा हालेर लानु पर्दथ्यो।अनि खोल्साखाल्सीको एकान्तमा लगेर गाढ्नु पर्दथ्यो ।लासलाई जलाउन पाइदैनथ्यो।समाधी बनाउन पाइदैनथ्यो।पितृ कार्य श्राद्ध गर्न पनि पाइँदैनथ्यो।कोरियाका कथित तल्लो जातिलाई जिउँदो छँदा पनि भेदभाव मरेपछी पनि भेदभाव थियो।
कोरियाको त्यस्तो जातीय विभेद कसरी समाप्त भयो त?
कोरियाका कथित तल्लो वर्ग तथा जातिका मानिसहरुले वर्ण प्रणाली खारेज तथा थर राख्न पाउने भनेर सन १८९४ सालमा विशाल दलित जनाअन्दोलन गरे।आन्दोलनमा लाखौं मानिसहरुले भाग लिए।देशव्यापी रुपमा फैलिएको त्यो आन्दोलनले निर्णायक मोड ल्याउन सफल भयो।अन्ततोगत्वा वर्ग तथा जातियतामा विभाजन भएको त्यस्तो विभेदयुक्त प्रणाली खारेज भएर गयो।त्यसपछी सन १९०९ सालमा आएर साराले आफ्नो थर बनाउन पाउने कानुन आयो।थर नभएका कथित तल्लो जाती तथा सारा नागरिकले आफ्नो थर बनाए।जसमा थर नभएका मानिसहरुले कथित माथिल्लो जाती तथा कोरियाका राजसाही घरानाका थरहरु लिएर आफ्नो थर दर्ता गरे।जसमा कोरियाका उच्च घराना तथा राजसाही परिवारका जातहरु किम,ई,फाक,सक हुन।यिनै थरमा सारा मानिसहरु समाहित हुन पुगे।
आन्दोलनमा त्योबेलाका कथित तल्लो जातिले राखेका माग के थिए त?
त्योबेला कोरियाका कथित तल्लो जातिले छ वटा माग राखेका थिए।समान अधिकार,थर राख्न पाउने,समान शिक्षा,बिना कोटा प्रणालीको आधारमा बराबर रुपमा खुल्ला प्रतिस्पर्धा गरेर रोजगारको अवसर,फेकचङ (दलित)भनेर विभेद गर्न नपाइने साथै फिजेङी,खातपाछी जस्ता दलितलाई होच्याएर बोलाइने उपनाम बोल्न नपाइने मागहरु राखेका थिए।जुन माग राज्यले सुनुवाई गरिदियो।त्यसपछि आज कोरियामा एउटा समतामुलक समाजको परिकल्पना बन्न सफल भयो।सबैले बराबर रुपमा प्रतिस्पर्धा गरेर शिक्षित हुने अवसर पाए।रोजगार पाए।जातिय विभेदको जरो उखेलेर फालियो।जसको कारण आज कोरिया मानवअधिकार सम्पन्न राष्ट्र बन्न सफल भएको छ।समानाधिकार भएको राष्ट्र बन्न सफल भएको छ।हामी सबैको कल्याण होस।हाम्रो नेपालमा एकता बनिरहोस।अबको हाम्रो नेपालको पुस्ता कोहिपनी विदेशीन नपरोस।
कमेन्ट गर्नुहोस्