
तिलोत्तमा,२०८० फाल्गुण २ गते। सधै फेशनमा भन्ने थिमका साथ् एच.आई.भि. एड्सको न्यूनिकरणका लागि बुटवलमा ओपन म्युजिक लाइभ कन्सर्ट सम्पन्न भएको छ।अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा मंगलबार दिउसो ३ बजेदेखि बुटवलमा म्युजिक लाईभ कन्सर्ट गरिएको थियो । एड्स हेल्थ फाउण्डेसन (AHF ) को सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र आस्था समुहको आयोजनामा बुटवलको ट्राफिकचोकमा ओपन म्युजिक लाईभ कन्सर्ट गरिएको एड्स हेल्थ फाउण्डेसन (AHF ) का दिव्यराज जोशीले बताउनुभयो।
लाइभ कन्सर्टमा नेपाली गीत संगीतका ख्यातिप्राप्त गायक तथा संगीतकार काली प्रसाद बासकोटाले करिव १ दर्जन गीत मार्फत ट्राफिक चोकलाई झुमाएका थिए। चिसो मौसमलाई रंगिन र तातो बनाएका कालीले आफ्नो गीत प्रस्तुत गर्दा दर्शक झुमेका थिए। भ्यालेन्टाइनको मौका छोपी कालीले आफ्ना निर जैले रिसाउनी, अजम्बरी लाउला पिरती,माया रैछ र भर रैछ नि ,जीवन जात्रा हो लगायतका दर्जन गीत गाएका थिए। वान्स मोरको बर्षात भएको कालिको प्रस्तुतिले मंगलबार राती एकैछिन ट्राफिक चोक तात्यो।
कन्सर्टमा नेभारा फेशन डिजाइनिङ्ग इन्स्टिच्युटको फेशन-शो संगै कलाकारहरु निरज थापा, सगुन थापा, बिगेन गुरुङ, अस्टिन शाही, कुश्मिता पुन लगायत सत्यसाई कला केन्द्रको नृत्य प्रस्तुति, एचआईभी सम्बन्धी जनचेतनाका साथै नाटक, लोकल ब्याण्ड प्रस्तुति र स्थानिय कलाकारहरुको प्रस्तुति समेतदेखाइएको आस्था समुहका केशब पुन मगरले जानकारी दिनुभयो। कण्डमको विषयमा जनचेतना जगाउन मंगलबार ३ बजे देखि राती ९ बजेसम्म कन्सर्ट गरिएको थियो भने एचआईभि एड्स र कण्डम सम्बन्धि नाटक प्रदर्शन, कण्डम वितरण, एचआइभी टेस्ट र कण्डम सम्बन्धि विभिन्न खेलहरु समेत खेलाईएको एड्स हेल्थ फाउण्डेसनका राधेश्याम श्रेष्ठले बताउनुभयो।हिजो सम्पन्न म्युजिक लाईभ कन्सर्ट कार्यक्रमको होस्ट बुटवलका ख्याति प्राप्त आरजे सुमन श्रेष्ठले गरेका थिए।
कमेन्ट गर्नुहोस्