
तिलोत्तमा,२०८० फाल्गुण २ गते।लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले आफूहरुले राम्रो काम गर्न सके मात्र जनताबाट ‘रिन्यू’ हुन सक्ने बताएका छन् । उनले आफूहरु पाँच वर्षका लागि निर्वाचित भएको र राम्रो काम गर्न सके मात्र रिन्यू हुने बताए ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयमा बुधबार आयोजित सरस्वती पूजन, अक्षराम्भ एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।उनले जनप्रतिनिधि निमित्त भए पनि शिक्षकहरु सेवानिवृत्त नभएसम्म विद्यालयमा पढाइरहने भएकाले शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए ।उनले भने, ‘विद्यार्थीहरुलाई अध्यापनमार्फत ऐतिहासिक व्यक्ति बन्ने अवसर शिक्षकहरुले प्रदान गर्नुहुन्छ ।’लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले विद्यालयमा भौतिक पूर्वाधार आवश्यक रहेकोमा जोड दिए । उनले विगतमा भौतिक पूर्वाधारको अभावमा समेत पठनपाठन भएको बताए ।
उनले आफू जनताबाट मत प्राप्त गरी यहाँसम्म पुगेकोले जनताले आफूप्रति विश्वास राखेको बताए । आगामी दिनमा पनि विद्यालयको विकासका लागि प्रदेश सरकारबाट बजेट बिनियोजन गरिने उनको भनाइ छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले सामूदायिक विद्यालयमा पढेका विद्यार्थी विभिन्न ओहोदामा पुगेको बताए । उनले प्रदेश सरकारले शिक्षा क्षेत्रमा चासो राख्दै आगामी दिनमा पनि विद्यालयका लागि बजेट बिनियोजन गर्न आग्रह गरे ।विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डेले लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु.३५ लाख र विद्यालयबाट ४ लाख २७ हजार थप गरी ३९ लाख २७ हजारमा भवन निर्माण हुने बताए । उनले भवन निर्माण छिट्टै सम्पन्न गरिने बताए ।कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा समाजसेवी नारायण प्रसाद अग्रवाल, विद्यालयका पूर्व विद्यार्थी नवराज न्यौपाने, शिक्षक रामेश्वर सुवेदीलगायतले बोलेका थिए ।
कमेन्ट गर्नुहोस्