
धर्तिमा दुई जात छन। एक नारी जाती अर्को पुरुष जाती।जसमा नारिको मात्र नाम राखेर हेर्नुपर्दा नारीलाई विभिन्न नाम दिएर पुकारिने गरिन्छ।नारिलाई सिङ्गो पृथ्वीको संज्ञा दिइएको छ।नरिलाई आधा आकाश पनि भन्ने गरिन्छ।अझै सनातन धर्ममा त नारिलाई काली,सरस्वती,लक्ष्मी,दुर्गा जस्ता देवीको नाम जोडेर पनि पुजिने गरिन्छ।तर नारिलाई उच्च स्थानमा राखेर जेको दर्जा दिएपनी मानवताको हिसाबले नारी विभेद भने यदाकदा कायमनै रहेको पाइन्छ।समान अधिकार प्राप्त अझैपनी नभएको अवस्था छ।
पुर्वी एसियामा बसेको कोरिया भन्ने देशमा पनि नारी विभेद कुनैबेला चरम सिमामा थियो।कोरियामा पनि नारिलाई असाध्यै हेलत्व गरिन्थ्यो।नारिलाई घरभित्रको काममा मात्र बन्धक बनाएर राखिन्थ्यो।त्यतिमात्र नभएर नारिलाई सन्तान उत्पादन गर्ने यन्त्रको रुपमा मात्र लिइन्थ्यो।आजको शृङ्खलामा कोरियामा नारी विभेददेखि लिएर लैङ्गिक समानता प्राप्तिसम्मको कोरियाको नारी इतिहासको बारेको रोचक नालिबेली जान्ने छौ।
नारि विभेदको सुरुवाती जड जान्नकोलागि सबैभन्दा पहिला समग्र मानव जातिको ईतिहास कोट्याउनु पर्नेहुन्छ।विज्ञानको आधारमा लाखौं वर्ष पहिला हामी मानव जातिका पुर्खाहरुको घर अफ्रिकाको जंगल हुने गर्दथ्यो।उनीहरु चारखुट्टाले हिँड्ने गर्दथे।हिंसक जनावरहरुको आक्रमणबाट बच्न उनिहरु अग्लाअग्ला रुखमा बसेर जीवन बिताउने गर्दथे।विकासक्रमसँगै मानवजाती दुईखुट्टाले हिँड्न थाल्यो।जनावरसँग प्रतिकार गरेर आफुलाई रक्षा गर्न सक्ने भयो।दुई खुट्टाले हिँड्ने भएपछी मानवजातिको झुन्ड रुख छोडेर जमिनमा बसाइँसराइ गरे।उनिहरुले रुखलाई छोडेर गुफामा बस्न थाले।कालान्तरमा मानवले कण्ठबाट ध्वनी निकाल्न थाल्यो।आवाजसँगै ढुङ्गाको हातहतियार तथा औजार समेत बनाउन थाल्यो।मानवले जिउने माध्यम सहज बनाउँदै गयो।अनि मानवजातिले आफ्नो जन्मथलो अफ्रिकालाई छोडेर बसाइँसराइ गरे।अफ्रिकाबाट निस्केको मानवजातिको जत्था सारा सन्सारभरी फैलियो र आफ्नो सभ्यता ठाउँठाउँमा स्थापना गरे।अफ्रिकाबाट हिँडेको आदिमानवको झुन्ड कोरियामा पनि आइपुग्यो।
कोरियाको ईतिहास अनुसार पुरापाषाणको युग अर्थात आजभन्दा सात लाख वर्ष पहिला कोरियामा मानव जातिको पहिलो पाइलो परेको थियो।जनावर जस्तै डुलुवा जीवन बिताएका त्योबेलाका मानिसहरु सिकार गर्दथे।गुफामा बसि आगो तापेर रात बिताउँथे।त्योबेला उनिहरुको कुनै घर थिएन।समाज थिएन।भेदभाव पनि थिएन।सबै समान थिए।
