
तिलोत्तमा असार ३० गते २०८०। तल्लो सिद्धबाबाका नामले परिचित बुटवल उपमहानगर–३ मा अवस्थित मन्दिरमा भएको ब्रम्हलुट सार्वजनिक रुपमा छताछुल्ल भएको छ । दाताहरुबाट संकिलत आधा रकम संकलन गर्ने व्यक्तिलेनै झ्वाम पार्ने गरेको तथ्यसहित सामाजिक सञ्चालहरुमा कृते रसिदहरु सार्वजनिक भएपछि आलोचना भएको छ ।मन्दिरमा सेवा लिएबापत भक्तहरुले बुझाएको रकमको रसिदको अर्धकट्टीमा आधा रकम घटाएर मात्र मन्दिरमा दाखिला हुने गरेको प्रमाण सार्वजनिक भएको हो । यो घटना थाहा पाएको मन्दिर ब्यवस्थापन समितिले गुपचुप लाग्न खोजेपनि सामाजिक सञ्जालहरुमा रसिदसहितको तस्विर सार्वजनिक भएपछि ब्रम्हलुटको घटना छताछुल्ल भएको हो ।
चरम विवादका कारण म्याद सकिएर पनि नयाँ ब्यवस्थापन समिति चयन हुन नसकेको यस मन्दिरमा आर्थिक चलखेलकै कारण नेतृत्व लिन लुछाचुडी हुने गरेको आरोपलाई बल पुगेको छ । लामो समयबाट अध्यक्ष चलाउँदै आएका कृष्ण प्रसाद तिमिल्सेनाकै मिलोमतोमा वर्षौदेखि दान रकममा हिनामिना हुने गरेको सञ्जालकर्ताहरुले आरोप लगाएका छन् । भेटिएको नगदी रसिदमा दानकर्तालाई दिइएको रसिदको रकम भन्दा आधा घटाएर अर्धकट्टीमा लेखिएको पाइएको हो ।काम चलाउ अध्यक्ष तिमिल्सेनाले आफूलाई फसाउन र बदनाम गर्नका लागि २/३ महिना अघिको घटनालाई पुनः चर्चामा ल्याइएको दाबी गरे । गत मंसिरमा मन्दिर व्यवस्थापन समितिको अधिवेशन भएपनि नयाँ नेतृत्वमा सहमती जुट्न नसक्दा लामोसमय नेतृत्वविहिन बनेको मन्दिरमा गत फागुनदेखि आफूले काम चलाउन अध्यक्षको जिम्मेवारी पाएको तिमिल्सेना बताउँछन् । नयाँ निर्वाचन हुने अवस्था नदेखिएपछि यही हो मौका भनेर अध्यक्षको मिलेमतोमा कर्मचारीले गलत हर्कत गर्ने गरेको मन्दिरमा पुजा गर्न आएका एक भक्तजनले बताए ।
विगत २५ वर्षदेखि मन्दिर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका पूर्व अध्यक्ष लवकुश श्रेष्ठले घटनाले आफूलाई समेत लज्जित बनाएको गुनासो गरे । आफूले लामो समयदेखि योगदान गर्दै आएको मन्दिरमा भएको घिनलाग्दो गतिविधिले आफूलाई समेत लज्जित बनाएको उनले बताए । आफ्नो कार्यकाल सकिएपछि विगत ४ वर्षदेखि मन्दिर व्यवस्थापनका बारेमा आफूलाई जानकारी नभएपनि मन्दिर भित्र हुने अनियमित गतिविधिले आफूलाई दुःखी बनाएको उल्लेख गरे ।मन्दिरमा भेटिएको अनियमितता विरुद्ध अख्तियारमा समेत उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढेका कारण घटनालाई अन्य माध्यमबाट सार्वजनिक गर्न आवश्यक नठानिएको कामचलाउन अध्यक्ष तिमेल्सेना बताउँछन् । अख्तियारमा उजुरी गएपछि मात्रै आफूले घटना बारे जानकारी भएको बताउँदै उनले मन्दिरमा रसिद कृते गर्ने कर्मचारी तारानाथ उपाध्याय र पुजारी भुवन ज्ञवालीलाई १ महिनाअघि नै निलम्बन गरिएको उनले बताए । कर्मचारी उपाध्याय र पुजारीका छोरा विकास ज्ञवालीले गलत काम गरेको भन्दै उनीहरुलाई निलम्बन गरिएको उनले बताए ।
उनका अनुसार मन्दिरमा मासिक १२/१३ लाख आम्दानी हुने गर्दछ । राजनीतिक प्रतिशोध साध्नका लागि आफूलाई गलत देखाउन घटना सार्वजनिक गरिएको उनले गुनासो गरे ।
कमेन्ट गर्नुहोस्