
काठमाडौं । लेखक तथा पत्रकार श्रीश भण्डारीको किशोर–उपन्यास ‘अकथित’ प्रकाशनमा आएको छ । उपन्यासमा बुलिङका कारण किशोरकिशोरीको व्यक्तित्व विकासमा आउन सक्ने अवरोध र उनीहरूले सामना गर्नुपर्ने अप्ठ्याराहरूलाई एउटा सुन्दर कथानकमार्फत् प्रस्तुत गरिएको छ ।प्रविधि प्रयोगमा आएको व्यापकतासँगै पछिल्लो समय सामाजिक सञ्जालमार्फत् अनावश्यक सन्देश पठाउने, अश्लील शब्द, तस्वीर वा भिडियो पठाउने वा त्यस्तै भाषा प्रयोग गरेर दुःख दिने हर्कत बढ्दै गएका छन् । यस्ता क्रियाकलापहरू साइवर बुलिङ अन्तर्गत पदर्छन् । लेखक भण्डारीको ‘अकथित’ उपन्यासले साइबर बुलिङकको यो पक्षलाई पनि चेतनामूलक ढङ्गले समेटेको छ ।
उपन्यासको मुख्य पात्र सार्थकको लजालु स्वभाव र कमजोर आत्मबलको फाइदा उठाएर उसलाई विराज र उसका केही बदमास साथीहरूको समूहले हदैसम्मको बलमिच्याइँ (बुलिङ) गरेको छ । यस्तो बलमिच्याइँबारे जानकार भएर पनि कक्षाका साथीहरू त्यसको प्रतिकार गर्न सकिरहेका छैनन् । किताबी पढाइमा मात्रै केन्द्रित शिक्षक र अभिभावको पनि यसतर्फ बिल्कुलै ध्यान पुग्न सकिरहेको छैन ।“बुलिङका कारण पीडितको आत्मसम्मानमा ठेस पुग्छ । हेप्दा वा होच्याउँदा प्रयोग हुने शब्द र व्यवहारले उनीहरूको आत्मविश्वास कमजोर गराउँछ ।
यस्तो दुव्र्यवहारबाट गुज्रिएका बालबालिका कम बोल्छन् । परिवारका सदस्यसँग पनि खासै खुल्दैनन् । साथीभाइबाट टाढै रहन्छन् । एकान्त मन पराउँछन् । प्रायः कोठामा एक्लै बस्छन् । कसैको अघिल्तिर पर्दा प्रायः शिर ठाडो गर्न र आँखामा आँखा जुधाएर हेर्न सक्दैनन्,” लेखक भण्डारी भन्नुहुन्छ, “कैयन् अभिभावकले यस्तो परिवर्तनलाई किशोरावस्थाको स्वाभाविक बदलाव ठानेका हुन सक्छन् । तर समस्याको पहिचान र निकारणमा ढिलाइ भयो भने अन्ततः बालबालिका र किशोर किशोरीलाई यसले डिप्रेसनको अवस्थासम्मै पुर्याउन सक्छ ।”प्रकाशक इटर्नल पब्लिकेसनका अनुसार उप्रेरणात्मक पुस्तक अठोटका समेत लेखक रहेका श्रीश भण्डारीको यो उपन्यास विद्यालय उमेरका सबै किशोरकिशोरीका लागि उपयोगी छ ।किताबको मूल्य २७५ रुपैयाँ छ ।
कमेन्ट गर्नुहोस्