आजभन्दा आठ हजार वर्ष पहिला जतिबेला नवपाषाण युग चल्दै थियो।त्योबेलादेखी मानवजाती एकैठाउँमा घर बनाएर बस्न सुरुवात गर्यो।त्योबेलाका मानिसहरु खोला,नदिको नजिक पारेर सेउलो तथा खरको झुपडी बनाएर बसोबास गर्ने थाले।मानिसले घरपालुवा जनावर पाल्न थाले।गेडागुडी खेतीको सुरुवात यहि कालबाट भयो।घर बन्यो,परिवार बन्यो।संगसंगै मानव जातिको कबिला तयार भयो।धर्मको स्थापना भयो।गोतियारको स्थापना भयो।गोत्रको स्थापनासँगै एउटै रगतमा विवाह नहुने प्रचलन पनि यहि कालबाट सुरुवात भएको मानिन्छ।त्योबेला पनि कुनै भेदभाव थिएन।समतामूलक समाज थियो।यो कालमा आइपुग्दा पुरुष जातिले नारी जातिको बारेमाभने केही बुझ्ने अवसर प्राप्त गरेको बुझिन्छ।
मानवजातिले एकैठाउँमा घर बनाएर बस्न थालेपछि पुरुषले नारीको बारेमा बुझ्ने अवसर पायो।महिलाको मासिकधर्म हुँदा बगेको रगतलाई देखेर पुरुष चकित
भयो।यस्तो हुँदा त्योबेलाको पुरुषले नारी जातिमा दैवी शक्ति हुनेरहेछ भन्ने आकलन गर्यो।देवीदेवताको शक्तिले रगत बगेको भन्ने बुझ्यो।अनि नारीलाई देवीको रुपमा पुज्न थाल्यो।अर्कोतर्फ नारीको गर्भबाट सन्तानको उत्पादन भएको देखेर पनि पुरुष चकित भयो।माटोले बोटबिरुवा उमारेझैं,नारिले सन्तान पनि जन्माउँदा रहेछन भन्ने बुझ्यो।नारी र पुरुषको समागम बिनानै नारीले सन्तान जन्माउने रहेछन भन्ने बुझ्यो। पुरुष जातिले यसलाई पनि दैवी शक्ति नै हो भन्ने ठान्यो।अनि नारिलाई भगवानको रुपमा पुज्न थाल्यो।नारीजाती पुज्य बने।त्यसोभए नारीलाई विभेद गर्ने चलन कसरी,कहिलेबाट सुरुवात भयो त?नारी विभेदको इतिहास तलको अनुच्छेदबाट सुरुवात हुन्छ।
कांस्ययुगको सुरुवातकाल नारी विभेदको पहिलो चरण
आजभन्दा पाँच हजार वर्ष पहिला कोरियामा कांस्ययुगको समय मानिन्छ।त्योबेलासम्म आइपुग्दा मानव अघिल्लो चरणभन्दा बढि विकसित भइसकेको थियो।चेतनाको विकासमा वृद्धिहुँदै मानवजाती नयाँ खुड्किला पार गर्दै थियो।देवीको रुपमा पुज्दै आएको नारिजातिलाई हेर्ने नजरमा अचानक फरक ल्याउन थाल्यो।पुरुषले नारिको मासिकधर्मलाई गहन अध्ययन गर्यो।मासिकस्राव भनेको साधरण अवस्था रहेछ भन्ने बुझ्यो।यो कुनै देवीको शक्तिले नभएको र नारिमा यो सामान्य प्रक्रिया रहेछ भन्ने बुझ्यो।अर्कोतर्फ सन्तान जन्माउने प्रक्रियामा नारीको कुनै पनि भूमिका नहुने रहेछ भन्ने भ्रम जन्माउन थाल्यो।प्रजनन प्रणालीमा पुरुषको मात्र भूमिका हुने रहेछ भन्ने भ्रम जन्मायो।यसरी पुरुषले नारिप्रती हेर्ने नजरमा विभेद ल्याउन थाल्यो।नारी जातिलाई कमजोर ठान्न सुरुवात गर्यो।पुरुषवादी मानसिकताको जन्म भयो।स्त्रीको महत्त्व घटेर गयो।नारि विभेदको पहिलो ढोका यसरी खुल्न पुग्यो।
