लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

केपी ओलीको नाममा खेलकुद प्रतियोगिता गरेकामा माधव नेपालको असन्तुष्टि

IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख ८ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा खेलकुद प्रतियोगिता गरेकामा असन्तुष्टि जनाएका छन् । शनिबार पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा खेलकुद प्रतियोगिताहरु गरेको टिप्पणी गरेका हुन् ।


‘एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा प्रतिष्ठान खोलिदिएको छ । आफ्नै नेताको नाममा खेलकुद प्रतियोगिता गरिदिएको छ । ज्युँदै फेरि । पुष्पलालको नाममा भएको भए राम्रै हुन्थ्यो । मनमोहनजीको नाममा भएको भए गज्जबको राम्रो हुन्थ्यो । मदन भण्डारीको नाममा भएको भए क्यावातको कुरा हुन्थ्यो’, अध्यक्ष नेपालले भने । नेकपा एमालेको खेलकुद संगठनले केपी ओली कप फुटबल र केपी ओली कप क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।


अध्यक्ष नेपालले २० वर्ष अझै पार्टीको नेतृत्व गर्छु भने पनि ओलीलाई चुनौती दिनेहरु नजन्मिएको दाबी गरे । ओलीले पार्टीमा धेरैलाई मानमर्दन गरेको नेपालले बताए । ‘समाजमा सम्बन्धहरु किन बिग्रन्छन् ? किनभने व्यवहार गर्न नजानेर । अहंकार बोकेर । अरुको मानमर्दन गरेर । अनि अरुलाई दास सरह व्यवहार गरेर’, उनले भने ।

कमेन्ट गर्नुहोस्