
बुटवल,भदौ १० ।शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजन आजदेखि १७ औं प्रवेशमा प्रवेश गरेको छ । वि.स. २०६५ सालमा कृष्ण जन्माष्टमीका दिन टेलिभिजनले आफ्नो प्रशारणको सुरुवात गरेको थियो । १६ औं वार्षिकोत्सवको अवसरमा टेलिभिजनले विभिन्न रचनात्मक तथा सामाजिक काम गरेर मनाउन शुरू गरेको हो। बुद्ध सामुदायिक टेलिभिजनको प्राङ्गणमा आयोजित उद्घाटन समारोहको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले समाज रुपान्तरणमा टेलिभिजनको महत्वपूर्ण भूमिका रहेको बताउँदै निष्पक्ष पत्रकारिता गर्नको लागि जोड दिनुभयो । नेपालमै पहिलो मिडिया ग्राम बुटवलमा स्थापना गर्ने र यसको सुरुवात यसै वर्षबाट गरिने उहाँले जानकारी दिनुभयो । मिडिया हाउसहरु पछिल्लो समय आर्थिक संकटबाट गुर्जिएको बताउँदै मिडिया ग्रामको स्थापना गर्न सके मिडिया हाउसलाई बचाउन सकिने पाण्डेयको भनाई छ । मिडिया हाउस बाँचे मिडियाकर्मी बाँच्ने बताउँदै नगर प्रमुख पाण्डेयले आफ्नै कार्यकालमा जस्तोसुकै परिस्थितीको सामाना गरेर भएपनि मिडिया ग्रामको स्थापना गराएरै छाड्ने उहाँले बताउनु भयो ।
बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले टेलिभिजनले समाजका कुरानै प्रमुख मुद्धा बनाउँदै आएको बताउनु भयो ।उहाँले उपमहानगरपालिकाले मिडिया हाउसलाई जोगाउन भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । टेलिभिजनका पुर्व अध्यक्ष ,निर्देशन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षेत्रीले टेलिभिजनले अबका दिनमा आफ्नै भवन निर्माण गरेर प्रशारणको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । सल्लाहकार तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारले सधै प्रश्न गर्नुपर्ने र पत्रकारिता आचारसंहिताको पालनमा जोड दिनुभयो ।
बुटवल उपमहानगरपालिकाले मिडिया हाउस र मिडियाकर्मीको क्षमता बृद्धिको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गर्नुभयो । नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कविन्द्र नेपालले टेलिभिजनले समाजमा शान्ति स्थापनाको लागि सन्देश दिन गरी काम गर्नको लागि शुभकामना दिनुभयो । समाजबादी पत्रकार संघ रुपन्देहीका अध्यक्ष बिनोद परियारले पत्रकारले उठाउने प्रश्न ब्यक्तिको लागि नभएर सुधारको लागि उठ्ने भएकाले जनप्रतिनिधिले सकारात्मक ढङ्गबाट बुझ्नको लागि आग्रह गर्नुभयो । यस्तै टेलिभिजनका कोषाध्यक्ष अरुणकुमार श्रेष्ठले टेलिभिजनको वार्षिकोत्सवलाई पर्वको रुपमा मनाउँदै आएको बताउनुभयो ।
वार्षिकोत्सवको उद्घाटन समारोहमा टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीको स्वागत तथा कार्यक्रम प्रमुख खेमराज रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । टेलिभिजनले वार्षिकोत्सवको अवसरमा भदौ १४ गते रक्तदान, छात्रबृत्ति वितरण,तीज मिलन लगायतका रचनात्मक कार्यक्रम गरिने प्रमुख कार्यकारी प्रमुख कपिल ज्ञवालीले जानकारी दिनुयो ।
कमेन्ट गर्नुहोस्