
हामी सबैलाई थाहा भएको कुरा हो।थर भनेको कुनैपनी एउटा परिवारलाई चिन्ने आधार हो।यो पुस्तादर पुस्ता अर्को नयाँ पिँढीमा सर्दैजाने,नटुङ्गिने लहरो हो।पितृसत्तात्मक प्रणालीमा पुरुषले धारण गरेको थर आफ्ना सन्तानहरुमा नमेटिनेगरि सर्दै जाने गर्दछ।कोरियामा कोरियाका मानिसहरुको थर र वर्ण व्यवस्था कसरी रहन गयो भन्ने बारेको रोचक कुरा आजको यस शृङ्खलामा जान्ने छौं।
आदिकालीन ईतिहास कोट्याएर हेर्दा आजभन्दा सात लाख वर्ष पहिला मानिस डुलेर जीवन बिताएको थियो।वर्ण,जात,थर,धर्म,भन्ने केही थिएन।दिनभरी शिकार गर्दथे।पेट पाल्दथे।त्योबाहेक अरु केही हुँदनथ्यो। गुफामा बसेर सामुहिक जिवन बिताएका थिए।भेदभाव नभएको स्वतन्त्र समाज थियो भनेर जान्न सकिन्छ।आजभन्दा दस हजार वर्ष अगाडिदेखिभने मौसममा परिवर्तन आयो।न्यानो मौसमसंगै चार ऋतुले जन्म लियो।त्यसपछि मानिस एकैठाउँमा रहेर बसोबास गर्न सुरुवात गर्यो।खोला,नदि अथवा पानीको श्रोत भएको ठाउँ नजिकै पाती खर,घाँस,सेउलोले बारेर घर बनाएर बस्न थाल्यो।छोराछोरीले मातापिता,दाजुभाइ,दिदिबहिनी पहिचान गर्न थाले।परिवार
भन्ने शब्द जन्म लियो।परिवारको पहिचान भएपछि एउटै रगतको नातामा वैवाहिक सम्बन्ध हुन नहुने चेतना पनि त्यही कालदेखी सुरुवात भएको मानिन्छ।अर्कोतर्फ घरपालुवा जनावर पाल्न थाले।खेतीपातीको रुपमा कोदो,जुनेलोमकै,अन्य गेडागुडीको उब्जनी हुन थाल्यो।त्यो कालखण्ड पनि भेदभाव रहित स्वतन्त्र झुन्डको युग थियो भनेर जान्न सकिन्छ।
धान बालीले जन्माएको पुरुषप्रधान प्रणाली र भेदभावको समाज
इसापुर्व पैंतीस सय वर्ष पहिलादेखि धान खेतिको जन्म भयो।मानिसले धानको पहिचान गरेपछी यसलाई उत्पादन गर्नतिर जोड दिन थाल्यो।खेतीपातीको काम गर्न पुरुष जान थाल्यो।स्त्रीले घर तथा बालबच्चाको रेखदेख गर्न थाले।बाहु बलियो वाला पुरुष कहलायो।अर्कोतर्फ धान उत्पादन नगर्ने अल्छि समूहले खेतीपाती गर्ने मानिसको भकारिमा राखेको धान चोरी गर्न थाले।युद्धले जन्म लियो।युद्धमा पनि पाखुरा बलियो भएको पुरुष नै अगाडि सर्यो।युद्धमा हारेको मानिस तल्लो स्तरमा गनियो।उँचनिच शब्दले जन्म लियो।जितेको मानिस मुखिया बनेर उच्च स्थानमा गएर बसोबास गर्न थाल्यो।हारेको अल्छी मानिस बिजेताको शरणमा पर्न गयो।यसरी पुरुषप्रधानले जन्म लियोभने युद्धमा विजेताको राज हुन थाल्यो।जात,वर्ण भने अस्तित्वमा थिएन भनेर जान्न सकिन्छ।
कोरियामा राजामहाराजाको जन्मसँगै वर्ण व्यवस्थाको सुरुवात
इसाको पहिलो शताब्दीमा कोरियामा दर्जनौं जनपदले जन्म लिए।ठाउँ ठाउँमा टुक्रे राज्यहरु स्थापना भए।राजा महाराजाहरुको राज्य बन्न थाल्यो।सातौं शताब्दीमा आएर सिल्ला भन्ने राज्यले सबै टुक्रे राज्यहरुलाई एकीकरण गरि एउटा सिङ्गो राज्यको स्थापना गर्यो।सबै टुक्रे राज्यलाई एउटै राज्यमा मिलाउँदा टुक्रे राज्यका राजाहरुको अस्तित्व गुम्यो।अनि सबै राजाहरुले आफ्नो पहिचान फर्काउन द्वन्द गर्न थाले।तर एकीकृत राज्यका राजाले यसलाई दबाउन वर्ण व्यवस्था लागू गरेर उनिहरुको दर्जालाई तल पारिदिए।आफ्नो वंशज सदैव राजपरिवार हुनेगरि बाँकी टुक्रे राज्यका पराजित राजाहरुलाई एक देखि छ दर्जासम्मको स्थान बनाएर राखिदिए।कर्मचारीहरुलाई तेस्रो दर्जामा राखे भने प्रजालाई चौंथो दर्जामा राखेर भेदभावपूर्ण वर्ण समाजको जन्म गराए।
