
तिलोत्तमा, माघ २० गते २०८०। न्यू इन्भाइरन्मन्ट अङ्ग्रेजी माविको तीसौँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह शनिबार विभिन्न कार्यक्रमका बीच सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यता एवम् ओमसतिया गाउँपलिकाका उपाध्यक्ष सुनिता थारुको विशिष्ट अतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलालवनले गर्नुभएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि तथा नगराप्रमुख रामकृष्ण खाँणले तिलोत्तमालाई शैक्षिक हबको रूपमा विकास गर्नुपर्ने, अभिभावक सचेत भई विद्यालयमा बारम्बार जानुपर्ने र सन्तानका बारेमा बुझ्नुपर्ने, अभिभावकले पढ्ने बानी र संस्कार बसाल्नुपर्ने, सबै सुरक्षा नगरपालिकाले लिने प्रतिबद्धता व्यक्त गर्दै शिक्षाका साथै विद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो।
विद्यार्थी जानवी थापाद्वारा स्वागत मन्तव्य राखिएको उक्त कार्यक्रममा प्रमुख अतिथिबाट सरस्वतीको तस्वीरमा पुष्प एवं अविर अर्पण गर्दै समुद्घाटन गरिएको थियो। विद्यालयमा नियमित रूपमा प्रकाशन हुने ज्ञानवाटिका पुस्तकको विमोचन प्रमुख अतिथिबाट गरिएको थियो भने विभिन्न बालगीतहरू ससाना नानीहरूबाट प्रस्तुत गरिएका थिए । विद्यालयको वार्षिक प्रतिवेदन प्राचार्य मधुप्रकाश ज्ञवालीबाट प्रस्तुत गरिएको थियो भने सम्पूर्ण महिला अभिभावकहरूको तर्फबाट अभिभावक सुनिता थारूले शुभकामना मन्त्वय प्रस्तुत गरिएको थियो। त्यसैगरी सम्पूर्ण पुरुषहरूको प्रतिनिधित्व गर्दै अभिभावकबाट शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा भजन, बालगीत , नृत्य, विद्यालय गीत एवं शुभकामना मन्तव्य प्रस्तुत गरिएका थिए।
सो कार्यक्रममा प्याब्सन तिलोत्तमाका अध्यक्ष केएन सागर ज्ञवाली, हिसान रूपन्देहीका अध्यक्ष दिनेश भुसाल, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।कार्यक्रममा प्रमुख अतिथि एवं अध्यक्षज्यूबाट पूर्व विद्यार्थीहरू, पूर्व शिक्षकहरू, पूर्व प्रबन्ध निर्देशक, पूर्व अध्यक्ष एवं कार्य सम्पादनको आधारमा वर्तमान शिक्षक, कर्मचारीहरूलाई सम्मान प्रदान गरिएको थियो। त्यसैगरी विद्यालयमा सेवारत शिक्षक कर्मचारीलाई सेवाको जेष्ठताको आधारमा सम्मान गरिएको थियो। विद्यालयमा स्थापना गरिएका विभिन्न शीर्षकका अक्षय कोषहरूबाट पूर्व प्राथमिक तहदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो। विभिन्न शुभकामना मन्तव्य एवं कक्षा ११ र १२ का विद्यार्थीहरूद्वारा प्रदर्शन गरिएका नृत्य एवं गितारमा प्रस्तुत गरिएका गीत र कराँते खेलाडीहरूबाट गरिएको डेमो प्रदर्शनसँगै शिक्षिकाहरूको नृत्य प्रस्तुत गरिएको थियो ।
शैक्षिक जगतमा न्यू इन्भाइरन्मन्टको छवि उच्च रहेको कुरा व्यक्त गर्दै विशिष्ट अतिथिको मञ्चबाट तिलोत्तमा न.पा.-०५ का वडा अध्यक्ष रमेश डुम्रे लगायत अतिथिद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो। प्रमुख एवं विशिष्ट अतिथिज्यूलाई मायाको चिनो वितरण गरिएको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन प्रबन्ध निर्देशक हरिप्रसाद न्यौपानेबाट गरिएको थियो । कक्षा १० मा अध्ययनरत छात्रा अनुष्का पन्थद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रमेश डुम्रे, हिसान रूपन्देहीका अध्यक्ष श्री दिनेश भुसाल, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन तिलोत्तमाका अध्यक्ष के.एन.सागर ज्ञवाली, पूर्व विद्यार्थी सन्तोष गिरी, पूर्व शिक्षक किरण नेपाल लगायत विभिन्न अतिथिहरुद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो। त्यस्तै विभिन्न संघसंस्था तथा विद्यालयका प्राचार्य, पूर्व प्राचार्यहरू, पूर्व शिक्षकहरू, पूर्व विद्यार्थीहरु, पूर्व प्रबन्ध निर्देशक एवं पूर्व विद्यार्थीहरू विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू, कर्मचारीहरू र अभिभावक गरी झन्डै एक हजारको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्