लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आगो र सिंहदरबार

IMG

ठेलामा आज किन आगो निभ्यो होला ?

थाहा छैन

सलाई नपाएर हो,

या त व्यापार चौपट भएर,

अथवा सलाई बाल्ने शक्ति नै नभएर पो हो कि?


यसको कारण कसलाई सोध्नुपर्ने हो?

इतिहासलाई या त भविष्यलाई?

म अझै अनभिज्ञ छु

किनकि

आज मेरा पेटका देवताहरू धेरै रिसाएका छन् ।


उनीहरू बोल्दैनन् मसँग

तर पनि

म उनीहरू रिसाएको थाहा पाइहाल्छु

किनकि आज मेरो चुलोको मुख

ग्राहकतिर हैन

कवाडीको चुचुरोतिर चुलिएको छ।


युद्ध

सलाईको काँटी र बट्टाबीच हुनुपर्ने हो

या त ठेला र पेटको दूरीबीच

थाहा छैन

किनकि

मैले कहिल्यै सलाईको काँटी र बट्टाको युद्ध देखेको छैन।



बारले झार खाएपछि,

बारलाई पन्छाएको देखेको छु,

सिंहदरबारले झारलाई किचेको देखेको छु,

झारले सिंहदरबार घेरेको देखेको छु ।

सिंहदरबारका निर्णयहरूमा औँलाहरूले केरेको देखेको छु

र त्यसलाई मैले हस्ताक्षर पनि भन्ने गरेको छु

निकृष्ट निर्णयहरूमा उत्कृष्ट हस्ताक्षरहरू देखेको छु

उत्कृष्ट निर्णयहरूमा जीर्ण हस्ताक्षरहरू पनि देखेको छु

हस्ताक्षर गर्नकै लागि सिंहासनमा पुग्नेहरूको दौड देखेको छु

तर महोदय,

सिंहदरबारमा लागेको आगोमा,

कसैले मकै पोलेको कहिल्यै देखेको छैन।


-श्याम गैरे

कमेन्ट गर्नुहोस्