
तिलोत्तमा पुष १४। लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेशको प्रथम सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त)ले कार्यक्रम चल्दाचल्दै उभिएर विरोध जनाएका छन् । शनिबार भैरहवामा पार्टीको प्रदेश अधिवेशनमा वरिष्ठ उपाध्यक्ष अकबाल अहमद शाह बोल्दाबोल्दै मञ्चमा बसेका गुप्ताले एकाएक उभिएर आफूले लगाएको खादा मुखमा बाँधें ।लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया, नेताहरु सन्दिप त्रिपाठी, गणेश पाल लगायतले उनलाई बस्न आग्रह गरे पनि गुप्ता मानेन् ।
पार्टीमा लगानी गरेका कार्यकर्ताहरुको मूल्यांकन नभएको र तानाशाही प्रवृत्ति हावी भएको भन्दै उनी उभिरहे । गुप्ताले भने, ‘लोसपामा लोकतन्त्रको माग गर्दछु । उभिएर विरोध गर्नु अराजकता होइन । उनले जिम्मेवार पदमा बसेका व्यक्तिहरुले पार्टीमा सरसल्लाह नगरी एकलौटी ढंगबाट अघि बढेको बताए ।सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य गुप्ताले पार्टीलाई मजबुत बनाउनुपर्छ भनेर लागे पनि पार्टीमा तानाशाही प्रवृत्ति हावी भएको आरोप लगाए । उनले आफू २०६३ सालदेखि नै मधेशका लागि लडिरहेको भन्दै पार्टीले कारवाही गरे पनि आफू नडराउने बताए । प्रदेश सम्मेलन पनि एकलौटी रुपमा गरिएको उनको आरोप छ ।
लोकतन्त्रमा विरोध गर्न पाउनुपर्ने बताउँदै उनी नबसेपछि केहीबेर कार्यक्रममा तनाव उत्पन्न भएको थियो । त्यसपछि मञ्चमा प्रहरी र कार्यकर्ताहरु पुगेका थिए । त्यसै क्रममा गुप्ता र केही नेता–कार्यकर्ताबीच चर्काचर्की समेत भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लोसपाका केन्द्रिय वरिष्ठ सह–अध्यक्ष तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लले कार्यक्रम बिथोल्ने प्रयास भएको बताए । उनले कार्यक्रम बिथोल्न प्रयास गर्ने तत्वलाई सतर्कताका साथ सफल हुन नदिइएको बताए । उनले भने, ‘अराजकता तथा अनुशासनहिनताले लोकतन्त्रलाई कमजोर पार्छ ।’ यद्द्पी उनले कसैको नाम भने लिएनन् ।
कार्यक्रमको सञ्चालकको भूमिका निर्वाह गरेका लोसपाका केन्द्रीय सदस्य मोहम्मद इस्लाम खानले कार्यक्रममा उपस्थित सबै ३५ जना केन्द्रीय सदस्यलाई बोल्न दिन नसकिएको बताए । उनले भने, ‘सौभाग्यले पार्टीको प्रदेश सम्मेलन भैरहवामा आयोजना गर्न पाएका छौं, प्रशान्तजी भनेको एउटा युवा नेता हो । उहाँले किन यस्तो गर्नुभयो । थाहा भएन । मेरै अगाडि पार्टीका रुपन्देही जिल्ला अध्यक्षले उहाँलाई कार्यक्रमको निमन्त्रणा दिन फोन गर्नुभएको थियो ।’
कमेन्ट गर्नुहोस्