चिनको संस्कृतिबाट प्रभावित कोरियामा राजाहरुबाट थरको सुरुवात
आठौं शताब्दीमा कोरियाले चिनसँग पुर्णरुपमा व्यापार बिस्तार गर्यो।सन्सारको इतिहासमा थर लेख्न सुरुवात गरेको पहिलो देश चीन मानिन्छ।चिनको राजाहरुले नामसँगै थर पनि लेखेको हुनाले कोरियाका राजाहरु पनि प्रभावित भए।अनि चिनको राजाहरुको थर तानेर आफुहरु राजाहरुले मात्र नामको अगाडि थर लेख्न थाले।बिस्तारै भाईभारदार तथा सारा कर्मचारीले पनि थर लेख्न सुरुवात गरे।कसैले आफ्नो पदलाई थर बनाए,कसैले आफ्नो नामको अगाडिको शब्दलाई थर बनाए त कसैले आफ्ना पुर्खाहरुको नामलाई नै थर बनाएर परिचित हुन थाले।यसरी कोरियामा थरको सुरुवात त भयो तर सर्वसाधारणले थर लेख्न भने पाएनन।प्रजालाई थर लेख्नबाट ओझेलमा पारियो।उन्नाइसौं शताब्दीको अन्त्य सम्म चालीस प्रतिशतले मात्र थर लिएका थिए।बाँकी थर बिहिन रहेको जान्न सकिन्छ।
उन्नाइसौं शताब्दीको अन्त्यदेखि वर्ण,जात व्यवस्था तथा दासप्रथाको अन्त्य,नयाँ युगको सुरुवात
कोरियामा उन्नाइसौं शताब्दीसम्म वर्ण व्यवस्था चरम सिमामा थियो।सन १८९४ मा कोरियामा ठुलो कृषक आन्दोलन भयो।निरंकुश राजसंस्था तथा वर्ण,जातिय भेदभाव बिरुद्ध भीषण आन्दोलन भयो।आन्दोलनमा तत्कालीन राजा कमजोर हुन पुगे।राजाले जनताहरुको आन्दोलनलाई सम्बोधन गर्न वाध्य भए।अन्ततोगत्वा वर्ण तथा जात व्यवस्था साथै दासप्रथा सदाको लागि पतन भएर गयो।यहाँनेर जान्नै पर्ने कुरा के छ भने,सन १८९४ मा जात व्यवस्था पतन हुँदा कोरियाको तथाकथित दलित वर्गले "दलित" शब्द नै प्रयोग गर्न नपाइने गरि सदाको लागि हटाएर कथित उच्च वर्गसँग विवेकी मानिस बन्ने प्रण गरेका थिए।तत्पश्चात यो कोरियामा "दलित"शब्द नै अहिले प्रयोगमा छैन।सबै मानिस बराबर बन्न सफल भएका छन।
बिसौं शताब्दीदेखि सारा कोरियाली जनताले थर ग्रहण
सन १९०९ सालमा कोरियामा जनताको लागि भनेर अंतरिम संविधान लागू गरियो।सो संविधानबाट कोरियाली सारा जनताले थर राख्न पाउने कानुन बन्यो।अनि सारा जनताहरुले नजिकको वडा कार्यलय गएर आफ्नो नामको अगाडि थर राख्न थाले।अर्को रोचक कुरा त के छ भने मानिसहरुले थर लिँदा कोरियामा शासन गरेका प्रतिष्ठित राजवंशको थर राखेर आफ्नो थर दर्ता गराए। जसमा किम,ई,फाक,जस्ता राजवंशको थर राखेर आफ्नो थर सुरक्षित गरे।जसमा अहिले कोरियाको जनसंख्याको चौसट्ठी (६४)प्रतिशत इनै तीन राजवंशको थरले कब्जा गरेको कुरा जान्न सकिन्छ।सन १९८५ सालमा कोरियामा २७५ थर दर्ता भएका थिए।इनै थर कोरियाको वास्तविक कोरियालिको थर भनेर प्रमाणित भएको छ।यसरी कोरियामा आफ्नो आफ्नो वंशावली लेख्ने दिनको सुरुवात भयो।
हाम्रो प्यारो देश नेपालमा
हामी नेपाली त्यो देशका नागरिक हौँ,जहाँ फरकफरक जाती,समुदाय मिलेर बसेको एउटै परिवार जस्तै समाज छ।१२४ भाषी १४२ जातीले एउटा अखण्ड नेपालको निर्माण गरेको छ।एकाअर्कालाई सम्मान,प्रेम गर्ने परिपाटीले राष्ट्र डगमगाउन पाएको छैन।यसैमा हामी निर्धक्क छौं।खुसी छौं।सदैब एकता बनिरहनेमा पनि विश्वस्त छौं।हार्दिक धन्यवाद।हामी सबैको कल्याण होस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि विदेशीन नपरोस।
कमेन्ट गर्नुहोस्