लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

IMG

तिलोत्तमा,२०८१ कार्तिक ११ गते।सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाण्डाै, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा निःशुल्क उपचार हुने भएको हो ।


आउँदाे मङ्सिर १ गतेदेखि निर्णय लागू हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्री पौडेलले पदबहाली गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थाल्नुभएको थियो ।सरकारले हरेक व्यक्तिलाई उपचारका लागि दिने रकममा अपुग भए मन्त्रालयको आन्तरिक स्राेतबाट व्यवस्थापन गरिने प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।


नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।नेपालमा सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएका पाइएको छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्