लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विमानस्थल सञ्चालन पार्टीको प्राथमिकतामा परेको छ : जनमुक्ति पार्टी

IMG

तिलोत्तमा,पुष १० गते।राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर्न भइरहेको लडाईमा सँगै रहेको जनाएको छ। राजनीतिक दललाई विमानस्थल नियमित सञ्चालन हुनुपर्ने स्वतः चासोको विषय भएको पार्टीले बताएको छ।भैरहवामा सिद्धार्थ सञ्जाल, रुपन्देही र जनमुक्ति पार्टीका नेताहरुबीच भएको छलफलमा बोल्दै पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा (सूर्यवंशी) ले यो लडाईमा जोड्ने पार्टीको सोचअनुसार नै अघि बढ्ने बताए । उनले भने, ‘यो लडाई भनेको यो मेरो निर्वाचन क्षेत्र पर्छ वा पर्दैन, मैले चुनाव जित्छु कि जित्दैन भन्नेसँग सरोकार हुँदैन।’ उनले विमानस्थल जतिसक्दो छिटो सुचारु गराउनका लागि योगदान दिन पार्टी अघि बढ्ने र विमानस्थल सञ्चालन पार्टीको प्राथमिकतामा परेको बताए ।


उनले भने, ‘राष्ट्रिय जनमुक्ति पार्टीको सिंगो शक्ति यहाँहरुको साथमा छ ।’ आफ्नो तहबाट पहल र बहस गर्ने उनको भनाइ छ । कार्यकारी अध्यक्ष सूर्यवंशीले पार्टीले संघीयता र स्वायत्तताका लागि लड्दै आएको बताए ।पार्टीका संघीय परिषद सचिव मोजीब अलीले निर्माण भइसकेको विमानस्थल सरकारले किन सञ्चालन गर्न सकेन भन्दै प्रश्न गरे । उनले विमानस्थल सञ्चालनका लागि हुने आन्दोलनमा पार्टीको सहयोग रहने बताए ।सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले ४३ अर्ब बढीको सरकारको लगानी भएको विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निजी क्षेत्रमा मारमा भएको बताए । उनले भने, ‘विमानस्थल सञ्चालन हुने भनेर निजी क्षेत्रले ५० अर्ब बढी लगानी भएको छ । विमानस्थल सञ्चालनमा नआउँदा निजी क्षेत्रको लगानी डुब्ने हो कि भन्ने चिन्तामा छ ।’


उनले आन्दोलन सुरु गर्नु अघि छलफल, अन्तरक्रिया तथा प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाइसकेको जानकारी दिए । ‘आन्दोलन सुरु गरेपछि स्थगित गर्न सरकारी पक्षबाट आग्रह गरियो, तर माग सुनुवाइतर्फ सरकारको ध्यान जान सकेन, ’ उनले भने ।सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल सञ्चालनका लागि पर्यटनमन्त्री नै सकारात्मक नभएको जस्तो लागेको बताए । उनले विमानस्थल जनताको भविष्यसँग जोडिएको बताए । उनले विमानस्थल सञ्चालन हुँदैछ, लगानी गर्नुस् भनेर सरकारले नै निजी क्षेत्रलाई भनेको बताए ।सञ्जालका महासचिव संजय बजिमयले सञ्जालले आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताए । सञ्जालका सदस्य किशोर जोशीले विमानस्थल सञ्चालनमा आउनैपर्ने बताए । सञ्जालका प्रमुख सल्लाहकार दर्पण श्रेष्ठले केही व्यक्तिको सिण्डिकेटका कारण विमानस्थल सञ्चालन हुन नदिइएको हो कि भन्ने आशंका उब्जिएको बताए ।


छलफल कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा (सूर्यवंशी), महासचिव टोप अस्लामी, सचिव मोजीब अली, सचिवालय सदस्य रामबहादुर अस्लामी मगर, लुम्बिनी प्रदेश महिला मोर्चा अध्यक्ष धनिश्वरा दर्लामी, केन्द्रीय सदस्य टिपु सुल्तान, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवाली, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, महासचिव संजय बजिमय, कोषाध्यक्ष सतिस कुमार कौसल (दीपक), सचिव सचिन रोक्का, सदस्य रामप्रसाद पोखरेल, राममिलन यादव, किशोर जोशी, प्रमुख सल्लाहकार दर्पण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।विमानस्थल नियमित सञ्चालनको माग गर्दै मंसिर २२ देखि सिद्धार्थ सञ्जालले आन्दोलन सुरु गरेको थियो ।

                                                       

कमेन्ट गर्नुहोस्