धानखेतीको सुरुवातले जन्माएको नारी विभेदको दोस्रो चरण
आजभन्दा पाँच हजार वर्ष पहिला कोरियामा धान खेतिको सुरुवात भएको मानिन्छ।धानखेतिको सुरुवात भएपछी धान खेति महत्त्वपूर्ण बालिको रुपमा साबित हुन पुग्यो।खेतमा गएर काम गर्नको लागि पाखुराको आवस्यकता पर्यो।त्यसकालागि पुरुषनै अगाडि सरे।टन्टलापुर घाममा खटाउन नारिलाई अघि सारिएन।पुरुषहरु नै खेतमा गएर कुटोकोदालो गर्न थाले।नारी जातिले आफ्ना बालबच्चा काखी च्यापेर भान्साको काम गर्न थाले।घरभित्रको काम गर्न थाले।पुरुष जातिले खेतमा काम गर्ने,नारी जातीले सन्तान उत्पादन तथा चुलोचौको गर्ने कामको बाँडफाँड हुनपुग्यो।बिस्तारै नारिजाती पर्दापछाडी समेटीन पुगे।नारिविभेदको सिलसिला बढ्न थाल्यो।
युद्धले निम्त्याएको नारी विभेदको तेस्रो चरण,मानवजाति लिङ्गमा विभाजन, पितृसत्तात्मक प्रणालीको उदय
धानखेतिको उत्पादन हुन थालेपछी धान महत्त्वपूर्ण बाली बन्न पुग्यो।उत्पादन हुने खेतलाई मानिसले पेवा बनाउन थाले।मानिसहरुले खेतीयोग्य जमिन हडपन थाले।निजि अचल सम्पत्तिको प्रादुर्भाव हुन पुग्यो।प्रशस्त धान उत्पादन भएपछी खाएर बचेको धान मानिसहरुले भण्डारण गर्न थाले।जमिन हडपन नसकेका तथा खेती नगरेका अल्छी मानिसहरुले लुटपाट मच्चाउन थाले।उनिहरुले अर्को कबिलामा गएर अरु मानिसहरुले भण्डारण गरेको धान चोरी गर्न थाले।अनाज चोरिभएपछी एकआपसमा युद्ध हुन पुग्यो।युद्धमा पुरुषहरु मात्र सामेल भए।पुरुष पुरुषबिच भीषण लडाइँ भयो।युद्धमा पनि छोरामान्छेले मात्र भाग लिएकोले पुरुषले आफुलाई अझै शक्तिशाली ठान्न थाल्यो।नारी जाती र पुरुष जातिमा विभेद सिर्जना गर्न पुग्यो।अनि पुरुषले नारिजातिलाई कमजोर साबित गराए।मानव सभ्यता लिङ्गमा बिभाजन हुनपुग्यो।लैङ्गिक विभेद औपचारिक रुपमा सुरुवात हुनपुग्यो।पुरुषजाति धर्तिमा सर्वेसर्वा बलबान हुनपुगे।पुरुषको सन्सार भनेर स्थापित गराए।पितृसत्तात्मक प्रणालीको उदय हुनपुग्यो।
लिखित इतिहासको सुरुवात इसाको पहिलो शताब्दीदेखि कोरियामा राजामहाराजाको जन्म भयो।विभिन्न टुक्रे राज्य स्थापना भए।परम्परागत शिक्षा,
गुरुकुल शिक्षा साथै बुद्ध शिक्षाको समेत सुरुवात भयो।शिक्षा ग्रहण गर्न पाउने अधिकार पनि पुरुषलाई मात्र प्रदान गरियो।नारीलाई शिक्षाको ढोका बन्द गराइयो।छोरी जातिलाई घरभित्रको काममात्र सिमित गराइयो।
