
तिलोत्तमा,मङ्सिर ८ गते।नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तान र दक्षिण अफ्रिका लाहोरमा नेपाली समयअनुसार बिहान सवा ११ खेल्दैछन् ।यस्तै नेपालले आफ्नो पहिलो खेलमा यही समयमा श्रीलङ्कासँग खेल्दैछ । चौथो संस्करणको नेत्रहीन क्रिकेट टी–२० विश्वकप पाकिस्तानमा आजदेखि डिसेम्बर ३ तारिखसम्म चल्नेछ । खेलहरु लाहोर र मुल्तानमा हुने छन् ।नेपालले आफ्नो दोस्रो खेल नोभेम्बर २४ तारिखमा बङ्गलादेशसँग, तेस्रो खेलमा अफगानिस्तानसँग नोभेम्बर २५ तारिखमा, चौथो खेल दक्षिण अफ्रिकासँग नोभेम्बर २६ तारिखमा तथा पाँचौँ खेल नोभेम्बर २७ तारिखमा पाकिस्तानसँग खेल्नेछ ।
नेपाल र भारतबीच नोभेम्बर २९ तारिखमा खेल हुने तालिका थियो । तर भारत सहभागी नभएपछि नेपालले वाक ओभर पाएको छ । यो प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान सहभागी छन् ।भारतले आफ्नो टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि भारत सहभागी नहुने भएको हो । भारतले खेल्ने लिग चरणका खेलमा उससँग खेल्ने टोलीले वाक ओभर पाउनेछन् । आजै भारत र बङलादेशबीच पनि खेल हुने तालिका थियो ।लिग चरणमा शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल डिसेम्बर ३ तारिखमा मुल्तानमा हुनेछ । यो विश्वकप खेल्न हवाई टिकटका लागि रकम अभाव भएपछि नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको छ ।
कमेन्ट गर्नुहोस्