लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लौहपुरुष गणेशमान सिंहको आज २७ औं स्मृति दिवस

IMG

तिलोत्तमा,२०८१ असोज १ गते। नेपाली कांग्रेसका संस्थापक एवम् प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर लौहपुरुष गणेशमान सिंहको आज २७ औं स्मृति दिवस हाे । नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछ ।आज उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उहाँको प्रतिमामा माल्यार्पणसहित पुष्पगुच्छा पनि अर्पण गर्नुभएको छ । १९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।


२०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गर्नुभएको थियो । सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।


२०१५ सालमा पहिलो चुनावपछि बनेको सरकारमा मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल गृहमा कारावास जीवन बिताउनुभएको थियो ।२०२५ सालमा बीपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि उहाँले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । सिंह २०३३ सालमा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहनुभयो ।

कमेन्ट गर्नुहोस्