
भदौ १२, २०८० तिलोत्तमा। विश्वमै पहिलो पटक अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा जीवित किरा भेटिएको छ । अस्ट्रेलियाको क्यानबेरामा गरिएको एक शल्यक्रियामा एक महिलाको मस्तिष्कमा आठ सेन्टिमिटर लामो किरा भेटिएको डाक्टरहरूले बताएका छन् । यस्तो घटना विश्वमै पहिलो पटक भएको वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको भागमा क्षतिग्रस्त तन्तुबाट ‘तार जस्तो’ वस्तु निकालिएको थियो । यो रातो रङको किरा महिलाको मस्तिष्कमा झन्डै दुई महिनादेखि बसेको अनुमान छ । जनावरबाट मानिसमा रोग र सङ्क्रमण फैलाउने जोखिम बढिरहेको प्रमाणका रूपमा यो घटना आएको डाक्टरहरूले बताएका छन् ।क्यानबेरा अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डाक्टर सञ्जय सेनयेकले महिलाको मस्तिष्कमा जीवित किरा भेटिएपछि अपरेशन थिएटरमा रहेका सबै जना स्तब्ध भएको बताउनुभएको छ । ‘यो पूर्णतया नयाँ प्रकारको सङ्क्रमण हो जुन आजभन्दा पहिले कुनै पनि मानिसमा भेटिएको थिएन’, उहाँले भन्नुभयो ।
अस्ट्रेलियामा पाइने कार्पेट पाइथन नामक सर्पमा यस्ता किराहरू पाइने डाक्टरहरू बताउँछन् । ताल छेउमा बस्ने महिलाले अजिङ्गरको मल र परजीवीको अण्डाबाट दूषित सागसब्जी खाएको हुन सक्ने डाक्टरहरूको अनुमान छ ।
कमेन्ट गर्नुहोस्