मध्यकालीन युग अर्थात तेह्रौं शताब्दी आइपुग्दा त नारिलाई कमजोर बनाउन कोरियामा लिखित मुलुकीऐन नै निर्माण गरियो।कानुनमा पुरुषको आधिन हुनुपर्ने बनाइयो।छोरिले जन्मघरहुँदा पिताको आदेश मान्नुपर्ने,विवाह पश्चात् श्रीमानको आदेश मान्नुपर्ने,श्रीमानको मृत्यु पश्चात् छोराको आदेश मान्नु पर्ने कानुन बनाइयो।विधवा नारिले पुनर्विवाह गर्न नपाउने कठोर कानुन बनाइयो। यसरी नारिजाति पिँढी दरपिँढी,पुस्ता दरपुस्ता निरक्षरताको भूमरीमा फसी पुरुषको आधिन बनेर बाँच्न बाध्य भए।मानव भएर पनि मानवको दर्जा नारीजातिलाई प्राप्त भएन।नारीजातिप्रती नियम कठोर बनाउँदै लगियो।विभेदको शृङ्खला चलिरह्यो।
कोरियाका नारीजातिलाई शिक्षा आर्जनको अवसर,सुनौलो युगको सुरुवात
सन १९४५ मा अखण्ड कोरिया जापानबाट स्वतन्त्रता पायो।लगत्तै सन १९४८मा अखण्ड कोरिया विभाजन हुनपुग्यो।३८ डिग्री उत्तरी अक्षांशदेखि उत्तरको भाग उत्तर कोरिया बन्यो।त्यसबाट तलको दक्षिण कोरिया बन्न पुग्यो।यहाँबाट दक्षिण कोरियाको नारिको इतिहास मात्र हुने छ।
दक्षिण कोरियामा आधुनिक युगको सुरुवात नारी विभेदको सिलसिला भने कायमै
सन १९४८मा दक्षिण कोरिया एक प्रमाणिक राष्ट्र बन्यो। त्योबेला जनमतबाट दक्षिण कोरियामा पहिलो राष्ट्रपति बने।उनले कोरियामा छोराछोरी सबैलाई समान शिक्षाको सुरुवात गराए।दक्षिण कोरियाका सबै बालबालिका शिक्षा आर्जन गर्न पाठशाला जान पाउने औपचारिक दिनको सुरुवात भयो।छोरिहरुकालागि नयाँ युगको सुरुवात झल्कियो।नारी शिक्षित बन्ने दिनको सुरुवात भयो।
तर शिक्षाको ढोका खुलेपनि नारी विभेद भने कायम नै रह्यो।सो समय दक्षिण कोरियाको इतिहासमा पहिलो कानुन बनाइयो।कानुनमा नारिका हक र अधिकार भने पुर्णरुपमा ओझेलमै राखियो।नारिलाई हकअधिकार दिनुपर्छ भनेर कानुनमा कोरिएन।पुरुषकै अधिकार अनुसार नारिको स्वतन्त्रता,नैसर्गिक अधिकार सबै पुरुषको मुठ्ठी भित्र राखियो।यदि कुनै नारी र पुरुषबिच मुद्दा मामिला पर्छभने र गल्ती पुरुषको छभनेपनी सजाय नारीलाईनै दिइने कानुन बनाइएको थियो।नारिको आवाज न कानुनले सुन्दथ्यो,न पुरुषले सुन्दथे।नारिलाई सरकारी कार्यलयमा दिने काम पनि कुर्सिमा बस्ने र हस्ताक्षर गर्ने नभई सरसफाइ तथा चिया नास्ता पकाएर दिनेमा जागिर दिन थाल्यो।विवाह पश्चात् नारिले जागिर छोड्नुपर्ने विभेद पनि कायम नै राख्यो।यस्तो कारणले नारीविभेदको चपेटामा परेका थिए।
