लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युवाको लागि देश ठिकठाक नहुँदा विदेश प्यारो भो : चित्र बहादुर केसी

IMG

तिलोत्तमा,पौष २२ गते।जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले राजनीतिमा भ्रष्टाचार संस्थागत भएको बताउनुभएको छ ।प्रगतिशील पत्रकार संघको १८औं स्थापना दिवसका अवसरमा बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले राजनीति गर्नु भनेको कमाउनका लागि हो भन्ने प्रवृत्ति हावी भएको बताउनुभयो ।देशमा पञ्चायत र राजतन्त्र जनताको त्यागबाटै समाप्त भए।


तर, अहिले राजनीतिमा हिनामिना र भ्रष्टाचारले संस्थागत रूप लिएको छ’ केसीले भन्नुभयो, ‘राजनीति गर्ने भनेको देश र जनताका लागि होइन, कसरी छिटो कमाउन सकिन्छ भन्ने प्रवृत्ति हावी भएको छ।’उहाँले प्रदेश व्यवस्था जनताको हितमा नभएको बताउँदै यसलाई खारेज गरी स्थानीय तहलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्र र गणतन्त्रलाई जोगाउनु अहिलेको मुख्य आवश्यकता भएको केसीको भनाई थियो ।फरक प्रशंगमा अध्यक्ष केसीले देश ठीकठाक नहुँदा युवाहरूमा विदेश पलायन बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेका छन्, तर विदेश जानु मात्र समस्याको समाधान होइन।’अध्यक्ष केसीले देश ठीक हुन नेता, जनता र मिडिया तीनै तत्व सही हुनुपर्नेमा जोड दिनुभयो । देशको अवस्था बिग्रिनु र सप्रिनुमा यिनै तीनवटा तत्वहरू निर्णयक हुने उहाँको भनाई थियो ।ती तत्वहरू ठीक नभएकोले देशको अवस्था नाजुक बन्दै गएको केसीले बताउनुभयो।


‘देश बिगार्नमा नेताको मात्रै होइन, मिडिया र जनताको पनि हात हुन्छ’ केसीले भन्नुभयो, ‘यि तीनै तत्व ठीक नहुँदा देश बिग्रेको छ।’अध्यक्ष केसीले नेपालमा जनताले सही राजनीतिक दल र नेतालाई चिन्न नसक्दा देश अधोगतीतिर लागेको पनि स्पष्ट पार्नुभयो ।पछिल्लो समय नेपाली राजनीतिमा पद र पैसाको लडाइँ भइरहेको बताउँदै ठूला दलहरु भ्रष्टाचारमा लिप्त रहेको उहाँले बताउनुभयो ।संघीयता मुलुकको लागि घातक रहेको उल्लेख गर्दै यसलाई खारेज गर्नुपर्ने भन्दै देशले संघीयता धान्न नसक्ने केसीले दोहोर्याउनुभयो । उहाँले ठूला पार्टीलाई अहिले संघीयता घाँडो भइसकेको तर भन्न नसकेको अवस्था रहेको जिकीर गर्नुभयो ।अहिले देशकै कार्यकारी प्रधानमन्त्री, राष्ट्र प्रमुख जहाँ गयो त्यहीँ ढुङ्गा हान्ने प्रवृत्ति बढ्दै जानु राम्रो अवस्था नभएको केसीको भनाई थियो।


प्रगतिशील पत्रकार संघलाई शुभकामना दिँदै केसीले मिडियाले निष्पक्षरुपमा कलम चलाएर गलत प्रवृत्तिलाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले देशको समृद्धिका लागि प्रेस जगतले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।त्यस्तै, प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपाल, प्रेस चौतारीका अध्यक्ष लक्ष्मण पौडेल,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल लगायतले प्रेस स्वतन्त्रताबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।कार्यक्रम प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्