
प्रकाश पाण्डे । साउन २१ गते । तिलोत्तमा नगरपालिकाले गाई बस्तुमा देखिएको ’लम्पी स्किन रोग’ बिरुद्धको खोप लगाउन सुरु गरेको छ । लम्पी स्किन रोगका कारण गाई बस्तु मर्ने र रोगको संक्रमण बढ्दै जाने क्रमलाई नियन्त्रण गर्न आजबाट खोप अभियान शुरु गरेको नगरपालिकाकाले जनाएको छ । नगरपालिकाले आज बिहान तिलोत्तमा २ स्थित जागृति क्लबको भवनमा आयोजित एक कार्यक्रमका बीच केही गाईहरुमा भ्यक्सिन लगाएर कार्यक्रमको सुरुवात गरेको हो । आजबाट शुरु भएको खोप अभियान नगरका १७ वटै वडामा एक साथ संचालन गरिने नगरको पशु शाखामा कार्यरत प्राबिधिक राजु कुँवरले जानकारी दिनुभयो । आज बिहान रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भका लागी कुराकानी गर्दै कुँवरले दक्ष पशु प्राबिधीकहरुको सहयोगमा संचालित पहिलो चरणको खोप अभियानमा नगरभित्रका सम्पूर्ण गाई बस्तुलाई करिब ५००० को हाराहारीमा खोप लगाइने छ । साथै अपुग भएको खण्डमा पुनः खरीद गरी गाईबस्तुमा खोप लगाउने कार्यलाई निरन्तरता दिइने कुँवरको भनाई छ ।
नगरपालिकाको पशु शाखाको तथ्यांक अनुसार तिलोत्तमामा करिब ५२ सयको हाराहारीमा गाईहरु रहेको र हाल संक्रमित गाईबस्तुको संख्या करिब १२ सयको संख्यामा रहेको कुवँरले बताउनुभयो । ’लम्पी स्किन रोग’ बाट तिलोत्तमामा ८४ वटा गाईवस्तु मरेका छन् । पहिलो चरणमा गाईबस्तुमा मात्र लगाइने गरि खोप अभियान संचालन गरिएको र दोस्रो चरणमा आवश्यकता अनुसार भैसीहरुमा समेत खोप लगाउने बिषयमा छलफल चलिरहेको नगरपालिकाले जनाएको छ । तिलोत्तामामा गाईबस्तुमा ’लम्पी स्किन रोग’ को संक्रमण देखिए पनि भैसीहरुमा भने यो रोगको संक्रमण नदेखिएको नगरपालिकाको पशु शाखाले जनाएको छ।
कमेन्ट गर्नुहोस्