नारी जाती राजनीतिमा प्रवेश,चुनावमा असफलता प्राप्ति,नारीद्वारा कोरियाको संसदलाई "विधुरको संसद"उपमा
ईतिहास अनुसार सन १९४९ सालमा दक्षिण कोरियामा आमनिर्वाचन हुन पुग्यो।त्योबेला दक्षिण कोरियाले नारिहरु पनि उमेदवार हुन पाउने अधिकार दियो।तर महिलालाई एक तिहाइ मात्र उमेदवारी दिन पाउने कानुन बनाइयो।त्योबेलाको निर्वाचनमा १९ जना महिला उमेदवारले भाग लिएका थिए।तर कानुनले नारी उमेदवार हुन पाउने अधिकार दिएपनी पुरुषले यसलाई स्विकारेनन।ठाउँठाउँमा टाँसिएको महिला उमेदवारको पोस्टर रातारात पुरुषले च्यातेर फालिदिए।चुनावमा पुरुषमात्र निर्वाचित हुनुपर्छ भन्ने मान्यता पुरुषले राखेका थिए।महिला उमेदवारलाई प्रचारप्रसार समेत गर्न दिइएन।बसेर लघुशङ्का गर्ने जातिले देश चलाउन सक्दैनन भन्ने अमर्यादित भाष्य निर्माण गरेर नारिलाई होच्याइयो।नारी भनेको घरभित्रको काम हेर्ने,बालबालिका जन्माउने,हुर्काउने मात्र हो भनेर निष्क्रिय बनाउने प्रयास भयो।चुनाब सम्पन्न भयो।विडम्बना त्यो चुनाबमा एक जना महिला पनि विजयी भएनन।महिला उमेदवारलाई कसैले भोट दिएनन।सबैठाउँमा पुरुष उमेदवार मात्र विजय भए।१९ जना महिला उमेदवार नै असफल भए।त्यसपछि त्योबेलाकी एकजना पराजित महिला उमेदवारले बोलेको कुरा अति मार्मिक थियो।जुन यस्तो थियो।कोरियाको संसद "विधुरको संसद"हो।चुनावमा सबै महिला उमेदवारको हार भएपछी दुखी हुँदै दक्षिण कोरिया राँडोको राज्य रहेछ भनेर दुखेसो पोखेकी थिइन।त्यसपछी राँडोको हालीमुहाली पतन गराउन महिलाहरु अझै अग्रसर भएर मैदानमा उत्रनुपर्ने छ।यो देशमा पुरुषले मात्र हैन महिलाले पनि शासन गर्न सक्छन भन्ने पार्नका लागि महिलानै जागरुक हुनुपर्ने छ।पुरुषको आधिपत्यलाई निस्तेज पार्न महिलानै संसदमा पुगेर आवाज बुलन्द गर्नुपर्ने छ।नारी सजग हुने बेला आएको छ भनेर सन्देश प्रवाह गरेकी थिइन भनेर जान्न सकिन्छ।त्यसपछि महिलाहरु जागरुक हुन थाले।राजनितिमा महिला पार्टी नै खोलेर प्रवेश गरे।
सन १९६० को दशक नारिद्वारा सरकारी कार्यलयमा जागिरको माग,नारी आन्दोलनको सुरुवात
सन १९६०को दशकसम्म आइपुग्दा कोरियाका छोरिहरु छोराहरुसँगै बराबर रुपमा साक्षर भैसकेका थिए।छोरिहरुको शाक्षरता ७४ प्रतिशत पुगिसकेको थियो। पढेलेखेका छोरिहरुले नारिलाई पनि बराबर रोजगारको माग गर्न सुरु गरे।नारिहरुलाई सरकारी कार्यलयमा जागिर गर्न पाउने माग राखेर आन्दोलन सुरुवात गरे।रज्यले उनिहरुको मागलाई सुनुवाइ गर्न वाध्य भयो।शिक्षित नारीहरुको आवाज कुल्चन राज्यले सकेन।नारिहरु झन सशक्त बन्दै गए।
