
तिलोत्तमा सिटी । साउन २५ गते । सरकारले भुक्तानी नदिएपछि तानसेनको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । लामो समयदेखि बीमितको उपचार गरेको रकम भुक्तानी नपाएको भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको जनाएको छ । मिसन अस्पतालले यसअघि नै सूूचना जारी गर्दै साउन २१ गतेदेखि बिमा उपचार सेवा बन्द गर्ने जानकारी गराएको थियो । स्वास्थ्य बिमा बोर्डले सम्झौता अनुरूप काम नगरेको र समयमै भुक्तानी नदिएकाले सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बोर्डले अस्पताललाई करिब १४ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ ।
अस्पतालले सेवा स्थगित गरेपछि सेवा लिन आउने हजारौं बिमितहरु अहिले सेवाबाट बञ्चित भएका छन । स्वास्थ्य बीमा बोर्डले हालसम्म पनि नियमित तथा समयमै भुक्तानी नदिएको, विना कारण दाविहरू अस्विकृत गर्ने गरेको, बोर्डको दररेट अस्पतालको दररेट भन्दा धेरै कम हुँदा अस्पताल सञ्चालनमा समस्या आएको लगायतका कारण बिमा उपचार सेवा स्थगित गर्नुपरेको अस्पतालका निर्देशक डा. रचेल कारखले बताउनुभयो । रचेलका अनुसार हालसम्मको बक्यौता रकमको भुक्तानीको साथै समय अनुसारको औषधि उपचारको मूल्य संमायोजन नहुँदासम्मका लागि बिमा उपचार सेवा स्थगित गरिएको हो । साउन २१ गतेसम्म करिब १४ करोड रकम अझै बाँकी रहेको अस्पतालका प्रशासकिय अधिकृत जीवन भट्टराईले जानकारी दिनुभयो । उता मिसन अस्पतालले नियम संगत रकम दाबी नगर्दा भुक्तानीमा ढिलाई भएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले अस्पतालले नियमसंगत र सम्झौता विपरीत भुक्तानी दाबी गरेपछि केही ढिला भएको बताउनुभयो ।
कमेन्ट गर्नुहोस्