लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सभामुख घिमिरेसँग अस्ट्रेलियन राजदूतको बिदाइ भेट

tillotmacitynews - 2024 Jul 31 06:44 PM
IMG

तिलोत्तमा,साउन १६ गते २०८१।सभामुख देवराज घिमिरेसँग अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले बुधबार बिदाइ भेट गरेकी छिन्। सन् २०२१ मा नेपालको राजदूत नियुक्त भएकी भोल्क अस्ट्रेलियन सरकारको परराष्ट्र मामिला विभागको उच्च अधिकारी हुन्।साढे तीनवर्षे कार्यकाल पूरा गरेर आगामी अगस्टमा स्वदेश फर्कनुअघि राजदूत भोल्कले बिदाइ भेट गरेकी हुन्। भेटमा सभामुख घिमिरेले नेपालको लागि अस्ट्रेलियन राजदूतको रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई ज्ञापन गरे।सभामुख घिमिरेले नेपाल र अस्ट्रेलियाबीच यस वर्ष सम्पन्‍न व्यापार र लगानीसम्बन्धी सम्झौता (टिफा)को कार्य अघि बढिरहेकोमा खुसी व्यक्त गर्दै भने, ‘सम्झौतापश्चात् व्यापार र लगानीका क्षेत्रमा थप विस्तार हुने अपेक्षा छ।’ सामुदायिक वन कार्यक्रममा अस्ट्रेलिया सरकारको सहयोग स्मरणीय रहेको बताउँदै उनले आगामी दिनमा पनि यस्तै दीर्घकालीन प्रभाव पार्ने सफल परियोजनामा अस्ट्रेलिया सरकारको सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गरे।


नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई अझ बढी मजबुत बनाउन द्विपक्षीय भ्रमणको आदान–प्रदान, नेपाल–अस्ट्रेलिया संसदीयमैत्री समूहको गठनलगायतले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सभामुखको भनाइ थियो। उनले अस्ट्रेलिया सरकारले कोभिड–१९ तथा जाजरकोट भूकम्पका समयमा नेपाललाई प्रदान गरेको मानवीय सहायताप्रति धन्यवाद व्यक्त गरे।राजदूत भोल्कले नेपाल र अस्ट्रेलियाबीच आगामी दिनमा पनि उच्चस्तरीय भ्रमण तथा सहयोग जारी रहने बताइन्। नेपाल र अस्ट्रेलियाबीच भएको व्यापार र लगानीसम्बन्धी सम्झौता (टिफा) बैठकका लागि अस्ट्रेलियन टोली काठमाडौं आउने तयारीमा रहेको जानकारी दिँदै उनले सम्झौतालाई नेपालको हितमा प्रयोग गर्ने विषयमा छलफल हुने बताइन्।

कमेन्ट गर्नुहोस्