लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा 'बाआमासँग नगर प्रमुख' कार्यक्रम

IMG

तिलोत्तमा सिटी २०८० फागुन २४ गते । ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार गर्न थालेपछि बुटवलका नागरिक खुसी भएका छन् । बुटवल उपमहानगरपालिकाले चिकित्सकसहितको टोलीसहित घरघरमा लगेन चेकजाँच गर्ने अभियान चलाएको छ । उपमहानगरपालिकाको ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रम अन्तर्गत कयौँ ज्येष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिइएको छ ।बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीय ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर सुरु भएको कार्यक्रममा वडा नं. १ मा ७३ जना र २ मा १ सय २९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । बुटवल ३ मा रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । घरमा सेवा पाउँदा ज्येष्ठ नागरिक निकै खुसी छन् ।  


वडा नम्बर ३ मा एक सय ७६ जनाको स्वास्थ्य परीक्षण गरिएको र तीमध्ये ४८ जनाको इसीजी र १ सय ४१ जनाको मधुमेह परीक्षण गरिएको छ । ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमले आफूलाई खुसी लागेको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।


"बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरू बनाएका छौँ, कार्यान्वयन गर्दै लगिरहेका छौँ", उहाँले भन्नुभयो, "चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवर्द्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेका छन् ।"


ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरूको स्वास्थ्य परीक्षण तथा उपचारमा विशेष चासो दिएको र आगामी वर्षमा समेत निरन्तरता दिइने उहाँको भनाइ छ । घरबाहिर निस्किन नसक्ने र अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज होस् भन्ने उद्देश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्‍याउन थालेको पाण्डेयको भनाइ छ ।


१९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, फिजिसियन डा. हरि पन्थी, विशेषज्ञ चिकित्सकहरू, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिहरू समेत निःशुल्क दिइएको छ ।


कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षण र उपचारका लागि आउने ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने परीक्षण र औषधीहरू निःशुल्क रूपमा उपलब्ध गराएको उहाँको भनाइ छ । उहाँका अनुसार अभियान सञ्चालन हुन बाँकी रहेका वडाहरूबाट समेत चासो व्यक्त गर्दै ज्येष्ठ नागरिकहरू अन्य वडामा सेवा लिनका लागि पुग्न थालेका छन् ।


स्वास्थ्य परीक्षण र उपचारका लागि आएका ज्येष्ठ नागरिकलाई आवश्यक औषधी समेत प्रदान गरिएको छ भने घरदैलोमै स्वास्थ्य सेवा पुगेपछि ज्येष्ठ नागरिकमा उत्साह थपिएको छ । उपमहानगरले दैनिक रूपमा बुटवलका १९ वटै वडाहरूमा स्वास्थ्य सेवा दिइरहेको हो । यो अभियानले मृत्यु दरमा कमी आउनेछ भने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरू गरी ५९१ जनाले प्रत्यक्ष सेवा लिनेछन्। त्यस्तै यसबाट २० हजार भन्दा बढी नागरिक लाभान्वित हुने नगर प्रवक्ता तथा वडा न १५ का अध्यक्ष शिव रानाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्