
तिलोत्तमा। सामाजिक संस्था टिम नेपोले आफ्नो पुस्तक परियोजनाअन्तर्गत धादिङ जिल्ला कारागारमा ५१५ थान पुस्तक हस्तान्तरण गर्दै १०औं जिल्लाको सफलता हासिल गरेको छ। यस अभियानले नेपालका विभिन्न जिल्लाका कारागारहरूमा पुस्तकालय स्थापना गरी कैदीहरूलाई पुनर्स्थापना, मानसिक विकास, र शिक्षाको पहुँच पुर्याउँदै आएको छ।कार्यक्रममा टिम नेपोका अध्यक्ष प्रदीप गिरीले कारागार कार्यालय धादिङका प्रमुख राम मणि मिश्रजीलाई पत्रसहित विभिन्न विधाका ५१५ थान पुस्तक हस्तान्तरण गर्नुभयो।
उहाँले यस पुस्तक परियोजनाले कैदीहरूलाई पुनर्स्थापना र आत्मसुधारको अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले कार्यक्रममा बोल्दै टिम नेपोले अघि बढाएको यो अभियान कारागार सुधारको उत्कृष्ट पहल भएको बताउनुभयो। उहाँले यस्तो कार्यक्रमले कैदीहरूलाई जीवन परिवर्तनको बाटो देखाउने र सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।त्यस्तै, प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले पनि यस परियोजनाको प्रशंसा गर्दै शिक्षा र पठन संस्कृतिको प्रवर्द्धनले कैदीहरूको मानसिक स्वास्थ्यमा सुधार ल्याउने र समाजमा पुनर्स्थापना प्रक्रियालाई सहज बनाउने बताउनुभयो।
कार्यक्रममा टिम नेपोका कार्यकारी सदस्य प्रवेश पाण्डित, टिम नेपो काठमाण्डौका अध्यक्ष निराजन अधिकारी, एलिश धरेल, किरण ओली, र परश क्षेत्रीको उपस्थिति पनि रहेको थियो। सबैले नेपोको निरन्तर समाज परिवर्तनको अभियानलाई प्रशंसा गर्दै यसले कारागार सुधार केन्द्रको रुपमा परिवर्तन ल्याउने प्रेरणा प्रदान गर्ने धारणा राखेका थिए।अध्यक्ष गिरीले अन्त्यमा पुस्तकहरूको सही सदुपयोग गर्दै कैदीहरूबीच पठन संस्कृतिको विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले “पढाइले मात्रै नयाँ अवसर र परिवर्तनको ढोका खोल्छ” भन्ने सन्देशसहित आगामी दिनमा अन्य जिल्लाहरूमा पनि यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।नेपोले यसअघि अर्घाखाँची, स्याङ्जा, तनहुँ, अछाम, चितवन, दाङ, रसुवा, लमजुङ, र काभ्रे कारागारहरूमा पनि पुस्तकालय स्थापना गरिसकेको छ।
कमेन्ट गर्नुहोस्