लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको मैनहियादेखि भारतसम्म १३२ केभी डबल सर्किट प्रशारण लाइन शुभारम्भ

tillotmacitynews - 2024 Jan 07 11:53 AM
IMG

तिलोत्तमा सिटी,२०८० पुष २२ गते । रुपन्देहीको मैनहियादेखि भारतको सम्पत्तियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको विहिबार औपारिक शभारम्भ गरिएको छ । नेपाल भ्रमणका रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रशारण लाइनको औपचारिक उद्घाटन गरेका छन् । प्रशारण लाइनको शुभारम्भसँगै अब अन्तरदेशीय विद्युत निर्यात तथा आयातको बाटो खुलेको छ । भारतको ठूलो राज्य उत्तर प्रदेशसँग पहिलो तथा छोटो १३२ केभीको लाइन रहेकोले यो लाइनबाट नेपालले अधिकतम विद्युत निर्यात गर्न सक्ने बताइएको छ । यो प्रसारण लाइनका लागि आवश्यक पर्ने सबस्टेसन रुपन्देहीको सियारी गाउँपालिकाको मैनहियामा निर्माण गरिएको छ । यहाँ निर्माण भएको सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यु नौतनवा) सबस्टेसन जोडेर प्रसारण लाइन बनाइएको हो ।


भारतसँग विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको यो प्रसारण लाइन तयार भएर सफल परीक्षण भएको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए । मुआब्जासहित ९३ करोड रुपियाँ लागतको यो आयोजनाबाट १८० देखि दुई सय मेगावाटसम्म विद्युत् खरिद–बिक्री गर्न सकिने उनले जानकारी दिए । २८ दशमलव ५ किलोमिटर लामो आयोजना मध्ये नेपालतर्फ २८ किलोमिटर प्रशारण लाइनमा २ सय केभीसम्म विद्युत भार क्षमता रहेको छ भने भारततर्फ सय केभी भार क्षेमता रहेको पाण्डेले बताए ।


प्रशारण लाइनका लागि ९६ वटा टावर निर्माण गरिएको छ । नेपालतर्फको लाइन ६ महिनाअघि नै चार्ज गरिएको थियो भने भारतसँग जोडेर पुस १७ गते चार्ज गरिएको थियो । करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकारको लगानी छ । मैनहिया सबस्टेसनबाट सुरु प्रसारण लाइन भारतसँगको सीमा बिन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण भएको छ ।


नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०७५ माघमा पोखरामा सम्पन्न छैटौँ बैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनवा–मैनहिया लाइन निर्माण गर्ने सहमति गरेको थियो ।  यसपछि २०७६ कात्तिकमा भारतको बैङ्लोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकले प्रसारण लाइनलाई न्यू–नौतनवा (सम्पत्तिया, भारत) सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो । यो आयोजनासँगै नारायणी पश्चिममा ३ वटा अन्तरदेशीय प्रशारण लाइन निर्माण भएको छ ।

कमेन्ट गर्नुहोस्