
तिलोत्तमा,साउन २३ गते २०८१। तीन दिन अघि लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट गरिएको निजामती कर्मचारीको सरुवा राजनीतिक आस्थाको आधारमा भेदभावपूर्ण तरिकाबाट गरिएको आरोप नेकपा माओवादी केन्द्र समर्थित कर्मचारी संगठनले लगाएका छन् । नेकपा माओवादी केन्द्र समर्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, रुपन्देही र नेपाल राष्ट्रिय कर्मचारी महासंघ, रुपन्देहीले यस खालको आरोप लगाएका हुन् । ती संगठनले नेकपा एमाले र नेपाली कांग्रेस समर्थित निजामती कर्मचारीलाई मागेको ठाउँमा सरुवा गरिएको तर नेकपा माओवादी केन्द्र समर्थित कर्मचारीलाई भने आस्थाको आधारमा सरुवा गरिएको दावी छ ।
‘कर्मचारी सरुवा गरिँदा राजनीतिक आस्थाको आधारमा हाम्रो संगठनका साथीहरुलाई पेलानमा पार्ने गरि भेदभावपूर्ण व्यवहार गरिएको छ’, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, रुपन्देहीका अध्यक्ष राजेन्द्र पौडेलले भने, ‘नेकपा एमाले समर्थित कर्मचारी एशोसिएसन र कांग्रेस समर्थित कर्मचारी युनियन आवद्ध कर्मचारीलाई रोजेको ठाउँमा गरिएको छ ।’प्रदेश तहमा समायोजन भएका ५, ६, ७ र ८ औं तहका करिव १ सयको हाराहारीको संख्यामा प्रशासन समूहका कर्मचारीलाई लुम्बिनीको मुख्यमन्त्रीको कार्यालयबाट २१ गते राती सरुवा गरिएको थियो । सामान्यतया २ बर्षको अवधिमा कर्मचारीको सरुवा गर्ने प्राबधान छ ।
कर्मचारी एशोसिएसन र युनियनमा आवद्ध कतिपय कर्मचारीको दुई बर्ष भन्दा धेरै समय बितिसक्दा पनि सरुवा नगरिएको दावी पौडेलले गरे । उनका अनुसार, सामान्यतया विभिन्न कर्मचारी संघ–संगठनमा आवद्ध जिल्ला कार्यसमितिका पदाधिकारीलाई सरुवा गर्दा जिल्ला बाहिर नगर्ने प्रचलन छ । यसको कारण भनेको जिल्ला कार्यसमिति संचालन गर्नु पर्ने भएकाले हो । तर, अहिले नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती रुपन्देहीका सचिवलाई नै रुपन्देही जिल्ला बाहिर सरुवा गरिएको छ ।
भेदभावपूर्ण तरिकाबाट सरुवा गरिएको वारेमा रुपन्देहीका विभिन्न कर्मचारी संघ–संगठनका पदाधिकारीहरुसँग कुराकानी गरिएको र यसबारेमा तत्कालै बिज्ञप्ती जारी गरि मुख्यमन्त्री समक्ष डेलिगेशन जानेबारेमा तयारी गरिएको पौडेलले बताए । ‘हामी आन्तरिक छलफलमा जुटेका छौं’, पौडेलले भने ।नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती रुपन्देहीका एक पदाधिकारी तथा कर्मचारीले यसबारेमा मुख्यमन्त्रीका नीजि सचिव प्रेम गौतमलाई पनि जानकारी गराइएको बताए । यो कर्मचारी सरुवा प्रक्रियामा एमाले समर्थित कर्मचारी भित्रै पनि गुटको आधारमा भेदभाव भएको दावी उनले गरे ।
उनका अनुसार एमाले उपाध्यक्ष एवं अर्थमन्त्री बिष्णु पौडेल र महासचिव शंकर पोखरेल गुटको असर एमाले समर्थित कर्मचारीमैं परेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, रुपन्देहीका अध्यक्ष उत्सव न्यौपानेले यसबारेमा आन्तरिक छलफल भैरहेको र अव कसरी जाने ? भन्ने वारेमा साँझसम्म टुंगो लाग्ने बताए ।
कमेन्ट गर्नुहोस्