नारिहरुको साक्षरता हरेक वर्ष वृद्धि,राज्यसँग नारी अधिकारका माग राखेर आन्दोलन निरन्तर
सन १९७५ देखि दक्षिण कोरियाका विभिन्न निकायमा नारिहरुको पहुँच हुन थाल्यो। विद्यालय,महाविद्यालय,
विश्वविद्यालय,अड्डा,अदालत,संसदमा सर्वत्र नारिहरु पुग्न थाले।आफै हस्ताक्षर गर्ने ठाउँमा नारिको उपस्थिति हुन थाल्यो।त्यसपछी सन १९८० को दशकदेखि नारिहरुले नारी विभेदको विषयलाई लिएर आन्दोलन चर्काउँदै गए।समान अधिकारकोलागि लड्दै गए।पितृसत्तात्मक प्रणाली अनि एक तिहाई खारेजीको माग साथै नारिले मात्र सजाय पाउने कानुन हटाउन सक्रिय आन्दोलन गर्न थाले।अन्ततोगत्वा सन १९९० मा दक्षिण कोरियाले नारीका धेरै मागहरु पूरा गरिदियो।समान रोजगार,समान दण्ड,सजाय जस्ता मागहरु पूरा गरिदियो तर पितृसत्तात्मक प्रणालीलाई भने खारेज गरेन।
हजारौं वर्षदेखि जरा गाढेको कोरियाको पितृसत्ता,नारिको एक बुलन्द आवाजले सदाको लागि स्वाहा,लैङ्गिक समानताको श्रीगणेश
लैङ्गिक विभेदको आन्दोलन कोरियामा लामो समय चल्यो।सन २००० को दशक आइपुग्दा कोरियाका नारिहरु राज्यको हरेक निकायको उच्च ओहदामा पुग्न सफल भैसकेका थिए।नारिहरु वकिल,न्यायाधीश बनिसकेका थिए। राजनीतिक क्षेत्रमा मन्त्रीको पदमा पनि पुगिसकेका थिए।जसमा सो समय कानुनमन्त्री अनि महिला तथा बालबालिका मन्त्री दुई जना महिला मन्त्री बन्न सफल भए।हरेक उच्च निकायमा महिला भएको अवसर पारेर कोरियाका नारिहरुले लैङ्गिक विभेदको आन्दोलनलाई चर्काउन थाले।महिला मन्त्री तथा महिला सांसदहरुले सदनबाट,सारा नारिहरुले सडकबाट लैङ्गिक विभेदको आन्दोलन देशव्यापी गराउन सफल भए।दक्षिण कोरियाका नारिहरुको त्यो आन्दोलनले एउटा निर्णायक मोड लिन पुग्यो।आखिरकार नारिको आन्दोलनमा राज्यले घुँडा टेक्यो।सन २००५ सालमा अदालतबाट लैङ्गिक समानता घोषणा गरियो।दक्षिण कोरियाबाट पितृसत्तात्मक प्रणाली सदाकालागि खारेज भएर गयो।नारी र पुरुषले समान अधिकार प्राप्त गर्न सफल भए।त्यतिमात्र नभएर नारीहरुले विवाह पश्चात् जन्मेका सन्तानको थर आफ्नै आमाको थरबाट राख्न पाउने समेत कानुन बनाइदिए।दक्षिण कोरियाका नारिहरुले पढेलेखेर नयाँ ईतिहास रच्न सफल भए।सिङ्गो राज्यलाई झुकाईदिए।नारी जातिलाई नमन।सबै नारी जाति तथा हामी सबैको कल्याण होस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि विदेशिन नपरोस।
-विक्रम थापा
हाल दक्षिण कोरिया
कमेन्ट गर्नुहोस्