लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउनुपर्नेमा सांसदको जोड

IMG

तिलोत्तमा सिटी २०८० फागुन २९ गते । सांसदहरूले सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिबन्ध लगाउनुपर्ने माग राख्नुभएको छ । मङ्गलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरूले यस्तो माग राख्नुभएको हो । उहाँहरूले सुर्तीजन्य उद्योगहरूको उत्पादनको लागिमात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायत कालमा सञ्चालन भएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँहरूले उद्योगको पुँजी वृद्धि तथा क्षमता अभिवृद्धिको अनुमति दिइसकेपछि सो विषयमा छलफल गर्नुको औचित्य नरहेको औँल्याउनुभयो । उहाँहरूले स्वास्थ्यमा जनतालाई असर गर्नेकुरामा राजश्वका दृष्टिकोणले मात्रै हेर्नु नहुने जिकिर गर्नुभयो ।


पैसा कमाउने उद्देश्य मात्रै राज्यले लिन नहुने भनाइ उहाँको छ । बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेस सांसद कान्तिका सेजुवालले सुर्तीजन्य गुट्काहरुको उद्योग सञ्चालनका लागि मात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायत कालमा सञ्चालनमा आएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सुर्तीजन्य उद्योगहरूको क्षमता अभिवृद्धि गर्ने नभई रोक्ने दिशामा अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।


यसैगरी, नेपाली कांग्रेसका अर्का सांसद रमा कोइराला पौड्यालले स्वास्थ्यमा जनतालाई प्रभाव पार्ने कुराले राजश्वका लागि सुर्तीजन्य पदार्थहरूको उत्पादनमा अभिवृद्धि गर्नेकुरा राम्रो नहुने बताउनुभयो । उहाँले राज्यले जनतालाई असर पर्ने कुरामा पैसा मात्रै कमाउने उद्देश्यबाट प्रेरित हुनु नहुने जिकिर गर्नुभयो । यस विषयमा राज्य व्यवस्था समिति र उद्योग समितिमा संयुक्त छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले पुँजी अभिवृद्धिको स्वीकृति दिइसकेपछि छलफल गर्नुको औचित्य नरहेको बताउनुभयो ।


यसैगरी, नेकपा (एमाले) का सांसद लालप्रसाद सावा लिम्बूले गुट्का उद्योगको पुँजी अभिवृद्धि तथा क्षमता अभिवृद्धि गर्ने अनुमति दिइसकेपछि छलफल गर्नुको औचित्य नरहने बताउनुभयो । अनुमति दिनुपूर्व नै छलफल हुनुपर्ने कुराको जवाफ सरकारले दिनुपर्ने भनाइ व्यक्त गर्नुभयो ।


उहाँले क्षमता अभिवृद्धि किन गरिएको हो ? भन्ने प्रश्न उठेको बताउनुभयो । उहाँले स्वास्थ्य सम्बन्धीको असरलाई हेरेर छलफल गहन रूपले हुनुपर्नेमा जोड दिनुभयो ।


त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) का सांसद रेखा यादवले उहाँले सरकारले युवाहरूलाई श्रम दिने कुरामा ध्यान दिने हो भने रुग्ण उद्योगहरूलाई सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले गुट्का, खैनी बाहेकका रुग्ण उद्योगमा थप लगानी गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो । उहाँले नेपालमा खैनी तथा सुर्तीजन्य सामग्री बेच्न नदिने भए उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बाहिर पठाउने योजना र कार्यक्रम अघि सार्नुपर्ने बताउनुभयो ।


बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले गुट्का उद्योगको पुँजी अभिवृद्धि तथा क्षमता अभिवृद्धि गर्ने अनुमति दिइसकेपछि समितिमा छलफल गर्नुको औचित्यमाथि प्रश्न उठेको बताउनुभयो । सरकारको कानुन मानेर खोलिएका उद्योगहरू सरकारले सञ्चालन गर्न दिनुपर्ने उहाँको भनाइ छ । उहाँले सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणका लागि र बिक्री वितरणका लागि तोकिएको नियमनका प्रक्रियाको कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले गुट्का, खैनी र सुर्तीजन्य पदार्थको बिक्री वितरण र उत्पादनसम्बन्धीको मापदण्ड निर्मम भएर लागू गर्ने हो भने धेरै कुरा नियन्त्रण हुने बताउनुभयो ।


नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले गुट्का, खैनी र सुर्तीजन्य उद्योगहरू कति छन् ? भन्नेबारेमा सरकारसँग यकिन तथ्याङ्क नरहेको बताउनुभयो । उहाँले भएका उद्योगहरू कसरी चलिरहेका छन्, उनीहरूले उत्पादन गरेका वस्तुहरूको गुणस्तरीयताको मापन कसरी भइरहेको छ ? भन्नै प्रश्न गर्नुभयो ।


उहाँले आवश्यकताको आधारमा उद्योग बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले उद्योग बन्द गर्दा त्यसले पार्ने असरमा पनि सरकारले ध्यान दिनुपर्ने जानकारी दिनुभयो । उहाँले नेपालमा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरू बन्द गर्दा बाहिरबाट हुने आयातको बारेमा पनि विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।


उहाँले सुर्तीजन्य पदार्थहरूको उत्पादन नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । समितिको बैठकमा अन्य सांसदहरूले चलिरहेका उद्योगहरूलाई अबबाट उत्पादन वृद्धि गर्न नदिने गरी सरकार अघि बढ्नुपर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्